बागचौरमा बसेको सल्यानी माया
जाजरकोटको साहित्यिक कार्यक्रम सकेर गैरीखालीको ओरालो झर्दा तारादेवले कानेखुसी गर्दै भनेको थियो, ‘दाजु, सल्यान आउनु होला ।’
मैले मौन स्वीकृती जनाउँदै ‘हुन्छ’ मात्रै भनँे । केही समयको यात्रापछि हामी बोहोरा भन्ने ठाउँबाट छुट्टियौँ । उसको र मेरो पहिलो भेट सल्लीबजारमा भएको थियो । त्यतिखेर हामीबीच खासै कुराकानी भएन । बाक्लो कुराकानी नभएरै हामी पातलियौँ ।
पछि बेलाबखत कुरा गरेर फिक्का सम्बन्ध गाढा बनाउने काम बझाङ्गका भाइ हरिश जोशीले गरेका थिए । जाजरकोटबाट तारादेव फिर्ता भएपछि सामाजिक सञ्जालमा कार्तिक १८ गते बागचौर नगरपालिका पेदीखोला सरस्वती माविमा साहित्यिक कार्यक्रम आयोजना हुन लागेको व्यानर सार्वजनिक भएको थियो । सुर्खेतबाट साहित्यकार महेन्द्र चन्द महासागर र यो पंक्तिकारलाई साहित्यिक क्षेत्रमा योदान पु¥याए वापत सम्मान गर्ने कार्यक्रम तयगरिएको रहेछ । एक्कासी व्यानरमा आफ्नो नाम देख्दा उसलाई फोन गरेर नाम हटाउन कर गरेँ, तर उसले मानेन ।
चुनाव नजिक आउँदै थियो । नलाग्नेलाई पनि यो पटकको चुनावी नसाले छोएको थियो । एक गिलास लोकल ठर्राको नसामा रेलिमाइ हुने माङले सुजीजस्तै गाउँसहर पनि पार्टीका चुनावी गितमानतमस्तक थिए । राजधानी र सदरमुकामलाई बिर्ता ठान्ने नेता–कार्यकर्ताहरूको सहरका गल्ली र गाउँमा बर्खाका जुकाको जस्तै बिगबिगी थियो । मनि र मसल प्रयोग गरेर उनीहरू जनतालाई खसी, राँगाझै योपटक पनि खरिद गर्ने माहोल बनाइरहेका थिए ।
पर्खाइमा पर्खेको समय कटाउन सकसपूर्ण हुन्छ भन्थे तर यो उक्तिले यसपटक मेल खाएजस्तो लागेन । समय पाहुना बनेर घरको दैलोभित्र आएकोे पत्तोभएन । समयको निम्तोलाई स्वीकार गरेर मित्र महासगर र पंक्तिकार कार्तिक १७ गते दिनको ३ बजे गोल पोष्टमा छिराउन लागेको फुटबलझै सुर्खेतदेखि सल्यान रमना भयौँ ।
पछिल्लो समय बाहिरबाट साहित्यिक कार्यक्रको लागि निमन्त्रणा आयोभने सुर्खेती साहित्यकारहरू कमिलाको तातीझै हुलबाँधेर जाने परम्पराको विकास भएको छ । यो पटक भने ताती मिलाएर जाने अवसर जुरेन । साहित्यकार कर्मचारी भएर चुनावमा खटिनु पर्ने भएकोले होला । हामी दुई जना मात्रै टुहुराझै लुखुरलुखुर जानुको विकल्प थिएन ।
सारथी धेरै भएर मात्रै यात्रा रमाइलो हुने रहेनछ । यो पटकको यात्रामा सारथी कम भएर पनि रमाइलो भयो । न कसैलाई पर्खनु, न कोही छुट्लान भन्ने पिर । पोखरे पुगुञ्जेल घाम बाजे बुढो हुने तरखरमा थिए । रैकर नपुग्दै डाँडापारी डेरा सरिसकेका थिए । बालुवासंग्रहीबाट हामी पहाडको काखैकाख दायाँ लाग्यौँ । सल्यानको सदरमुकाम खलङ्गा नगएको पनि दुई वर्ष भइसकेको रहेछ । माथि ढोड पिपल पुगेर साइली आंैला भाचेपछि थाह पाएँ । मान्छेको जोवन, बगेको खोला र समय एकैनासको नहुने रहेछ । न बनाउन सकिने न नचाहेर फर्काउन सकिने । दुई वर्षअघि यहीँ ठाउँबाट खयर लोड गरेर भैरहवा पठाएको थिएँ । म पनि दुई वर्ष पुरानो भइसकेछु । उमेरकै प्रभाव होला अचेल ऐना हेर्दा कपालका रौँ र चिउडोमा सेता दारी फुलेको देखिनु । एकछिन वारी र पारीका गाउँ टोलाइ हेरेँ ।
