वीरेन्द्रनगरमा प्रदर्शनी मेला हुँदै
सुर्खेत: वीरेन्द्रनगरमा दोस्रो राष्ट्रिय औद्योगिक व्यापार, कृषि तथा नविनतम् प्रविधि प्रदर्शनी मेला हुने भएको छ । कर्णालीका लघु घरेलु उद्योगको बजार प्रवद्र्धन एवम् रोजगारी सिर्जना गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेशले आउँदो माघ १३ गतेदेखि २१ गतेसम्म मेला आयोजना गर्न लागेको हो । मेलाले प्रदेशका महिला उद्यमीहरूले उत्पादन गरेको वस्तु तथा सागम्रीहरूको बजारीकरणमा टेवा पुग्ने अपेक्षा लिइएको प्रदर्शनी मेला आयोजक समितिका संयोजक चन्द्रबहादुर विसीले बताए । आयोजक समितिले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी मेलाबारे जानकारी गराएको हो ।
आयोजकका अनुसार प्रदर्शनी मेलामा झन्डै तीन सय स्टलहरू रहनेछन् । ती स्टलहरूमा लघु, घरेलु तथा साना उद्यमीहरूले तयार गरेका गलैँचा, राडीपाखी, पश्मिनाका वस्तुहरू, ऊनी लिउ, फेरुवा, अल्लो तथा गाँजाबाट बनेका कपडाहरू, ढाका, पोते, काठ, ढुङ्गा, धातु कला, सेरामिक्स, भाँडाकुँडाहरू, बास र बेतबाँसबाट तयार गरिएका वस्तुहरूको प्रदर्शनी गरिनेछ । मेलाको झन्डै पाँच लाख दर्शकले अवलोकन गर्ने आकलन गरिएको आयोजक समितिका संयोजक विसीले बताए । मेला तथा प्रर्दशनीबाट करिब चार करोड रूपैयाँको कारोबार हुने अपेक्षा गरिएको छ । मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको साँस्कृतिक प्रस्तुती पनि रहनेछ ।
प्रकाशित मितिः २७ पुष २०७९, बुधबार १०:३४
साझा बिसौनी ।