सिसी क्यामेरा सुधार

वीरेन्द्रनगरलाई प्रविधियुक्तनगरका रूपमाविकास गर्ने अवधारणा अघि सारिएको छ । सोहीअनुसार नगरको बजार क्षेत्रमा ‘स्मार्ट सिटी’का आधार तयार गर्न केहीवर्षयता विभिन्न निकायबाट प्रयासहरू थालिएका छन् । त्यसमध्येको एक हो, बजार क्षेत्र तथाउपत्यकाकामुख्यचोकमा सिसी क्यामेरा जडान । वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी सहर पनि भएकाले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै यहाँ सिसी क्यामेरा राखिएका थिए । अपराध अनुसन्धानमा सिसी क्यामेरा प्रभावकारी प्रविधि भएकाले सञ्चालनमा ल्याइए पनि त्यसको सदुपयोग हुन सकेको छैन । विभिन्न चरणमा गरी मुख्यचोक र बजार क्षेत्रमा जडान गरिएका अधिकांश क्यामेरा भने लामो समयदेखि बिग्रिएका छन् । मर्मत सम्भारमा ध्यान नदिँदा सिसी क्यामेरा बेबारिसे बनेका छन् ।

२०७३ सालमा पहिलो पटक सुर्खेत उद्योग वाणिज्य संघको पहलमा नगरमा सिसी क्यामेरा जडान सुरु गरिएको थियो । बजार क्षेत्रको निगरानी र नागरिकको सुरक्षाका लागि त्यतिबेला ३१ स्थानमा सीसी क्यामेरा जडान गरिएका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार मुख्य बजारसहित नगरका ९२ स्थानमा सिसी क्यामेरा जडान भएकोमा हाल तीमध्ये २८ वटाले मात्रै काम गर्छन् । ठूलो लगानीमा जोडिएका ६४ वटा क्यामेरा अहिले प्रयोगमा छैनन् । लामो समयदेखि लथालिङ्ग सिसी क्यामेराको मर्मतमा नगरपालिकाले खासै चासो दिएको छैन । बजारमा जडान गरिएका क्यामेराको नियन्त्रण कक्ष जिल्ला प्रहरी कार्यालयमा छ । प्रहरीका अनुसार अहिले २८ वटा क्यामेराको मात्रै कन्ट्रोल रुमबाट निगरानी हुन्छ । अरु क्यामेराको कन्ट्रोल रुमसँग कनेक्सन टुटेको छ । अधिकांश क्यामेरा बिग्रिएर काम नलाग्ने भइसकेका छन् । नगरका मुख्यचोकमा राखिएका क्यामेरासमेत बिग्रिएको अवस्थामा छन् । सुरक्षा दृष्टिकोणले संवेदनशील रहेको वीरेन्द्रनगरका विभिन्न ठाउँमा राखिएका क्यामेरा बिग्रदा चोरी, लुटपाट, दुर्घटना र विभिन्न अपराधको अनुसन्धानमा चुनौती हुने गरेको छ ।

‘स्मार्ट सिटी’ अवधारणामा रहेर विकास निर्माणको काम गरिरहेको दाबी गर्ने नगरपालिकाले त्यसका लागि बनेका संरचना र प्रविधिको उचित संरक्षण गर्न सकेको छैन । वीरेन्द्रनगरलाई आधुनिक प्रविधिसँग जोड्न सुरु गरिएका काम अलपत्र बनेका हुन् । ‘स्मार्ट सिटी’ का लागि सहरका क्रियाकलाप तथा गतिविधिलाई आधुनिक प्रविधिसँग जोड्नुपर्ने हुन्छ । जसअन्तर्गत वीरेन्द्रनगरलाई सीसी क्यामेराबाट निगरानी गर्नुपर्ने हो । तर त्यसो हुन सकेको छैन । नगरको बजार क्षेत्रलाई रातीमा पनि उज्यालो राख्न यसअघि पटक–पटक जडान गरिएका सोलार बत्तीको उस्तै हालत छ । केहीबाहेक धेरैजसो सोलार बत्ती अहिले प्रयोगमा छैनन् । नगरमा पछिल्लो पटक जडान गरिएका केही हाइमास लाइट पनि बिग्रिसकेका छन् । यसरी भएका प्रविधि र साधनको उपयोग गर्नुपर्नेमा बेवास्ता गर्नु सम्बन्धित निकायको गैरजिम्मेवारीपन हो ।

प्रकाशित मितिः   १ माघ २०७९, आईतवार ०५:०३