समयले दुई वर्ष काटिसके पनि बाटोको अवस्था भने जस्ताको त्यस्तै रहेछ । स्तरोन्नति हुन सकेको थिएन । अझै जनतालाइ झुक्काउन नेताहरू बाटाको कुरूप हुलिया देखाएर भोटको भिख माग्न गाउँ आउने होलान् लाग्यो र मनमा कुरा खेलाउँदै लड्दैपढ्दै जयतपानी पुग्याँै ।
जयतपानी पुग्दा नजिकको मान्छे नचिनिने भइसकेको थियो । भोकका मुसाको आतंक खपी नसक्नु भएपछि एक पसलमा ओत लाग्न पुग्यौँ । पसले भाइले हात फैलाएरै मासुचिउरा पस्के । पौष्टिक नास्ताको सेवनपछि शरीरमा एकमुठी तरान पलायो । मृगको गतिमा खलङ्गा हुँदै श्रीनगर पुगेको थाह भएन । श्रीनगर हँुदै तीन वर्ष पहिले प्रलेसले आयोजना गरेको साहित्यिक कार्यक्रमा रुकुम मुसिकोट गएको थिएँ । सितलपाटीदेखि बागचौरसम्मको दुरी र पुग्ने समय ख्याल गरिएन त्यतिखेर । अहिले बाटामा सोध्नको लागि नकोही नजिक मान्छे थिए नत हामीलाई बाइकबाट झरेर सोधखोज गर्न फुर्सद ।
रातले आफ्नो साम्राज्य विस्तार गर्दै थियो । कृष्ण बिरही, तारादेव शर्मा, भावुक रिदमका तारन्तार बजिरहने मोबाइल फोनका घण्टी रबाटामाथि जंगलबाट आउने सल्लिकुसुमको सुसाहट उस्तै–उस्तै लागे । पृथ्वीलाई फन्को लगाइ रहने लामपुच्छ्रे ताराझै हामी भने शारदा नदीलाई पच्छाउँदै अघि बढिरह्यौँ । बाटो पिचको नाउमा पिच मात्रै रहेछ, उबडखाबड र धुलाम्य । साँघुरा घुम्तीले सवारी भने जतिको स्पिडमा चलाउन नमिल्ने । जसरी हाम्रा नेतागणहरू भिख मागेर देश चलाउन हिम्मत गर्छन् उसैगरी सल्यान, रुकुम राजमार्ग पनि आफ्नो उबडखाबड चेहेरा देखाएर सहयोगी दातासँग भिखको याचना गरिरहेको जस्तो अनुभूति भयो । यो बाटोमा सवारी गर्ने यात्रुले नेतालाई कति धारेहात लगाए होलान् मनमा कुरा खेले वर्षाको भेलझै ।
थकावटले भरिएको परानी र हौसला गुमेको सिपाहीको हुलिया लिएर जसोतसो हामी साढे नौ बजे बागचौर पुग्यौँ । गजल साँझ सुरु भएको रहेनछ । आयोजकहरूले हामीलाई नै कुरी बसेका रहेछन् । खाना खाएपछि राती नौ बजे गजल साँझ सुरु भयो । सुर्खेतकी पुनम धमाला, जाजरकोटका पुस्कर पराग चन्द र सल्यनका मनोज दाहाल मनुले गजल र मुक्तक सुनाए । शायर पुनम र मनोजका शेरले श्रोताका मन लुुटे । कार्यक्रम सल्यान पे्रस मिडिया प्रमोसन प्रा.लि. का अध्यक्ष खेमराज सुनारले गरेका थिए । विगतको समीक्षासहित गजल साँझ सकियो । घडीले एक बजाएपछि हामी सबै आ–आफ्नो विस्तरातिर लाग्यौँ ।
अबेर निदाएर होला आँखा उघ्रिन मानिरहेका थिएनन् । बाहिरको हल्लाखल्लाले नउठी सुख पाइएन । रिदम र महासागरलाई छिचोल्दै असहज मानीमानी विस्तराबाट उठँे । बाटोको धुँवाधुलोले कपालका रौँ जनावरका भन्दा कमसारा थिएनन् । टाउँको सफा जसोतसो गरियो । बाथरुममा झुण्ड्याइएका गिजर, एटेच रुम खोज्न आउने ग्राकलाई झुक्काउने मनसायले साहुजीले जडान गरेको जस्तो लाग्यो । पानी टाउँकोमा हालेपछि खालाझै हुने । गिजरबाट तातो पानी आउँदै नआउने ।
