रोजगारी बढाउने प्रयास

बेरोजगारी समस्या व्याप्त छ । रोजगारीका पर्याप्त अवसर छैनन् । जसले गर्दा गरिबी पनि व्याप्त छ । गरिबी र बेरोजगारी समस्या समाधानका लागि पनि पर्याप्त प्रयास भएका छैनन् । यद्यपि, पछिल्लो समय स्थानीय सरकारले केही सकारात्मक प्रयास भने थालेका छन् । स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्न लगानी बढाएका छन् । यसका लागि अनुदानदेखि सीपमूलक तालिमसम्मका खर्च गर्न थालिएको छ । बेरोजगारी समस्या बढ्न थालेपछि पछिल्ला वर्षहरूमा स्थानीय सरकारले यसको न्यूनीकरणमा चासो दिएका छन् । पालिकाहरूले वार्षिक नीति, कार्यक्रम र बजेटमा यस्ता कार्यक्रमलाई प्राथमिकता दिनुका साथै प्रदेश र संघीय सरकारसँग पनि पहल गर्दै आएका छन् ।

सल्यानको शारदा नगरपालिकाले दक्ष जनशक्ति उत्पादन गर्न विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । पालिकाले प्लम्बर तालिमदेखि लोक सेवामा प्रतिस्पर्धा गर्ने विद्यार्थीका लागि निःशुल्क तयारी कक्षाको व्यवस्था गरेको छ । महिलाहरूलाई आय–आर्जनका गतिविधिमा जोड्न सीपमूलक तालिम र स्वरोजगारका अवसरहरू सिर्जना गरिएका छन् । शारदा नगरपालिकाले चालु आर्थिक वर्षको यो अवधिमा ६० जना विद्यार्थीलाई लोक सेवाको तयारी गर्न आार्थिक सहयोग गरेको हो । नगरपालिकाले बेरोजगारी समस्या र बढ्दो सहरीकरणलाई मध्यनजर गर्दै पाइपको काम गर्ने तथा टायल र मार्वल लगाउने मिस्त्रीको सीप सिकाउन विभिन्न चरणका तालिम सञ्चालन गरेको छ । नगरले युुवा, विपन्न र सीमान्तकृत समुदायलाई लक्षित गरी थुप्रै कार्यक्रम सञ्चालन गरिरहेको छ । त्यस्तै, रोजगारीका लागि विदेशीने मनस्थितिमा रहेका युुवाहरूलाई गाउँमै रोक्न सीपमूलक तालिमहरू प्रदान गरिएको छ । तालिमहरू सञ्चालन भइरहेको र सीप सिके पश्चात रोजगारीको सुनिश्चितता गरिने नगरपालिकाले जनाएको छ । सल्यानकै दार्मा गाउँपालिकाले सीप विकास गरेर त्यसलाई उद्यममा रूपान्तरण गर्ने लक्ष्य राखेको छ । चालु वर्षमा स्वरोजगारमूलक विभिन्न कार्यक्रमका लागि पालिकाले ४० लाख बजेट छुट्याएको छ । कृषि तथा पशुुजन्य उत्पादनमा आधारित भैसी पालन र दुध डेरी सञ्चालनमा अनुदानका कार्यक्रम सञ्चालन गरिएका छन् । यी त उदाहरण हुन् । प्रदेशका थुप्रै पालिकाहरूले यस्ता योजना कार्यान्वयन गरिरहेका छन् ।

कर्णाली प्रदेशका अधिकांश पालिकामा सीप विकास, स्वरोजगार र रोजगारीका अवसर सिर्जना गर्न थुप्रै कार्यक्रमहरू भइरहेका छन् । प्रदेशमा अहिले पनि बेरोजगार समस्या ठूलो छ । रोजगारीका लागि भारतलगायत तेस्रो मुलुक जाने युवाहरूको संख्या अधिक छ । स्थानीय सरकारले रोजगारमूलक कार्यक्रम सुरु गरेसँगै केही युवाहरूलाई राहत मिलेको छ । रोजगार तथा स्वरोजगारमूलक कार्यक्रमको माग बढी भएपनि पालिकासँग सोही अनुसारको पर्याप्त स्रोत नहुँदा सबै लक्षित वर्ग भने समेटिन सकेका छैनन् ।

प्रकाशित मितिः   २७ पुष २०७९, बुधबार १०:३५