के लत बस्यो मलाई ?

सामान्यतया लत भन्नाले कुनै पनि वस्तु वा चिजप्रति गहिरोसँग जोडिनुलाई बुझिन्छ । ति चिज वा वस्तु जे पनि हुन सक्छन् । जुन बानी दोहोर्‍याइरहन मन लाग्छ । गरिरहन मन लाग्छ । लत जुन चिजमा बस्यो त्यो छोड्न मुस्किल हुन्छ । कठिन हुन जान्छ । त्यही भएर केही मान्छेहरू कुनैपनि कुराको लत लाग्नबाट जोगिन्छन् । केही नराम्ररी फस्छन् । जहाँबाट निस्कनै मुस्किल पर्छ । जसको परिणामस्वरूप सुधारकेन्द्र तथा विभिन्न तरिकाहरू अपनाउनु पर्दछ ।

जानीजानी कोही किन खराब हुन्छ र ? कहिल्यै हुँदैन । तर, लगातार दोहोरिने बानी वा जसलाई हामी लत भन्छौँ, यसले हामीलाई खराब नतिजा दिन्छ । जुन भोग्न हामी विवश हुन्छौँ ।

केही लतहरूः

१. मोबाईलको लत

यो लत विशेषगरी पछिल्लो समय बालबालिकाहरूमा धेरै पाइएको छ । उनीहरूले गर्नको लागि ठ्याक्कै कुनै पनि काम हुँदैन । त्यसैले मोबाइलमा केही न केही हेरेर समय बिताउने गर्दछन् । प्रायजसो व्यक्तिहरूको मोबाइलमा यिनी एपहरू जरुर हुन्छन्, फेसबुक, टिकटक, इन्टाग्राम आदि । मात्रै दुईचार वटा एपले एउटा मान्छेको सम्पूर्ण दैनिकी बिताउन काफी हुन्छ ।

जब यसरी मोबाइलमा घण्टौ बिताउन बानी परिन्छ । पछि केही काम गर्न खोज्यो भने अल्छि लाग्छ । काम सुरु गरे पनि कामको बीच–बीचमा मोबाइल चेक गर्ने बानी कायम नै रहन्छ । जसले गर्दा गरिरहेको काममा हानी पुग्छ । मोबाइल फोनको लतलाई छुटाउनमा आफूलाई कुनै न कुनै काममा व्यस्त राख्नुस् । ता कि तपाईंको व्यस्तताले मोबाइल छुन पनि समय नमिलोस् । आवश्यक सम्पर्क र प्रविधिको प्रयोगको लागि मात्र मोबाइल फोन हो । यसरी आफूलाई सजग बनाउन सके सायद मोबाइलको फोनको प्रयोगका बारेमा हामी सचेत हुन्छौँ ।

एउटा सर्वेक्षण अनुसार ८ देखि १२ वर्षसम्मका बालबालिका हरेक दिन करिब चार घण्टा ४० मिनेटसम्म इन्टरनेटमा समय बिताउने गर्दछन् । किशोरहरू प्रतिदिन सात घण्टा २२ मिनेटसम्म इन्टरनेटमा समय बिताउँछन् । त्यसकारण बालबालिकाहरू मानसिक रोगको शिकार पनि हुन थालेका छन् । इन्टरनेटको प्रयोग गर्नेमा सहरका बच्चाहरू धेरै अगाडि छन् ।

अर्काे एउटा सर्वेक्षण अनुसार ८३ प्रतिशत आमा–बुबा आफ्ना बच्चाले प्रविधिको प्रयोग सिकुन् । तर, यसको लत नलागोस् भन्ने मान्यता राख्छन् । त्यस्तै १० प्रतिशत मध्ये नौ प्रतिशत आमा–बुबा आफ्ना बच्चाले इन्टरनेटमा समय बिताउनुभन्दा मानिसहरूसँग भेटघाट र खेलकुदमा समय बिताउन् भन्ने चाहान्छन् ।

आफ्ना बालबालिकाहरूको हेरचाह र उनीहरूसँग समय बिताएर यस्तो लतलाई छुटाउन सकिन्छ । यदि यसले मानसिक रोगको रूप लिन थाल्यो भने चिकित्सकसँग उचित परामर्श लिनु आवश्यक हुन्छ । बालबालिकाहरूलाई सिर्जनात्मक गतिविधिहरूमा सहभागी गराएर सबैखालका लतबाट बचाउन सकिन्छ ।

२. चुरोटको लत

यो लत प्रायजसो ‘टिनएज’मा साथीहरूको लहलहैमा लागेर बस्ने गर्छ । कोही कोही टिनएजमा कस्तो हुन्छ ट्राई गरौं न भनेर बसाल्छन् । सुरुसुरुमा आफूलाई ‘कूल’ राख्न वा देखाउनको लागि प्रयोग गर्दा गर्दै चाहेर पनि छोड्न नसकिने अवस्थामा पुगिन्छ । टिन र युवा अवस्थामा विभिन्न सिनेमाको प्रभावले पनि यो लत बसेको पाइन्छ । चुरोटको सेवन गर्नेहरूले यसले एकैछिनको लागि आत्मविश्वास बढाउने तर्क दिन्छन् । जुन केही मिनेटको हुन्छ । र, यसको अन्तिम परिणामका बारेमा त हामी जानकार नै छौँ । क्यान्सर उपहार दिन्छ ।

