मुख्यमन्त्री शाहीका १४ महिना

उल्लेख्य उपलब्धि भएको दाबी

सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो कार्यकाल सकिनुअघि मंगलवार प्रदेशवासीको नाममा सम्बोधन गरेका छन् । जिम्मेवारी छोड्दै गर्दा मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा उनले आफूले नेतृत्व सम्हालेयता भए गरेका प्रगतिको फेहरिस्त सुनाएका छन् । २०७८ कार्तिक १६ गते कर्णाली सरकारको मुख्यमन्त्रीमा नियुक्त शाहीले १४ महिना प्रदेशको नेतृत्व गरे । यो चार सय ३५ दिनको अवधिमा सरकारले सार्वजनिक प्रशासनमा सुधार गर्दै सेवा प्रवाहमा प्रभावकारिता कायम गरेको उनको दाबी छ । कर्णाली विकासको मार्गचित्र ‘छ ब’ को परिकल्पनाकारसमेत रहेका शाहीले प्रदेशको कामकारबाही र विकासको मोडेललाई ‘ब्राण्डिङ्ग’ गरिएको जिकिर गरेका छन् । उनले कार्यकालमा दुई वटा निर्वाचन भएकाले निर्वाचन आचारसंहिताका कारण अपेक्षित काम गर्न नसकेको भन्दै आफ्नो बचाउ गरे ।

‘छोटो समयमात्रै जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त भएपनि मेरो नेतृत्वमा देखिने गरेर केही परिवर्तन भएको छ,’ उनले भने, ‘अवरुद्ध विकास पूर्वाधारहरूको निर्माण र ‘६ ब’ को कार्यान्वयनमा मेरो प्राथमिकता रह्यो ।’ सुशासन, सामाजिक सुरक्षा, कानुन निर्माण र स्थानीय तहसँगको समन्वयलगायतका क्षेत्रमा महŒवपूर्ण काम गरेको शाहीको दाबी छ । उनले आफ्नो कार्यकालमा संसद्बाट १२ वटा विधेयक पारित गर्नुका साथै विभिन्न कार्यविधि र निर्देशिकाहरू तर्जुमा गरिएको जनाए । उपलब्धि विवरण सार्वजनिक गर्दै सरकारले यस अवधिमा मन्त्रिपरिषद्का ४४ वटा बैठकबाट एक सय २६ वटा निर्णय गरिएको उल्लेख गरे । मुख्यमन्त्री शाहीले प्रदेशमा ठूलो चुनौतीका रूपमा रहेको जनशक्ति व्यवस्थापनमा पनि जोड दिइएको बताए । कर्मचारी अभावलाई पूर्ति गर्न हालसम्म पाँच सय ९० कर्मचारी नियुक्तिका लागि प्रदेश लोक सेवा आयोगलाई सिफारिस गरिएको उनको प्रगति विवरणमा जनाइएको छ । मुख्यमन्त्री शाहीले पाँच वर्षअघि प्रदेशसभामा कर्णालीको विकास र समृद्धिका लागि ‘६ ब’ (वन, बाटो, बजार, बिजुली, विचार र व्यवस्थापन) को अवधारणा राखेका थिए । उनी त्यतिबेला प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलको नेता थिए । शाही आफू मुख्यमन्त्री भएपछि सोही अवधारणालाई सरकारको नीति, कार्यक्रम र बजेटमा समावेश गरे । नीति तथा कार्यक्रममा यो विषयले प्राथमिकता पाए पनि बजेट कार्यान्वयनमा भने अवधारणाअनुरूप अनुभूति हुनेगरी प्रगति नदेखिएको भन्दै उनको आलोचना हुने गरेको छ । सडक पूर्वाधार केन्द्रित बजेटमा जोड दिएका उनले प्रदेश राजधानीका सडक तथा संरचना निर्माणमा बेवास्ता गरेको आरोप लाग्दै आएको छ । लामो समयदेखि हरेक सरकारी तथा सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री शाहीले ‘६ ब’ को विकास मोडेल सुनाउने गरेका थिए । यद्यपि, यो मोडलबारे प्रदेशका उच्च पदस्थ कर्मचारीहरू नै अनभिज्ञ रहेको मुख्यमन्त्री कार्यालयका एक अधिकारी बताउँछन् । उनी भन्छन्, मुख्यमन्त्रीले आफूले अघि सारेको विकास मोडेल मातहतका निकायलाई राम्ररी बुझाउन सक्नु भएन, जसले गर्दा नीति–कार्यक्रममा समेटिए पनि त्यसको कार्यान्वयनमा अपेक्षित प्रगति देखिएन ।’

