खेलकुदमा लगानी बढाउँदै स्थानीय सरकार

सुर्खेत: स्थानीय तहले खेलकुद क्षेत्रको विकासका लागि पूर्वाधार तथा प्रशिक्षण कार्यक्रमहरूलाई प्राथमिकता दिन थालेका छन् । स्थानीय सरकारले पूर्वाधार निर्माणमा लगानी गर्न थालेपछि पालिकास्तरमा खेलकुदका गतिविधि पनि बढेका छन् । खेलकुदको विकासका लागि पूर्वाधार तथा खेलाडीको क्षमता अभिवृद्धि गर्न पालिकाले लगानी बढाउन थालेका हुन् । दैलेखको महावु गाउँपालिकामा पालिकास्तरीय एक खेल मैदान र तीन वटा वडास्तरीय खेल मैदान निर्माणाधीन अवस्थामा छन् । चालुआर्थिक वर्षमा पालिकाले एक वडा एक खेल मैदानको कार्यक्रम पनि सुरु गरेको छ । जसअन्तर्गत पालिकाका ६ वटै वडामा खेलमैदान निर्माणका लागि बजेट विनियोजन भइ कार्यान्वयनको चरणमा छ । उक्त पालिकाले खेल पूर्वाधारका लागि प्रत्येक वडामा एक–एक लाखका दरले ६ लाख बजेट छुट्याएको हो ।

खेल क्षेत्रलाई उकास्न पूर्वाधार निर्माणमा जोड दिइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयराम उपाध्यायले बताए । उनका अनुसार महावुमा सुरुवाती चरणमा वडास्तरीय खेलमैदान निर्माण गर्ने लक्ष्य लिइएको छ । त्यसका लागि पालिका आफैले लगानी गर्दैछ भने पालिकास्तरीय अन्य ठूला संरचना बनाउन प्रदेश र संघीय सरकारसँग बजेटका लागि पहल थालिएको छ । उपाध्याय भन्छन्, ‘पालिकाले खेल पूर्वाधार निर्माणको कामको सुरुवात गरेको छ, बजेट पर्याप्त छैन, अन्य पूर्वाधार निर्माणका लागि माथिल्लो तहका सरकारसँग बजेट माग्ने तयारी गरेका छौँ ।’ पालिकामा पछिल्लो समय खेल प्रतियोगिता आयोजना गर्नेदेखि भौतिक पूर्वाधार निर्माण गर्ने क्रमले प्राथमिकता पाएको उनको भनाइ छ । यो पालिकाले खेलाडी, प्रशिक्षक तथा खेल जनशक्तिको प्रोत्साहनका कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । खेलकुदमा युवाहरूको आकर्षण बढाउनेगरी थुप्रै योजनाहरू कार्यान्वयनमा लगिएको बताइएको छ । वडा तहबाटै प्रतिभावान खेलाडी उत्पादन हुन भन्ने उद्देश्यले खेलकुदका पूर्वाधार निर्माणमा जोड दिइएको महावु गाउँपालिका–२ का वडा अध्यक्ष प्रकाश थापा बताउँछन् । हरेक वडामा खेलमैदान निर्माण गरिँदा युवा सहभागिता बढ्दै जाने उनको अपेक्षा छ । हरेक वडामा खेलमैदान निर्माण तथा खेलकुदका सामग्री वितरणलाई अगाडि बढाउने योजना सफल हुँदै जाँदा खेल गतिविधि प्रभावकारी बन्ने थापाको बुझाइ छ ।

