लुम्बिनीमा रहेका कर्णालीका प्रहरी संरचना सार्न पहल
सुर्खेत: कर्णाली प्रदेशमा हुनुपर्ने नेपाल प्रहरीका कतिपय संरचना अहिले पनि लुम्बिनी प्रदेशको बाँकेबाट सञ्चालित छन् । ती संरचना कर्णाली ल्याउन अहिले प्रदेश सरकारले प्राथमिकताका साथ पहल थालेको छ । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले लुम्बिनी प्रदेशको नेपालगञ्जबाट सञ्चालित प्रहरी कार्यालय कर्णालीमा ल्याउन पहलकदमी थालिएको जनाए । उनका अनुसार सकेसम्म चालु आर्थिक वर्षभित्रमा बाँकेमा रहेका सबै प्रहरी संरचना कर्णालीमा सार्ने लक्ष्य राखिएको छ । नेपालगञ्जमा रहेका ती निकायको अनुगमन तथा निरीक्षणका क्रममा उनले कर्णालीका नागरिकको शान्ति सुरक्षाका लागि प्रहरी संरचना सार्न पहल थालिएको बताएका हुन् । मन्त्री जिसीले सोमवार लुम्बिनी प्रदेशको नेपालगञ्जमा रहेका कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र तथा कुकुर शाखा, संघीय प्रहरी एकाइ, ड्रग शाखा, दङ्गा नियन्त्रण कार्यालय र विशेष सुरक्षा गणको अनुगमन गरेका थिए ।
सरकारले जनताको सुरक्षार्थ कर्णाली प्रदेशभरि विशेष सुरक्षा योजना बनाउन थालेको पनि मन्त्री जिसीले बताए । अनुगमनका क्रममा उनले प्रहरी अधिकारीहरूलाई संविधानको दायरामा रहेर कर्णालीका नागरिकले महशुस गर्ने गरी शान्ति सुरक्षा कायम गर्न निर्देशन दिए । अनुगमन टोलीमा कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल पनि सहभागी थिए । ढकालले सुरक्षित प्रदेश विशेष सुरक्षा योजना बनाउने र त्यही योजनामा रहेर प्रदेश बाहिर रहेका प्रहरीका निकाय कर्णालीमा ल्याइने जनाए । सुरक्षा अधिकारीका अनुसार कर्णालीमा रहनुपर्ने प्रहरी संरचना अहिले पनि लुम्बिनी प्रदेशबाट सञ्चालित हुँदा अपराध अनुसन्धानदेखि सुरक्षा व्यवस्थामा कठिनाइ भइरहेको छ ।
खासगरी कुकुर शाखा नेपालगञ्जमा हुँदा कर्णालीमा हुने अपराधको अनुसन्धानमा प्रहरीले तालिमप्राप्त कुकुर कोहलपुरबाट ल्याउनुपर्ने बाध्यता रहेको जनाइएको छ । संघीयताअघि बाँके पनि मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने भएकाले प्रहरीका कतिपय संरचना उत्तै राखिएका थिए । संघीयता कार्यान्वयनपछि प्रदेश नै अलग भइसक्दा पनि लामो समयसम्म कर्णालीमा राख्नुपर्ने प्रहरी निकायका संरचनाहरू बाँकेको नेपालगञ्जबाटै सञ्चालन हुँदै आएका छन् । सोही संरचनाहरू आफ्नै प्रदेशसमा ल्याउन कर्णाली सरकारले अहिले जोड दिएको छ ।
प्रकाशित मितिः १८ माघ २०७९, बुधबार ०५:०२
साझा बिसौनी ।