रैथाने बालीको उकालो–ओरालो

जुम्लाको गढीगाउँ । पातारासी हिमालको काखमा अवस्थित गढिगाउँ रैथान बालीले आत्मनिर्भर छ । नेपालका ११ वटा रैथाने बालीमध्ये अधिकाँश बाली जुम्लामा पाइन्छन् । पोषणको दृष्टिले महŒवपूर्ण मानिने रैथाने बाली लोपहुने खतरा बढिरहँदा गढिगाउँ यसको जगेर्नामा उभिएको छ ।

पातारासी हिमालको काखमा रहेको जुम्लाको गडिगाउँ पुग्दा पश्चिमतर्फबाट प्रवेश गरेको बादलले आकाश ढाक्दै छ । तापक्रम माईनस १ डिग्री सेल्सिएसमा झरेको छ । पानीको मुल, धारा र खोला–किनारमा बरफ जमेको छ । मौसमले हिमपातको संकेत गरिरहँदा स्थानीय बाटुली बुढालाई भने ढुँगे ओखलमा मकै कुट्ने चटारो छ । ‘हिउँद घर बाहिरको काम थाति राखिन्छन्, फुर्सद बढी हुनाले घर वरिपरिका काममा जोडिन्छौँ, चिसोबाट जोगिन आगो बाल्छौँ, भोक टार्नका लागि मकै र सिमिको कोल पकाउँछौँ’ उनले भनिन् ।

पानीमा भिजाइएको मकैलाई ढुँगे ओखलमा कुटेर दाना बाहिरको भुस फालेपछि मात्रै सिमिसँग मिसाएर कोल खानयोग्य हुन्छ । हरेक वर्षको हिउँदमा सिमि र मकै मिश्रित कोल र फापरको रोटीले भोक मेटाउन्छन्, गढिगाउँवासी । पहिले एकै गाउँ अहिले दुई बनेको छ । बिचमा खोलोले स्याला र पाडा गढिगाउँको सिमाना छुट्याएको छ ।

दुई सय ७० घरधुरीको गढिगाउँ रैथानेबालीले आत्मनिर्भर छ । आयातित खाद्यान्नविनै बाँचिरहेका छन्, गठिगाउँलेहरू । घरैपिच्छे न्यूनतम् पाँच क्वीन्टलदेखि २५ क्वीन्टलसम्म मकै, सोही मात्रामा गहुँ र ३० देखि ५० क्वीन्टल आलु, पाँचदेखि १० क्वीन्टल फापर उत्पादन हुन्छ । उत्पादित अन्नले गाउँले मात्रै पालिएका छैनन्, सुख्खा हिँउदमा पशुवस्तुलाई दाना पनि पुगेकोस्थानीय हरिश्चन्द्र बुढाले बताए ।

रैथान बाली भण्डारण गर्नुअघि छतमा राखिन्छ । माटोले बनेका घरहरू आपसमा जोडिएका छन्, जसलाई बाडा भनिन्छ । यहि बाडामा अन्न चुट्ने गरिन्छ । यि बाडाहरूको उपयोगिता यतिमै सिमित छैन । मंसिरदेखि फागुनसम्मको हिउँद हिमाली जिल्लाको लागि कष्टकर हुन्छ । प्रतिकुल मौसमसँग जुध्ने आधुनिक साधन र स्रोत छैन तर परम्परागत शैलीका माटोका घर सिमेन्ट र जस्ताले छाएको घरभन्दा तातो हुने बताउन्छन्, स्थानीय विर्ख बुढा ।

गडिगाउँको रैथाने बालीमा आत्मनिर्भरको कथा सुनाइरहँदा जुम्लाको तथ्याङ्कले भने खेती घटिरहेको देखाउँछ । कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीका अनुसार नेपालका ११ वटा रैथानेबाली मध्य अधिकाँस बाली जुम्लामा उत्पादन हुन्छ । तर केहि बाली लोप हुने खतरामा पनि छन् ।

लोपोन्मुख अवस्थामा पुगेको बाली हो, कागुनो । कागुनो पाँच हेक्टर, चिनो २० हेक्टर र फापर ४० हेक्टरमा मात्रै खेती भइरहेको छ । यद्यपि, पछिल्लो समय उपभोक्ताले रुचाउँदा रैथाले बालीमा किसानको आर्कषण बढेको छ । ‘रैथाने बालीको उकालो–ओरालो यात्रा चलिरहेको छ । २०६३ सालभन्दा पहिले जुम्ला सडक सञ्जालमा जोडिएको थिएन । घरघरमा रैथानेबालीको खेती हुन्थ्यो । सडक पहुँच विस्तार भएपछि आयातित खाद्यान्नले किसान अल्छि बने’ कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले सुनाए ।

अहिले अर्गानिक कृषि उपजले बजार लिन थालेपछि रैथाने बालीको खेती गर्ने बढ्दैछन् । चालु आर्थिक वर्षमा रैथाने बालीको प्रवद्र्धन कार्यक्रमलाई अघि सारिएको समेत उनले बताए । सिमि, मार्सी धान, चिनो, कागुनोलगायतका बालीको बजार भाउ बढेपछि अहिले रैथाने खेतीमा किसानको आर्कषण समेत बढेको प्रमुख अधिकारीको भनाइ छ । अहिले थुप्रै कृषि कार्यक्रममा प्रस्ताव आह्वान गर्दा रैथाने बाली प्रवद्र्धन कार्यक्रमा सबैभन्दा बढी प्रस्ताव आउनुले रैथाने बाली खेतीमा किसानको लगाव बढेको पुष्टि भएको उनले बताए । रैथाने बालीको संरक्षण गरिरहेका गढिगाउँजस्ता बस्तीमा सडकको राम्रो सुविधा भए किसानको आय आर्जन बढ्ने र रैथाने बालीको संरक्षण पनि हुने स्थानीयहरू बताउँछन् ।

प्रकाशित मितिः   ७ माघ २०७९, शनिबार ०५:०३