दैलेखको भगवतीमाई गाउँपालिकाले पनि खेलकुदको विकासका लागि पूर्वाधारमा जोड दिइएको छ । गाउँपालिकाले खेलकुद विकास समिति गठन गरी कार्यालय स्थापनासमेत गरेको छ । पालिकास्तरीय खेलकुद प्रतियोगिता सञ्चालन, खेलाडीको व्यवस्थापन, उनीहरूको तालिम प्रशिक्षणलगायतका विषय हेर्नेगरी दुई जना कर्मचारी खटिएका छन् । संघीय सरकारले उपलब्ध गराएको डेढ करोड रकमबाट पालिकास्तरीय खेलमैदान निर्माण भइरहेको छ । तीन सय जनाले हेर्न मिल्ने ‘स्टेडियम’ निर्माणको काम अन्तिम चरणमा पुगेको पालिकाका अध्यक्ष गणेशबहादुर थापाले जानकारी दिए । उनका अनुसार मैदानको घेरबार तथा पर्खाल निर्माणका लागि पालिकाले ३० लाख बजेट खर्च गरेको छ । उनी भन्छन्, ‘अहिले मैदानलाई चिटिक्क बनाउने काम भइरहेको छ, वडास्तरीय खेलमैदान आवश्यक रहेकाले बजेटका लागि प्रदेश र संघीय सरकारका निकायसँग पहल थालेका छौँ ।’ संघीय सरकारले हरेक वर्ष छनोटमा परेका पालिकालाई खेलकुदका स्थानीय खेल पूर्वाधार निर्माणका लागि बजेट दिँदै आएको छ । सोही अन्तर्गत भगवतीमाईमा पनि पालिकास्तरीय खेलमैदान निर्माण भइरहेको हो । नेपाल सरकारको नीतिअनुसार स्थानीय तहमा खेल पूर्वाधार निर्माण गर्दा ७० प्रतिशत केन्द्र सरकारको र ३० प्रतिशत सम्बन्धित स्थानीय तहको लगानी रहने व्यवस्था गरिएको छ ।

रुकुम–पश्चिमको चौरजहारी नगरपालिकाले खेल पूर्वाधारलाई प्राथमिकता दिएको छ । यो नगरपालिकामा १४ वटा वडा छन् । नगरले ६ वटा वडामा शहिद स्मारक खेलमैदान निर्माणको काम सुरु गरेको छ । प्रदेश संसद् विकास कोषको दुई करोड लगानीमा खेलमैदान निर्माणका काम भइरहेका हुन् । ती वडाहरूमा २५ देखि ४० लाखसम्म लगानी गरेर खेलकुदका भौतिक संरचना निर्माण थालिएको हो । आवश्यकता हेरेर वडामा बजेट उपलब्ध गराइएको पालिकाले जनाएको छ । ‘एक वडा, एक खेलमैदान’ को अवधारण अनुसार बाँकी वडामा पनि खेलमैदान बनाउने योजना रहेको नगरप्रमुुख पुुष्प वादीले बताए । खेलकुद क्षेत्रको विकास अन्तर्गत नगरपालिकाले पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिएको उनी बताउँछन् । नगरपालिकाको वडा–१२ मा क्रिकेट रंगशाला निर्माणको काम सुरु गरिएको छ । उक्त रंगशालाका लागि ठेक्का सम्झौता भइसकेकाले अबको केही दिनमा निर्माणको काम सुरु हुने बताइएको छ । जिल्ला खेलकुद विकास समितिको रेखदेखमा रंगशाला निर्माणको काम गर्न लागिएको हो । त्यसका लागि बजेटको व्यवस्था पनि समितिले नै गरेको छ ।

अघिल्लो कार्यकालमा सडक र शिक्षा, स्वास्थ्यजस्ता पूर्वाधारको विकासलाई मात्रै प्राथमिकता दिएका स्थानीय सरकारले दोस्रो कार्यकालमा भने खेल पूर्वाधारमा पनि जोड दिएका छन् । युवाहरूलाई कुलतबाट बचाउन, स्वस्थ्य बनाउन, सतमार्गमा लगाउन तथा अनुशासित बनाउन खेलकुदको महŒवपूर्ण भूमिका हुने भन्दै यस क्षेत्रको विकास र प्रवद्र्धनमा पालिकाहरू जुटेका हुन् । खेलकुदको विकासका लागि धमाधम योजना बनाएका पालिकाहरूलाई बजेटको भने अभाव छ । प्रदेश र संघीय सरकारसँगको समन्वयमा स्थानीय सरकारले खेल पूर्वाधार निर्माणदेखि खेलकुदका गतिविधिहरू अघि बढाउँदै लगेका छन् ।

प्रकाशित मितिः   १८ माघ २०७९, बुधबार ०५:०५