इजाजतविनै क्रसर उद्योग

सुर्खेत: लेकवेशी नगरपालिकामा सञ्चालित क्रसर उद्योगको मंगलवार अनुुगमन गरिएको छ । पालिकाको वडा नं. १, ८ र ९ मा तीन वटा क्रसर उद्योग अवैध रूपमा सञ्चालन गरिएको पाइएको छ । मापदण्डविपरीत सञ्चालन भएका क्रसर उद्योगहरूको अनुगमन गरिएको हो । वडा नं. ९ मा रहेको देउती बालुवा प्रशोधन उद्योग, वडा नं. ८ मा रहेको पञ्चकोशी बालुवा प्रशोधन उद्योग र वडा नं. १ मा सञ्चालित भेरी बालुुवा प्रशोधन उद्योगको अनुगमन गरिएको थियो । तीन उद्योग प्रचलित कानुन र मापदण्डविपरीत अनुमति नलिइ सञ्चालनमा रहेको पाइएको जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले बताए । ‘अनुगमनमा जाँदा कतै सञ्चालक भेटिएनन्, कतै कागजपत्र, यसरी सञ्चालनमा रहेका उद्योगहरूलाई थप प्रक्रियाका लागि सम्बन्धित पालिकालाई जिम्मा दिइएको छ,’ उनले भने । ती उद्योगहरूलाई अघिल्लो पटक पनि अनुुगमन गरी बन्द गर्न भनिएको थियो । अवैध उद्योगहरू अटेरी गरी पुनः सञ्चालन भएको पाइएको सुनारले बताए । उनका अनुसार सुर्खेतमा ११ वटा इजाजत विनै सञ्चालनमा आएका उद्योगहरू छन् । अघिल्ला वर्षहरूमा कारबाहीको सिफारिसमा परेका र दर्ता भएका उद्योगहरूको विवरणको खोजीमा समन्वय समिति लागेको सुनारले जनाए ।

इजाजतविना सञ्चालन भएका उद्योगहरूको अनुुगमन पश्चात् कारबाहीको प्रक्रिया अघि बढाइने सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए । उनले भने, ‘इजाजतविनै अस्थायी तथा स्थायी प्रयोजनका लागि उद्योग सञ्चालन भएको पाइयो, प्रकृति हेरेर कारबाही प्रक्रिया अघि बढाइनेछ ।’ जिल्लाभर अवैध तरिकाले सञ्चालनमा रहेका सबै क्रसर उद्योगको अनुगमन गर्ने र अनुुगमनको प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अघि बढाइने उनको भनाइ छ । आधिकारिक उद्योग सञ्चालक अनुगमनको क्रममा नभेटिएकाले सम्पर्कमा ल्याउनका लागि आवश्यक प्रक्रियाको थालनी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

गत वर्ष स्थानीय तहहरूले ताकेता गर्दा अवैध कतिपय उद्योगहरू केही महिना बन्द भएका थिए । लेकवेशीमा भने नगरपालिकाले पटक–पटक सचेत गर्दासमेत क्रसर उद्योगहरूले अटेरी गरेको नगर प्रमुख उमेशकुमार पौडेल बताउँछन् । ‘रोयल्टी नतिरेको, समुुदायलाई असर परेको, आधिकारिक व्यक्ति र कागजात अनुुगमनका क्रममा नभेटिने गरेको छ,’ उनले भने । उनका अनुसार मंगलवार अनुगमन गर्दा आधिकारिक सञ्चालक भेटिएका थिएनन् । दिनमा उद्योग बन्द गरेजस्तो गर्ने र रातीमा सञ्चालन गर्ने गरिएको भन्दै पौडेलले प्रशासनलाई यसबारे धेरै पटक जानकारी गराइएको बताए । पालिकासँग अनुगमन तथा नियमनको उचित किसिमको संयन्त्र नहुुँदा कारबाही प्रक्रिया अघि बढाउनसमेत चुनौती रहेको उनको भनाइ छ ।

लेकवेशीमा दर्ता तथा नवीकरण नगरी सञ्चालनमा रहेका उद्योगहरूले रातीको समयमा ढुङ्गा, गिट्टीहरूको लुकीछीपि उत्खनन् तथा प्रशोधन गरिरहेको नगरपालिकाले जनाएको छ । नगरका अनुसार विकास आयोजना तथा निर्माणको प्रयोजनका लागि सञ्चालित भएका र आयोजना समाप्तिपछि पनि सञ्चालनमै रहेका उद्योगहरू यहाँ छन् । त्यस्ता उद्योग पालिकाले सूचना जारी गरेरसमेत बन्द गर्न भनिरहेको छ । उद्योग सञ्चालकको अटेरीका कारण पालिकाले टुलुटुलु हेर्नुको विकल्प नभएको नगरपालिकाका अधिकारीहरू बताउँछन् ।

यस्तै, बराहताल गाउँपालिका वडा नम्बर–२ थापाडेरादेखि डोप्कासम्म चार वटा क्रसर उद्योग इजाजत विनै सञ्चालनमा रहेका छन् । अवैध उद्योगको सञ्चालनले कटान क्षेत्र भेरी नदी किनारको बस्ती थप जोखिममा छ । नियमविपरीत सञ्चालनमा आएका उद्योग बन्द गर्न भनिएको गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारीले बताए । उनले भने, ‘आठ महिनादेखि उत्खनन् बन्द भएको छ, अहिले निकालिएको सामान मात्र बिक्री भइरहेको हो ।’ नियमविपरीत सञ्चालनमा आएका क्रसर उद्योग बन्द गर्ने पक्षमा पालिका रहेको उनले बताए ।

प्रकाशित मितिः   २७ पुष २०७९, बुधबार १०:३७