थुम्काइलो जमिनमा बाघ घाममा सुतिरहेको देखेपछि त्यस ठाउँको नाम बागचौर रहन गएको रहेछ । बागचौरका थुमक्याइला डाँडासँग यसरी साक्षतकार भएर पारीलो घाम तापेर प्राकृतिक सुन्दर दृष्य अवलोकन गर्ने अवसर मिलेको थिएन । जुन डाँडा हे¥यो औधीरमााइलो लाग्ने ।
तोरी फुलेर पहेँलपुर । पैयौं फुलेर पाखा–पखेराको सुन्दरतानै बेग्लै । पैयौैं फुलेको यहाँ भन्दा अगाडी कहिल्यै देखेको थिइनँ । फुलेको रुख देखाउँदै शायर संगीता थापालाई सोधेको थिएँ । उहाँलाई पनि थाहा रहेनछ । पछाडिबाट स्वर लगाउँदै कवि नविन अभिलाषीले चिनाउनु भएको थियो । चिया पिउन माथि चोकतिर आठ–दश जना साहित्यकारहरू हुल बाँधेरै पसलमा अडियौँ । कुर्चीखाली थिएनन् । चियापसल स्थानीय ग्राहकले भरिभराउ थियो । चियागफ होइन कुर्ची ओगटेर राजनीतिक गफ हँुदैै थिए । उभिएरै चिया अर्डर गरेपछि उनीहरू नउठी करै लागेन । बसन्त वली, रशिक राज, नविन अभिलाषी, हिमाल वली पृथक र संगीताजीको यो आइडिया मन प¥यो । चियाको स्वाद निकै मीठो लाग्यो सायद गाउँको पानी मिसिएर होला ।
बागचौरको बिचबजारमा ठूलो गेट छ । गेटको चारैतिर जनयुद्धमा ज्यान गुमाउने तीन सयभन्दा बढी सहिदहरूको नाम लेखिएको थियो । सहिदहरूको शोकमा बनेको गेट उनीहरूका सपना साकार बनाउनको लागि खबरदारी गर्दै उभिरहेको छ, परिवर्तन चिहाउँदै । सहिद गेट अहिले सहिद परिवार र जनयुद्धका योद्धाहरूको लागी अतित कोट्टाउने माध्यम बनेको छ । कार्यक्रमस्थल बागचौर बजारभन्दा बाह्र कि.मी. अगाडि पेदीखोला रहेछ । महेन्द्रजी र म खाना खाइसकेर अगाडी लाग्यौँ, उहाँको पुख्र्यौली थलो गाँडाकोट । नेपालमा भुरेटाकुरे राजाहरूको शासन व्यवस्था हुँदा उहाँका पुर्खाहरूले पनि यहिँबाट राज्य सञ्चालन गरेका रहेछन् । गाँडाकोटलाई अहिले कोटबाडा नामाकरण गरिएको रहेछ । कोटबाडादेखि रोल्पा नजिकै देखिने । कोटबाडाको फाँट निकै सुन्दर, मिलेको जमिन, टारीखेत, वरीपरी वनजंगल बाक्लो बस्ती । पुर्खाले यो ठाउँछोडेर गएकोमा महासागर पछिसम्म निकै पछुताउनु भयो । ‘गुरदेव पछुताउनु पर्दैन जे हुन्छ राम्रोकै लागि हुन्छ । अहिले के बिग्रेको छ र तपाईंको ? पछुताउने के कारण छर ?’ भनि सुझाए ।
चौतारिया खलकका चन्द दाइसँगको लामो कुराकानीपछि हामी कार्यक्रम स्थलतिर रमना भयौँ । केही तल ओरालो झरेपछि आएकै बाटो नआएर हामी पखेरै–पखेरा दाँयाहात लाग्याँै । झर्दा यही बाटो छोटो हुन्छ भनेर दाइहरूले माथि छुट्टीदाँ सुझाएका पनि थिए । आधी बाटो झरेपछि निल्नु न ओकल्नु भयो । विकासको नाउँमा कार्यकर्ता पाल्न खनिएको गोरेटो बाटो रहेछ । बाटो नभएर गौडो थियो जंगली जनवारको सिकारको लागि अटन बस्ने ठाउँ जस्तै । मोटरसाइकलले हामीलाई बोकेन बरु उसलाई हामीले बोक्यौबडा मुस्किलले मोटरसाइकलाई बोकेर खोला कटायौँ ।
