कर्णाली विद्युतिकरण

कर्णाली प्रदेशमा पर्याप्त विद्युत विस्तार हुन सकेको छैन । सबै जिल्ला विद्युतको राष्ट्रिय प्रसारण लाइनमा समेत जोडिन सकेका छैनन् । अधिकांश जिल्लाको सदरमुकामसम्म विद्युत विस्तार भएपनि त्यसबाहेकका क्षेत्र अँध्यारोमै छन् । विद्युतको सहज पहुँच नहुँदा यहाँ विकास अन्य पूर्वाधार निर्माण र विस्तारमा समेत समस्या भइरहेको छ । जसका कारण कर्णाली प्रदेशमा विकासमा पछि परेको छ । यति हुँदाहुँदै पनि कर्णालीको विद्युतिकरणमा गति आउन सकेको छैन । ढिलाइ भइरहेको छ । राज्यले गम्भिरतापूर्वक लिएको छैन । मुलुकमा तीन तहका सरकार बनेर कार्यान्वयमा आइसक्दा पनि कर्णाली विद्युतीकरणको गति बढ्न नसक्नु यहाँको विडम्बना हो । यसले यहाँको विकासलाई थप पछि धकेलिरहेको छ ।

विद्युतिकरणका लागि प्रयास नै नभएका भने होइनन् । तर त्यस्ता प्रयासहरू प्रभावकारी भइरहेका छैनन् । प्रदेश सरकार बनेसँगै कर्णाली विद्युतिकरणको योजनालाई प्राथमिकताका साथ घोषणा गरियो । ‘कर्णाली उज्यालो कार्यक्रम’ नाम दिइएको प्रदेश सरकारको योजना कार्यान्वयनमा ढिलाइ भएको छ । कार्यविधि निर्माण नगरिँदा चालु आर्थिक वर्षको कार्यक्रम अलपत्र परेको हो । यो कार्यक्रमका लागि जलस्रोत तथा उर्जा विकास मन्त्रालयले चालु आर्थिक वर्षका लागि दश करोड बजेट विनियोजन गरेको छ । कार्यान्वयनका लागि स्पष्ट कार्यविधि नहुँदा दोस्रो चौमासिकसम्म पनि अन्योल कायमै छ । गत आर्थिक वर्षसम्म मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सञ्चालन हुँदै आएको उक्त कार्यक्रम यो वर्षदेखि जलस्रोत तथा उर्जा विकास मन्त्रालय मातहतमा लगिएको छ । कार्यक्रम मन्त्रालयलाई हस्तान्तरण भएपनि कार्यान्वयन कसरी गर्ने भन्ने अन्योल रहेको मन्त्रालयका अधिकारीहरू बताउँछन् । यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले छुट्टै कार्यविधि बनाएर कार्य सञ्चालन गरेको थियो । जलस्रोत तथा उर्जा विकास मन्त्रालय मातहत आएपछि सोहीअनुरूपको कार्यविधि निर्माण गर्नुपर्नेमा त्यसो हुन नसकेको हो ।

योजनाअनुसार यतिबेलासम्म रकम जिल्लाहरूमा गएर कार्यक्रम कार्यान्वयन गरिसक्नुुपर्ने हो तर कार्यविधि नै नबन्दा काम नै ठप्प भयो । कार्यान्वयनमा जानुपर्ने समयसम्म कार्यविधि नै नबन्दा कार्यक्रमको औचित्यमाथि नै प्रश्न उठन थालेको छ । यसैबीच यसअघि मुख्यमन्त्री कार्यालयले बनाएको कार्यविधि संशोधन र परिमार्जन गरिँदैछ । नयाँ ढङ्गले कार्यविधि बनाएर कार्यक्रमलाई थप व्यवस्थित गर्न खोजिएको बताइएको छ । ‘कर्णाली उज्यालो कार्यक्रम’ कर्णाली विद्युतिकरणका लागि प्रभावकारी योजना सावित हुन सक्दछ । त्यसैले यसको कार्यान्वयनमा सरकार गम्भिर हुन जरुरी छ । समयमै कार्यविधि निर्माण गरेर कार्यान्वयनमा ध्यान दिन सके कर्णालीलाई उज्यालो बनाउने योजनाले पूर्णता पाउनेछ ।

प्रकाशित मितिः   १९ पुष २०७९, मंगलवार ०५:०३