बालबालिकाको सुरक्षा
कर्णाली प्रदेशबाट बर्सेनि बालबालिका हराउँछन् । यसरी बर्सेनि बालबालिका हराउने गरेपनि यसको कारण खोज्ने र समाधान गर्नेतर्फ कसैले पनि विशेष ध्यान दिएको भने देखिदैन । प्रहरीले केही रूपमा खोजी गर्ने गरेपनि गम्भिरतापूर्वक यो समस्या समाधानमा कसैको चासो पुगेको छैन । प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो साढे तीन वर्षको अवधिमा कर्णालीका एक हजार दुई सय २५ जना बालबालिका हराएका छन् । त्यसमध्ये एक हजार १६ जना बालबालिका भेटिएका छन् भने दुई सय नौ जना फेला नपरेको प्रहरीले जनाएको छ । हराउनेमा बालकभन्दा बालिकाको संख्या बढी छ । यस अवधिमा ६ सय ६७ जना बालिका र पाँच सय ५८ बालक हराएको प्रहरीले जनाएको छ । प्रहरीमा जानकारी गराएपछि खोजी गर्दा केही बालबालिका भेटिने गरेका छन् भने कतिपय बालबालिका लामो समयसम्म पनि नभेटिने गरेको पाइएको छ ।
कर्णालीमा आर्थिक वर्ष २०७६÷०७७ मा तीन सय २८ जना बालबालिका हराएका थिए । उक्त आर्थिक वर्षमा हराएका १५ जना बालिका र ११ जना बालक फेला परेका छैनन् । पछिल्लो आर्थिक वर्ष २०७७/०७८ मा तीन सय ७४ जना बालबालिका हराएका थिए । एक सय ३८ बालक र एक सय ७६ बालिका हराएकोमा एक सय २५ बालक र एक सय ३५ बालिका फेला परेका छन् । ३० जना बालिका र १३ जना बालक अझै भेटिएका छैनन् । त्यस्तै, २०७८/०७९ मा चार सय ११ जना बालबालिका हराएको प्रहरीको तथ्यांक छ । चालु आर्थिक वर्ष २०७९÷८० को हालसम्म एक सय १२ जना बालबालिका हराएका छन् । त्यसमध्ये ४२ जना बालक र ७० जना बालिका भेटिएका छन् । ३१ बालक र ४६ बालिका नभेटिएको र उनीहरूको खोजी कार्य जारी रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । नभेटिएकामा ११ बालक र २४ बालिका छन् । केही घटनालाई हेर्दा आर्थिक प्रलोभन, अशिक्षा, गरिबी र कतिपय विवाह गरेर पनि परिवारबाट सम्पर्कविहीन हुने गरेको पाइएको छ । कतिपय बालबालिकालाई विभिन्न प्रलोभनमा पारेर भारत लैजाने गिरोहसमेत सक्रिय रहेको प्रहरी बताउँछ ।
बालबालिकाको सुरक्षा र संरक्षण साझा दायित्व हो । यसतर्फ सबै गम्भीर बन्नुपर्ने देखिन्छ । अभिभावकले पनि आफ्ना छोराछोरी के गर्छन्, उनीहरूको मनोविज्ञान बुझ्नुपर्ने र रेखदेखमा ख्याल गर्नुपर्ने हुन्छ । बालबालिका हराउनुमा आर्थिक अभाव, बेरोजगारी, साथीहरूको लहलहैमा लागेर, परिचित व्यक्तिसँग गोप्य रूपमा भेटघाट, घरासी झै–झगडा, अशिक्षा, मानसिक असन्तुलन, मनोवैज्ञानिक रूपमा कमजोर, भागेर बालविवाह गर्नु र जनचेतनाको कमिजस्ता कारण देखिने गरेको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः १८ माघ २०७९, बुधबार ०५:०३
सम्पादकीय ।