प्रशासनको सेवामा ‘टाइम कार्ड’

सुर्खेत: जिल्ला प्रशासन कार्यालय सुर्खेतले सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउन ‘टाइम कार्ड’ लागू गर्ने भएको छ । प्रशासनले सूचना जारी गर्दै आगामी सोमवारदेखि सेवाग्राहीलाई ‘टाइम कार्ड’ उपलब्ध गराएर सेवा दिने जनाएको हो । प्रशासनले विभिन्न पाँच वटा शाखामार्फत् सम्पादन हुने सेवाको समय निर्धारण गरेको छ । जसअनुसार कार्यालयले पाँच वटा शाखाबाट सेवा दिने र सेवा लिँदा लाग्ने समयसमेत तोकेको छ । संघ–संस्था शाखाबाट संस्था नवीकरणका लागि सबै कागजात पुगेको अवस्थामा राजस्व बुझाएपछि काम सम्पन्न हुन ३० मिनेट लाग्ने जनाइएको छ । त्यस्तै, राहदानी शाखाबाट नयाँ राहदानी बनाउन एक घण्टा र विभागबाट प्राप्त राहदानी विवरणका लागि १५ मिनेट समय लाग्ने बताइएको छ । प्रशासन कार्यालयले नागरिकता प्राप्तिका लागि सबै कागजात पुगेको अवस्थामा एक घण्टाभित्र काम सम्पन्न हुने गरी ‘टाइम कार्ड’ लागू गर्न लागेको छ ।

त्यसैगरी, नाबालिकको परिचयपत्र र सबैखाले सिफारिसहरू एक घण्टाभित्र, हातहतियार नवीकरण ३० मिनेट, पेशी र तारेख दिने काम १५ मिनेट तथा अङ्ग पुगेको दुई महिनाभित्र फैसला गर्ने कार्य सम्पन्न गरिने प्रशासन कार्यालयको सूचनामा उल्लेख छ । सेवाग्राहीले सहज र सुलभ रूपमा सेवा लिने व्यवस्था मिलाउन ‘टाइम कार्ड’ लागू गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए । संघ–संस्था, राहदानी, प्रशासन, नागरिकता र मुद्दा फाँटबाट कार्यालयले विभिन्न सेवा प्रदान गर्नेछ । प्रजिअ रिजालका अनुसार अपाङ्गता भएका, अशक्त र ज्येष्ठ नागरिकलाई प्राथमिकताका साथ सेवा प्रदान गरिनेछ । सेवा प्रवाहका सम्बन्धी कुनै गुनासो भए तत्काल सहायक प्रमुख जिल्ला अधिकारी समक्ष राख्न मिल्ने व्यवस्था मिलाइएको प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी समक्ष गुनासो राख्नुपर्ने विशेष अवस्था आए प्रजिअको निजी सचिवालयमार्फत सहज पहुँचको व्यवस्था मिलाइएको प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रकाशित मितिः   ७ माघ २०७९, शनिबार ०५:०१