अर्धवार्षिक समीक्षा
सुर्खेत: खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले अर्धवार्षिक प्रगति समीक्षा गरेको छ । कार्यालयले शुक्रवार दोस्रो त्रैमासिक तथा अर्धवार्षिक गतिविधिको समीक्षा गरेको हो । कार्यालयका निमित्त प्रमुख भेषबहादुर थापाले जनशक्ति र बजेट पर्याप्त नहुँदा लक्ष्यअनुसार प्रगति हासिल गर्न चुनौती भइरहेको बताए । विभिन्न पदमा २२ जनाको दरबन्दी रहेको उक्त कार्यालयमा हाल १० जना कर्मचारी मात्रै कार्यरत छन् । कार्यक्षेत्र धेरै, कामको चाप अधिक र त्यसअनुसार स्रोत–साधन नहुँदा समस्या भएको थापाले जनाए । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले खाद्य उद्योग र खाद्य बजारको अनुगमन गर्ने, खाद्य वस्तुको गुणस्तर जाँच्न प्रयोगशाला सेवा दिने, उद्योग सञ्चालनका लागि अनुज्ञा–पत्र जारी गर्ने लगायतका काम गर्छ । स्थापनाकालदेखि नै जनशक्ति अभाव झेल्दै आएको कार्यालयले कर्मचारी अपुग हुँदा अहिले पनि नियमित अनुगमनका कामसमेत प्रभावित हुने गरेको जनाएको छ । चालु आर्थिक वर्षको हालसम्मको प्रगति भने सन्तोषजनक रहेको नि. कार्यालय प्रमुख थापाले जानकारी दिए ।
समीक्षा कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका प्रमुखसचिव गोपीकृष्ण खनालले सीमित स्रोत–साधनकाबीच पनि कार्यालयको प्रगति राम्रो देखिएको भन्दै जनशक्ति व्यवस्थापनमा आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाए । खाद्य बजारलाई व्यवस्थित बनाउन व्यवसायी र व्यवसायीहरू आवद्ध संस्थाहरूको भूमिका पनि महŒवपूर्ण हुने उनले बताए । खाद्य स्वच्छताका लागि उद्योगी र व्यवसायीसँगै उपभोक्तामा पनि सचेतना आवश्यक रहेको खनालको भनाइ थियो । समीक्षा कार्यक्रममा सुर्खेतका सहायक प्रमुुख जिल्ला अधिकारी खगेन्द्र मल्ल, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल, होटल व्यवसायी संघ सुर्खेतका अध्यक्ष ऐनबहादुर शाहीलगायत विभिन्न सरोकारवाला निकायका प्रमुख एवम् प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
प्रकाशित मितिः ७ माघ २०७९, शनिबार ०५:०४
साझा बिसौनी ।