कर्णालीमा ‘सुरक्षित यात्रा’ अभियान

सुर्खेत: कर्णाली प्रदेश प्रहरी कार्यालयले सुरक्षित यात्रा अभियान थालेको छ । मातहतका दश जिल्लामा सवारी दुर्घटना न्यूनिकरणका लागि उक्त अभियान थालिएको हो ।

सुरक्षित यात्राका लागि नेपाल प्रहरी, ट्राफिक प्रहरीले चेक पोष्टहरूमा कम्तिमा ५ मिनेटभित्र सचेतना दिने, सवारी साधन अवस्था चेकजाँच गर्ने, प्रहरीप्रति जनताको अपेक्षा तथा सुझावको बारेमा जानकारी लिने, गुनासो सुन्ने, सवारी चालकसँगै यात्रुहरूलाई सुरक्षित यात्राका लागि ट्राफिक नियम, सुरक्षा सावधानी सिकाउने लगायतका कुराहरू जानकारी गराउने गर्दछन् ।

कर्णाली प्रदेशभर दुर्घटनाको दर बढ्दै गएपछि सवारी दुर्घटना न्यूनिकरणका लागि सुरक्षा सचेतना कार्यक्रम गरेको जनाइएको छ । प्रदेशभर सुरक्षित यात्रा कार्यक्रम लागू गरिएको र जसमा प्रहरीले यात्रु र चालकलाई गाडीमै सुरक्षा सचेतना दिने गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले बताए ।

अभियानको सुरुवात गर्दै कर्णाली प्रदेश गर्ने मुख्यद्वार बबईमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका एसएसपी तथा सूचना अधिकारी माधवप्रसाद श्रेष्ठ, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेशका प्रमुख (एसपी) प्रज्वल महर्जनले चालक तथा यात्रुसँग सामुहिक रूपमा सुरक्षित यात्राका बारेमा जनचेतना दिएका थिए ।

प्रकाशित मितिः   १९ माघ २०७९, बिहीबार ०५:०४