१७ किलोमिटर सडक कालोपत्रे

मुख्यमन्त्री शाहीले आफू मुख्यमन्त्री भएयता कर्णालीमा १७ किलोमिटर सडक कालोपत्रे भएको प्रगति विवरणमा उल्लेख गरेका छन् । सरकारको उपलब्धि विवरणमा एक सय १३ किलोमिटर सडकखण्ड ग्राभेल तथा ६ सय २२ किलोमिटर कच्ची सडक निर्माण भएको जनाइएको छ । मुख्यमन्त्री शाहीले प्रदेश राजधानीका सडकहरूको स्वरूप परिवर्तन गरिएको दाबीसमेत गरेका छन् । यस अवधिमा प्रदेशभर १३ वटा झोलुङ्गे पुल, आठ वटा सडक पुल निर्माण, एक हजार पाँच सय ७१ जनताको लागि आवास निर्माण र एक सय एक वटा विभिन्न घरहरू निर्माण भएको मुख्यमन्त्री शाहीले बताए । ‘कर्णालीमा एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गत पाँच सय नौ वटा घर निर्माण भएका छन्,’ उनले भने, ‘प्रदेशको जडिबुटी उत्पादनको प्रचुर सम्भावनालाई मध्यनजर गर्दै विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम अघि बढाइएको छ ।’ प्रगति विवरणमा ६ करोडभन्दा बढीको जडिबुटी प्रदेश बाहिर निकासी भएको उल्लेख छ । उनले प्रदेशका विभिन्न ठाउँमा पर्यापर्यटकीय पूर्वाधार विकासको लागि बहुवर्षीय आयोजना स्वीकृत भइ कार्यान्वयनमा गएको बताएका छन् ।

आफ्नो कार्यकालमा प्रदेश सरकारले विद्युतमा शेयर लगानी गरेको मुख्यमन्त्री शाहीले बताए । जगदुल्ला हाइड्रोपावर कम्पनीमा ११ करोड ७१ लाख ५० लाखको शेयर लगानी गरिएको, प्रदेश सरकारको १० प्रतिशत लगानी र बाँकी वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँगको साझेदारीमा आठ वटा सोलार मिनीग्रिड र डोल्पामा सात सय ५० किलोवाटको आँखेखोला जलविद्युत आयोजना कार्यान्वयन भइरहेको उनले जानकारी दिए । दैलेखको पराजुली खोलामा निर्माणाधीन चार मेगावाटको रारा हाइड्रोपावरमा पाँच करोड शेयर लगानी गर्ने प्रतिबद्धता रहेको उनले जनाए । यस्तै, विगतमा एकमुष्ट रूपमा बजेट तथा कार्यक्रम विनियोजन गर्ने र प्रदेशसभालाई जानकारी नगराइ सरकारले आफू खुसी बजेट वितरण गर्ने प्रवृतिलाई निरुत्साहित गरेको मुख्यमन्त्री शाहीको दाबी छ । आफू नेतृत्वमा आएपछि सरकारले तीन सय ९४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको, एक सय सामुदायिक विद्यालयमा स्वास्थ्यकर्मी परिचालन गरिएको पनि उनले जनाए । प्रदेशको स्थापना भएसँगै हालसम्म सामुदायिक विद्यालयमा तीन सय १६ कक्षा कोठा निर्माण गरेर १२ हजार बढी विद्यार्थीहरूलाई पक्की भवनमा अध्ययन गर्ने व्यवस्था मिलाइएको उपलब्धि विवरणमा उल्लेख छ ।

