सभामुखमा गुरुङ र पोखे्रलको उम्मेदवारी

सुर्खेत: कर्णाली प्रदेशसभाको सभामुखका लागि नेकपा (एमाले) र नेपाली कांग्रेसले उम्मेदवारी दिएका छन् । एमालेले नन्दा गुरुङ र कांग्रेसले खड्गबहादुर पोख्रेललाई उम्मेदवार बनाएको छ । यी दुवै प्रदेशसभा सदस्य सुर्खेतका हुन् । उनीहरूले शनिवार प्रदेशसभा सचिवालयमा मनोनयन दर्ता गरेका छन् । सभामुखको निर्वाचन आज (आइतवार) हुँदैछ । सोही प्रयोजनका लागि दिउँसो १ बजे संसद् बैठक बोलाइएको छ । गुरुङ एमालेकी समानुपातिक सांसद हुन् भने पोख्रेल सुर्खेत निर्वाचन क्षेत्र नं. १ प्रदेशसभा ‘क’ बाट निर्वाचित भएका हुन् । प्रदेशसभाको अधिवेशनको पहिलो बैठक प्रारम्भ भएको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसैले कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालका लागि सभामुख र उपसभामुखको चयन प्रक्रिया थालिएको हो । कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम ७ बमोजिम दिउँसो १ बजे सभामुखको निर्वाचन हुनेछ । गएको सोमवार बसेको प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको दोस्रो बैठकले सभामुख चयनका लागि निर्वाचन मिति तोकेको थियो ।

शनिवार नै मतदाता नामावली प्रकाशन, उम्मेदवारको प्रस्ताव दर्ता, उम्मेदवारको नामावली प्रकाशन र उम्मेदवार उपर दाबी विरोधको कार्यतालिका थियो । आज उम्मेदवारको प्रस्ताव फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन र प्रदेशसभाको बैठक प्रारम्भ भइ मत विभाजन एवम् निर्वाचन परिणाम घोषणा हुनेछ । उपसभामुखको निर्वाचन भने सभामुखले तोकेको मितिमा गर्ने कानुनी व्यवस्था छ । प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले सभामुख चयन भइसकेपछि सम्भवतः भोली ‐माघ २) गते उपसभामुखको निर्वाचन हुने जनाए । सत्ता साझेदार दलको भागबन्डामा कर्णालीमा सभामुख नेकपा (एमाले) र उपसभामुख नेकपा ‐माओवादी केन्द्र) ले लिने सहमति भएको छ । प्रदेशसभाको अंकगणितअनुसार सभामुख एमालेले पाउने निश्चित प्रायः छ । प्रतिपक्षी दल कांग्रेसले उम्मेदवारी दर्ता गराए पनि सभामुख चुनिने सम्भावना न्यून छ । ४० सदस्यीय कर्णाली प्रदेशसभामा पाँच दलको प्रतिनिधित्व छ । जसमा सत्तारुढ गठबन्धनसँग २५ र कांग्रेससँग १४ सांसद छन् । त्यस्तै, एक जना स्वतन्त्र सांसद रहेका छन् । माओवादी केन्द्र नेतृत्वको सरकारलाई एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा ‐एकीकृत समाजवादी) को समर्थन छ । यस हिसाबले सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी गुरुङ्ग सभामुख चुनिने पक्कापक्कीजस्तै देखिन्छ । उनी सभामुख चयन भए प्रदेशसभाको इतिहासमै पहिलो महिला सभामुख बन्नेछिन् ।

सत्ता गठबन्धनकी साझा उम्मेदवार बनेकी गुरुङ्क सभामुख चुनिने पक्कापक्कीजस्तै छ । उनी चयन भए प्रदेशसभाको इतिहासमै पहिलो महिला सभामुख बन्नेछिन् ।

एउटा मात्रै उम्मेदवारी परेमा मत विभाजनमार्फत सभामुख निर्विरोध निर्वाचित हुने व्यवस्था छ । तर, दुई वा दुईभन्दा बढी उम्मेदवार बनेमा प्रत्येकलाई दर्ताको प्रस्तावका आधारमा प्रक्रियामा लैजाने व्यवस्था रहेको छ । दुई जनाको उम्मेदवारी परेकाले दर्ताको प्रस्तावका आधारमा सभामुख चयन प्रक्रिया अघि बढ्नेछ । कार्यतालिका अनुसार कर्णाली प्रदेशसभाले आजै दोस्रो कार्यकालका लागि सभामुख पाउनेछ । सभामुख चयन नभएकाले प्रदेशसभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले सभाअध्यक्षको भूमिका निर्वाह गर्दै आएकोमा उनी पनि बिहीवार मन्त्री नियुक्त भइसकेका छन् । अब उनले सभाध्यक्षको भूमिका निभाउन पाउने छैनन् । आजको संसद् बैठक दोस्रो बरियताका जेष्ठ सदस्य हिक्मतबहादुर विष्टले सञ्चालन गर्ने प्रददेशसभा सचिवालयले जनाएको छ ।

प्रकाशित मितिः   १ माघ २०७९, आईतवार ०५:०२