कार्यक्रम निर्धारित समयभन्दा अबेर सुरुभयो । गजल महफिल, कविता र मुक्तक गरी तीन वटा सेसन थिए । सरस्वती मा.वि. को प्राङ्गगण दुलहीझै सिँगारिएको थियो । लाग्थ्यो विद्यालयको वार्षिक उत्सव हुँदैछ । सिँगारु र पञ्चेबाजाका कर्कश आवाजले पेदिखोला नै थर्कियो । नेपालीहरू कर्कश आवाजमै रमाउन मन पराउँछन् । सिटी, ताली, मादल, दमाह, झ्याली, बाँसुरी र हल्लाले कार्यक्रम स्थलनै गुन्जायमान भयो । केही समयपछि सुन्दर आवाजकी धनी पूर्वीरुकुमकी उर्मिला गौतमले कार्यक्रम सञ्चालन गरिन् । अतिथि आसन ग्रहणपछि महफिल सञ्चालनको जिम्मा तारादेव शर्माले गरे । ईश्वर दाहाल, संगीता थापा, बसन्त वली र सशीला श्रेष्ठले गजलको माहोल तताए । गजलका शेरहरूमा गाउँका बुढा बाआमाले पनि आँसु बगाए । युवा तन्नेरीहरू सुस्केरा ताली बजाउँदै रमाए । वाहवाही त सबै शायरहरूले पाए तर ईश्वर दाहाल ‘म्यान अफ दी म्याच’को दाबेदार रहे ।
दोेस्रो कविताको सेसन थियो । कविद्धय नविन अभिलाषी र रसिक राजले आफूलाई दर्शकको अघि जाँच्नु थियो । गजलकारभन्दा कम हुनु पनि थिएन । तातेको माहोलमा झन घिउ थप्नु थियो । आखिर कवि रसिक राज र नविन अभिलाषीले त्यसै गरे । माहोल स्थिर र भावुक बन्यो, कविताका बान्कीहरूले दर्शकका आँखा रसाए । जमुना गौतम र टि.आर शर्माका मुक्तकले चटनीको काम गरे । कोही गम्भिर भए, कोही हौसियर रमाए । कार्यक्रमको तारिफ जति गरे पनि कमै हुन्छ । तारादेवको सहासलाई सलाम भन्छु ।
महेन्द्र चन्द महासागर, विजय राना, भावुक रिदम बाबु र पंतिकारको सम्मानपछि कार्यक्रमका प्रमुख अतिथि पूर्णपंकज भण्डारीको छोटो मन्तव्य र खेमराज सुनारको समापन मन्तव्यपछि हामी सबै बागचौर फिर्ता भयाँै । समयले नेटो काटेपछि हाम्रो बाँस बागचौरमै भयो ।
हिमाल वली पृथक पल्टनमा जानुपर्ने भएकोले बिचैबाट फुत्केका रहेछन् पछि थाह भयो । भोलि बिहान काठमाडांै, नेपालगञ्ज, दाङ्ग जाने साथीहरूलाई बस चढाएर कृष्ण बिरहीका बुढाबुढी, महासागर, भावुक रिदम, पुष्कर पराग चन्द र पंक्तिकार आएकै बाटो फिर्ता भयौँ ।
घरको बाटो फर्कने बेला छोटो लाग्छ भन्थे बुढापाका आज त्यस्तै महशुस भयो । जाँदा टाढा लागेको बाटो फकिर्दा छोटो लागि रहेको थियो । सायद घरको मायाले बोलाएर होला ।
कृष्णका बुढाबुढीलाई श्रीनगर छोड्दै हामी चारभाइ माथि खलंगा आएर सुस्तायौँ । माया–प्रेमभन्दा ठूलो कुरा रूपैयाँ–पैसा नहुने रहेछ । रिदमले छुट्टीने बेला चोर गोजीमा लुकाइ राखेको पाँच सयको नोटले पसलबाट मधुरस किनेर प्रेम बाँढ्यो । छुट्टिने मनन भइ–नभइ अमिलो मन बनाउँदै बालुवासंग्रहीबाट रिदम भेरी किनारै–किनारपछि नहेरी उत्तरपूर्व लाग्यो । मित्र महासागर र म बगिरहेको पानीको बहावलाई पच्छाउँदै बागचौरमा बसेको सल्यानी मायालाई मुटुभित्र राख्दै सुर्खेत फर्कियौँ ।
प्रकाशित मितिः ७ माघ २०७९, शनिबार ०५:०४
धिरेन अनुपम ।