स्वास्थ्य सूचकका सुधार

शाहीले आफ्नो कार्यकालमा कर्णाली प्रदेशको स्वास्थ्यका सूचकहरूमा पनि व्यापक सुधार भएको जिकिर गरेका छन् । विशेष गरेर कर्णालीमा खोप, परिवार नियोजन, सुरक्षित मातृत्व, बालरोग व्यवस्थापन, महामारी रोग नियन्त्रण र उपचारात्मक सेवाका सूचकहरूमा सुधार आाएको उनको दाबी छ । ‘पूर्णखोप कभरेज ७४ प्रतिशतबाट ९० प्रतिशत पुगेको छ,’ शाहीले भने, ‘यसलाई हामीले ठूलो उपलब्धिका रूपमा हेरेका छौँ ।’ कर्णालीमा आठ वटा जिल्ला पूर्णखोप घोषणा भइसकेको उल्लेख गर्दै हुम्ला र डोल्पा पनि प्रक्रियामा रहेको उनले जनाए । प्रदेशमा मातृमृत्यु संख्या २१ बाट १७ प्रतिशतमा पुगेको, स्वास्थ्य संस्थामा प्रसूति जाँच गर्ने महिलाहरूको संख्या ४० प्रतिशतबाट बढेर ६५ प्रतिशतमा पुगेकोलाई उनले आफ्नो कार्यकालको उपलब्धिका रूपमा लिएका छन् । प्रदेश सरकारले कोरोना भाइरस ‐कोभिड–१९) विरुद्धको खोप सेवालाई प्रभावकारी बनाइएको दाबी गरिएको छ । त्यस्तै, कूल जनसंख्याको ८५ प्रतिशतले कोरोना विरुद्धको दोस्रो मात्राको खोप लगाएको सरकारको विवरणमा उल्लेख छ । १८ वर्षभन्दा माथिका ७० प्रतिशत, १२ वर्ष माथिका ७४ प्रतिशत र दोस्रो मात्रा खोप लगाएका ३७ प्रतिशत जनसंख्याले अतिरिक्त ‐बुष्टर डोज) लगाइसकेको बताइएको छ ।

प्रदेश सरकारले १० जना चिकित्सक र अन्य प्राविधिक क्षेत्रका ६० जना विद्यार्थीलाई अध्ययनका लागि प्रदेशमा न्यूनतम् दुई वर्ष काम गर्नेगरी प्राविधिक उच्च शिक्षा उपलब्ध गराइएको जनाएको छ । कर्णालीमा प्रादेशिक सरुवा रोग अस्पताल निर्माणको लागि जग्गावापत लाग्ने दुई करोड ८९ लाख ५० हजार दुई सय ४० रूपैयाँ उपलब्ध गराएको मुख्यमन्त्री शाहीले जानकारी दिए । उनले सरकारले कृषि व्यवसायीकरण र आधुनिकरणमार्फत रोजगारी सिर्जना गर्ने उद्देश्यले ब्याज अनुदान उपलब्ध गराएको र एक हजार दुई सय २७ जनाले कर्जा सुविधा लिइसकेको उल्लेख गरे । कृषकहरूलाई प्रोत्साहन, गरिब तथा सीमान्तकृत समुदायको विकास र आर्थिक आयआर्जनमा टेवा पु¥याउन विभिन्न कार्यक्रम सञ्चालन गरिएको बताइएको छ । आफ्नो कार्यकालमा प्रदेशभर एक सय ४२ कृषि तथा पशुपन्छी ब्लकहरूको स्थापना भएको मुख्यमन्त्री शाहीले जानकारी दिए । आफ्नो कार्यकालमा खेलकुद क्षेत्रलाई पनि उच्च प्राथमिकताका साथ अघि बढाएको बताएका उनले प्रदेश रंगशालाको पूर्वाधारको काम ३३ प्रतिशत र समग्र ५० प्रतिशत काम सम्पन्न भएको जनाएका छन् । उनका अनुसार प्रदेशका अन्य जिल्लामा खेलकुद पूर्वाधारको काम धमाधम भइरहेको छ ।

प्रकाशित मितिः   २७ पुष २०७९, बुधबार १०:३९