‘आत्महत्याको मुख्य कारण घरेलु हिंसा’

सुर्खेत: घरेलु हिंसा तथा कलहका कारण आत्महत्या बढी हुने गरेको पाइएको छ । मानिसहरूले आत्महत्या गर्नुको मुख्य कारण घरेलु कलह र हिंसा रहेको प्रहरीको अनुसन्धानले देखाएको हो । कर्णाली प्रदेशमा गत आर्थिक वर्ष २०७८/०७९ मा दुई सय ८८ जनाले आत्महत्या गरेका छन् । तीमध्ये ९८ जना अर्थात् ३४ प्रतिशतले घरेलु हिंसाका कारण आत्महत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांकबाट उक्त तथ्य देखिएको हो । प्रहरीका अनुसार महिलाहरूले घरेलु हिंसा सहन नसकेर आत्महत्याको बाटो रोज्ने गरेका छन् । आर्थिक वर्ष २०७८/०७९ मा ९६ जनाले घरेलु हिंसाकै कारण आत्महत्या गर्न बाध्य भएको प्रहरीको विवरण छ । अधिकांश महिलाले आत्महत्या गर्नुको कारण घरेलु हिंसा रहेको पाइएको प्रहरी अधिकारीहरू बताउँछन् । गरिबी, आर्थिक अवस्था, सामाजिक विभेद, कुसंस्कारलगायतका कारणले पनि महिलाहरू बढी हिंसाबाट पीडित हुने गरेका छन् । चरम हिंसा र मनोसामाजिक कारणले आत्महत्या गर्नेहरू बढिरहेको पाइएको छ ।

पछिल्ला वर्षहरूमा कर्णालीमा आत्महत्याको अवस्था विकराल बन्दै गएको छ । गएका साढे तीन वर्षको तथ्यांक हेर्दा प्रदेशमा एक हजार २६ जनाले आत्महत्या गरेका छन् । त्यसमा महिलाको संख्या चार सय छ । सरकारी तथा गैरसरकारी निकायले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेपनि यहाँ घरेलु हिंसाका घटनामा कमी आउनुको साटो हरेक वर्ष बढ्दो छ । आर्थिक वर्ष २०७६/०७७ मा आठ सय ७५, आर्थिक वर्ष २०७७/०७८ मा ६ सय २७, आर्थिक वर्ष २०७८/०७९ मा आठ सय ८३ र चालु आर्थिक वर्षको हालसम्म तीन सय ५० जना घरेलु हिंसामा परेको प्रहरीको तथ्यांकमा छ । घरेलु हिंसाका कारण महिलाहरू आत्महत्या गर्न बाध्य भएको अधिकारकर्मीहरू बताउँछन् । मनोविमर्शकर्ता तथा अधिकारकर्मी निशा पौडेलले महिलाहरूले आत्महत्या गर्नुको मुख्य कारण घरेलु हिंसाका रहेको बताइन् । उनले भनिन्, ‘महिलाहरूमाथि शारीरिक, मानसिक, यौन र आर्थिक हिंसा धेरै हुने गरेको छ, घरेलु हिंसाकै कारण ठूलो संख्यामा महिलाहरू आत्महत्या गर्न बाध्य भएको पाइन्छ ।’ हिंसाको पीडा सहन नसकेपछि महिलाहरूले आत्महत्याको बाटो रोज्ने गरेको उनको भनाइ छ ।

घरेलु हिंसा बढी रहेपनि यसको न्यूनीकरणका लागि सरकोकारवालाहरूको ध्यान जान नसकेको बताइएको छ । यसलाई सामान्य रूपमा लिँदा आत्महत्याको दर भयावह बन्दै गएको अधिकारकर्मीहरू बताउँछन् । आत्महत्याको दर बढ्दै गए पनि सरकारसँग यसको रोकथामका लागि ठोस योजना छैन । पछिल्लो समय महिलामाथि हुने हिंसा झन् झन् बढ्दै गएको प्रहरीको तथ्यांक छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले कर्णालीमा आत्महत्याको अवस्था विकराल रहेको बताए । घरेलु हिंसा, गरिबी, नैरास्यता तथा विभिन्न मानसिक समस्याका कारण आत्महत्याको बाटो रोज्ने गरेको पाइएको उनले जनाए । कर्णालीमा आर्थिक वर्ष २०७८/०७९ मा नैरास्यतका कारण ३२ प्रतिशत र गरिबीका कारण १९ प्रतिशतले आत्महत्या गरेको प्रहरीको विवरण छ । यस्तै, मानसिक समस्याका कारण १० प्रतिशत, दीर्घरोगी भएका कारण दुई प्रतिशत, आवेशमा आएर एक प्रतिशतले आत्महत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।

पेसा अनुसार सबैभन्दा बढी कृषि पेसामा संलग्न रहेकाहरूले आत्महत्या गर्ने गरेको पाइएको छ । प्रहरीको विवरणअनुसार अघिल्लो वर्ष आत्महत्या गर्नेमध्ये ५९ प्रतिशत कृषि पेसामा आवद्ध थिए । सोही वर्ष १६ प्रतिशत बेरोजगार, १५ प्रतिशत विद्यार्थी र ४६ प्रतिशत व्यापारमा संलग्नहरूले आत्महत्या गरेका थिए । पछिल्ला वर्षहरूमा बालखैमा आत्महत्या गर्नेको दर पनि बढेको प्रहरीले जनाएको छ । कर्णाली प्रदेशमा बालबालिकाको आत्महत्याको तथ्यांक डरलाग्दो देखिएको हो । प्रहरीका अनुसार प्रदेशमा बालखैमा आत्महत्या गर्नेको संख्या बर्सेनि बढिरहेको छ । गएका साढे तीन वर्षको अवधिमा एक सय १९ जना बालबालिकाले आत्महत्या गरेका छन् ।

प्रकाशित मितिः   १८ माघ २०७९, बुधबार ०५:०१