उद्यम विकासमा पालिकाको पहल
सुर्खेत: सुर्खेतको चौकुने गाउँपालिकाले उद्यम विकासमा जोड दिएको छ । विकासको मूल प्रवाहिकरणका लागि पालिकाले औद्योगीक क्षेत्रको सम्भाव्यता अध्ययन तथा घरेलु उद्योगहरूको प्रोत्साहनको नीति लिएको छ । जसका लागि पालिकाले घरेलु उद्योगसँगको सहकार्यमा उद्यमीहरूका लागि तालिम र उद्योगका लागि आवश्यक मेसिन उपलब्ध गराउने योजना अघि सारेको छ । स्थानीयस्तरमा उत्पादन भएका वस्तुहरूलाई प्रशोधन र बजारीकरणमा सहज होस् भन्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गरिँदै आएको गाउँपालिकाका अध्यक्ष खड्ग विकले बताए ।
उनका अनुसार उद्यमीहरूलाई तालिम तथा क्षमता अभिवृद्धिका लागि यो वर्ष पालिकाले सात लाख बजेट विनियोजन गरेको छ । तालिम पश्चात् उद्यमीहरूलाई मेशिन हस्तान्तरण गर्ने योजना बनाएको छ । चौकुने बदाम उत्पादनका लागि पकेट क्षेत्र मानिन्छ । त्यसलाई प्याकेजिङ गरेर गुणस्तरीय बनाउन तालिम सञ्चालन गर्न लागिएको हो । अध्यक्ष विक भन्छन्, ‘पालिकाले अहिले सञ्चालनमा रहेको उद्योगको खोजी र उद्यमीहरूलाई आवश्यक तालिम प्रदान गरेर लघु तथा साना उद्योग स्थापना गर्ने लक्ष्य राखेको छ ।’
दैलेखको नारायण नगरपालिका र नौमुले गाउँपालिकामा पनि उद्यम क्षेत्रको विकासका लागि पहलहरू थालिएका छन् । नारायण नगरपालिकामा डि. मेघा लघुु उद्यमको माध्यमबाट उद्यमीहरूको पहिचान गर्ने कार्यको सुरुवात गरिएको जनाइएको छ । नगरपालिकाका अनुसार उद्यमीहरूको पहिचान गरेर उनीहरूलाई तालिम प्रदान गरिनेछ । पालिकामा औद्योगिक ग्राम स्थापनाका लागि पनि प्रयासहरू भइरहेको नगरप्रमुख लोमन शर्माले बताए । अघिल्लो स्थानीय सरकारले नगरपालिकामा औद्योगिक ग्रामको अवधारणा अनुसार प्रक्रिया थाले पनि काम हुन सकेको छैन । चालुु आर्थिक वर्षमा औद्योगिक ग्राम स्थापनाका लागि कार्यक्रम राखिएको शर्माले जनाए । उनले औद्योगीक ग्राम स्थापनाका लागि जग्गा तथा क्षेत्र तयारको काममा नगरपालिका जुुटेको बताए । नगरपालिकाले वडा नम्बर–६ मा रहेको बाह्र पत्थर बर्खाले पानी सामुुदायिक वनमा औद्योगीक ग्राम स्थापना गर्ने योजना बनाएको छ । सामुदायिक वनको १५ रोपनी जग्गा प्राप्तिका लागि पहल थालिएको छ । नारायण नगरपालिकामा साना उद्यमीहरूको पहिचान गर्ने, सूचिकृत गर्ने, उद्यमीहरूलाई सीपमूलक तालिम प्रदान गर्नेलगायतका कार्यक्रम अघि बढाइएको छ ।
त्यस्तै, सोही जिल्लाको नौमुले गाउँपालिकाले रोजगारीको अवसर सिर्जना गर्न साना तथा घरेलु उद्योगमा जोड दिएको छ । गाउँपालिकाका अध्यक्ष छबिराम सुवेदीले स्थानीयस्तरमा उत्पादन हुने कच्चा पदार्थको प्रशोधन र बजारीकरणका लागि उद्योगहरू सञ्चालनलाई प्राथमिकतामा राखिएको जनाए । ‘सुशासन र पारदर्शीतालाई ध्यानमा राखेर बेरोजगारी समस्या हल गर्नेतर्फ पालिका लागिरहेको छ,’ सुवेदीले भने । गाउँमै जडिबुटी प्रशोधनलगायतका उद्योग सञ्चालन गरेर युवाहरू विदेश जानुपर्ने अवस्थालाई रोक्ने उनको लक्ष्य छ । उक्त पालिकाले उद्यममार्फत स्वरोजगारको लक्ष्य भेट्नेगरी योजनाहरू कार्यान्वयनमा लगेको दाबी गरेको छ । स्थानीय उत्पादनको पहिचान, उद्यम र व्यवसायीकरणका लागि आवश्यक तालिमहरू सञ्चालन गर्ने तयारीमा पालिका छ । नौमुलेमा लघु उद्यम सञ्चालन गर्न चालु आर्थिक वर्षमा ५० लाख बजेट छुट्याइएको छ ।
सल्यानको सिद्धकुमाख गाउँपालिकाले चालुु आर्थिक वर्षमा लघु उद्यम विकासका कार्यक्रममा जोड दिएको छ । पालिकाले लघुु उद्यम तथा उद्यमीको पहिचान गरेर सीपमुलक तालिम प्रदान गर्ने योजना बनाएको हो । त्यसका लागि अहिले साना तथा लघुु उद्यमीहरूको विवरण संकलनको कार्य सुरु गरिएको गाउँपालिकाका अध्यक्ष भरत गिरीले जानकारी दिए । ‘स्थानीयस्तरमा उत्पादन भएका कच्चा पदार्थको प्रशोधन बजारीकरणका लागि उद्योग स्थापना गर्न लागिएको छ,’ उनले भने, ‘उक्त कार्यक्रमका लागि पालिकाले केही बजेट छुट्याएको छ, संघीय सरकारसँग पनि सहयोग मागिएको छ ।’ पालिकाका नागरिकलाई स्वरोजगार बनाउन उद्यमको विकासलाई प्राथमिकता दिइएको अध्यक्ष गिरी बताउँछन् ।
प्रकाशित मितिः ७ माघ २०७९, शनिबार ०५:०२
साझा बिसौनी ।