केही युवाहरूले धेरै तनाव भएपछि पनि यसको लत बसाल्ने गरेको पाइन्छ । उनीहरू चुरोटको सेवनले तनाव कम हुने दाबी गर्छन् । चुरोटको लत यति गहिरोसँग बस्छ कि बिहान उठेको समयमा शौचालयबाट सुरु भइ राति सुत्नु भन्दा अगाडि पनि चाहिन्छ ।

संसारभर हरेक दिन १५ अर्बभन्दा बढीको चुरोट र अन्य सुर्तीजन्य पदार्थ बिक्री हुने र प्रत्येक आठ सेकेण्डमा एकजनाको मृत्यु सुर्ती सेवनको कारणले हुन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा ४९ प्रतिशत पुरुष र २९ प्रतिशत महिला धुम्रपान गर्दछन् । धुम्रपान सेवन गर्दा सेवन गर्ने मात्र नभइ वरपर बस्नेलाई पनि असर पु¥याउँछ, यसलाई प्यासिभ स्मोकर भनिन्छ । यसको लतमा फसेपछि निस्कने गाह्रो हुने यसको लत लागेका मानिसहरूको भन्ने गर्दछन् । यसले स्वास्थ्यमा पार्ने नकारात्मक असरलाई मनन गर्दै संयम र आत्मबल बलियो बनाएर यसको सेवनबाट टाढा रही स्वस्थ जीवनयापन गर्न सकिन्छ ।

३. चियाको लत

चियाको चुस्कीसँगै ब्युझ्नु आम नेपालीको दैनिकी हो । बिहानै उठियो के खाने ? चिया । घरमा कोही पाहुना आएँ, चिया खाएर जानुस् न । साथीहरू सँग भेट भयो । के खाने ? चिया । कसैसँग भेट्न मन लाग्यो के भनेर बोलाउने ? चिया गफमा भेटौँ न । कतै घुम्न गइयो, एकैछिन चिया खाएर जाऊ न । चिया खाने यस्ता सयौँ कारण छन् । जसकारण चिया आम व्यक्तिको लत बन्न पुगेको छ ।

दुनियाँमा चियाका यस्ता पारखी हुन्छन् । जसका बारेमा हामीले थाहा पायौँ भने अचम्म लाग्छ । अमेरिकाको योर्कसायरमा बस्ने नाथन गार्नरलाई चियाको लत बस्यो । नाथनको मनपर्ने ब्राण्डको चिया योर्कसायर टी रहेछ । उनले एकदिनमा १५ पटक योर्कसायर चिया पिउदारहेछन् । एकपटक नाथनलाई उनका साथीले हँसीमजाकमा भनेछन् । तिमीले यतिधेरै चिया पिउँछौँ कि अब तिमीले आफ्नो नाम चिया राखे हुन्छ ।

साथीले मजाकमा भनेको कुरा उनलाई मनप¥यो । त्यसपछि उनले आफ्नो नाम बदल्नेबारे सोचेँ । र, उनले विभिन्न कानुनी प्रक्रियाहरू पूरा गरि आफ्नो नाम योर्कसायर टी राखेका छन् । उनले नयाँ नाम सहितको प्रमाण–पत्र लिइसकेका छन् । अब आफैं मूल्याङ्कन गर्नुस् । चियाको लत कति मजबुत हुन्छ । जसले मान्छेलाई आफ्नो नाम नै चियाको नाममा राख्न बाध्य बनाउँछ ।

चियाका सम्बन्धमा विभिन्न रिर्सचहरू पनि भएका छन् । यूनिभर्सिटी अफ ग्लासगोको अनुसन्धान अनुसार दिनमा तीन कपभन्दा बढी चिया पिउनु स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । जसको परिणामस्वरूप निम्न असर देखिन सक्छन्ः

  • चियामा पाइने क्याफेनले लत लाग्ने गर्दछ ।
  • यसको लत लागेकालाई चिया नपिउँदा टाउको दुख्ने, थकान, सुस्त अनुभव हुने गर्दछ ।
  • यसको अत्यधिक सेवनले अपचको समस्या निम्त्याउने साथै पेटको समस्या बढ्न सक्छ ।
  • धेरै चिया पिउँदा डर लाग्ने र अस्थिर हुने समस्या देखिन सक्छ ।
  • यसले मृर्गाैलामा धेरै दवाव पर्दछ । मृर्गौलामा समस्या हुनसक्छ ।
  • छिटोछिटो पिसाब लाग्दा सोडियम, पोटासियमजस्ता शरिरका लागि अत्यावश्यक तत्व पनि बाहिर निस्कने गर्दछ र कमजोरी बढ्ने गर्दछ ।
  • चियाको धेरै सेवनले गर्दा निन्द्रा नलाग्ने समस्या हुनसक्छ ।

कुनै पनि खराब बानीको सट्टा सहि बानी अपनाएर खराब बानी हटाउन सकिन्छ । तर, सुरुसुरुमा सहि बानी बसाल्न गाह्रो हुन्छ । त्यसैले केही दिन गाह्रो भएपनि त्यसलाई सहजै स्वीकार्न सक्नुपर्दछ ।

प्रकाशित मितिः   ९ माघ २०७९, सोमबार ०५:०४