प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन: समृद्धिका लागि एकताको सन्देश

सुर्खेत: कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन सोमवारदेखि सुरु भएको छ । पहिलो बैठकमा प्रदेशभामा प्रतिनिधित्व गर्ने दल तथा प्रदेशसभा सदस्यहरूले आफ्ना धारणा राखेका छन् । उनीहरूले कर्णालीको विकास र समृद्धिका लागि साझा धारणा बनाएर अघि बढ्नुको विकल्प नभएको बताएका छन् । पाँच वर्षे कार्यकालभरी संघीयता र प्रदेश संरचनाको औचित्य पुष्टि गर्नेगरी एकजुट भएर काम गर्ने प्रदेशसभा सदस्यहरूले प्रतिबद्धता जनाए । पहिलो बैठकमा दलीय धारणा राख्दै नेताहरूले यहाँको गरिबी र पछौटेपन हटाउन संयुक्त पहल आवश्यक रहेको औंल्याए । कर्णाली विकासका लागि संसद्मा पक्ष–विपक्ष नभएर एक मतका साथ लाग्नुपर्ने उनीहरूको सन्देश छ ।
कर्णाली सरकारका मुख्यमन्त्री एवम् नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कर्णालीको विकासका लागि एकमत भएर अघि बढ्नुपर्ने धारणा राखे । उनले आफूहरूको विपक्षी अरु कोही नभइ प्रदेशमा ब्याप्त गरिबी भएको बताए । त्यसविरुद्ध एक ढिक्का हुनुपर्ने बताउँदै शाहीले भने, ‘कर्णालीको विपक्षी भनेको रोग, भोग, अशिक्षा र पछौटेपन हो । देशको राजनीति जस्तोसुकै परिस्थिति र बाटोमा जाहोस् तर कर्णालीको समग्र विकासका लागि हामी सबैले एक भएर बोल्नुपर्छ ।’ शाहीले जनताले अनुभूति गर्नेगरी काम गर्नुपर्नेमा जोड दिए । ‘हामीहरू विधायकको रूपमा रहेका छौँ, जनमैत्री कानुन निर्माण गर्न नसके कर्णालीलाई राम्रो बनाउन सकिदैन,’ उनले भने, ‘जनताको पक्षमा रहेर यिनिहरूले लुछाचुँडी गरेका छैनन्, राम्रो काम गरेका छन् भन्नेगरी अनुभूति दिलाउन आवश्यक छ ।’

प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको प्रथम बैठकलाई सम्बोधन गर्दै नेकपा ‐एमाले) कर्णाली प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेलले पनि विकास र परिवर्तनका निम्ति एकढिक्का हुनुपर्ने बताए । कर्णालीवासीमा सकारात्मक सन्देश दिने गरी आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा कँडेलको जोड छ । अहिले प्रदेश संरचनाको आवश्यकता छ कि छैन भन्ने प्रश्नहरू उठिरहेको उल्लेख गर्दै नेता कँडेलले प्रदेशको औचित्य, आवश्यकता र महŒव पुष्टि गर्ने जिम्मेवारीसमेत आफूहरूको काँधमा आएको जनाए । उनले भने, ‘हामीले प्रतिनिधित्व गर्ने प्रदेश संरचनाको मर्यादा, महŒव र औचित्य पुष्टि गर्ने चुनौती हाम्रो काँधमा आएको छ । हाम्रा विचार भिन्न होलान्, भूमिका र जिम्मेवारी फरक होलान् तर मूल मुद्दामा एकजुट भएर काम गर्नुपर्ने छ ।’ कँडेलले प्रदेशसभा सदस्यहरूको भूमिका प्रभावकारी हुन नसके यस्ता प्रश्न उठाउनेहरूलाई थप बल पुग्नेतर्फ सचेत गराए । विगतमा सरकार र संसद्बाट भएका कमीकमजोरीहरूको समीक्षासमेत गर्नुपर्ने धारणा राखेका उनले कर्णाली बनाउनेभन्दा आफू कसरी बन्ने भन्ने प्रवृत्ति हाबी हुँदा जनतामा निराशा देखिएको बताए । कर्णालीको समग्र विकासका लागि सकारात्मक हिसाबले अघि बढ्ने र प्रदेशको औचित्य सावित गर्ने कुरामा एमालेको समर्थन र भूमिका रहने उनको प्रतिबद्धता थियो । नेता कँडेलले विकास खाने मनोविज्ञान बदल्ने गरी योजना छनोट गर्न सोहीअनुरूपका नीति निर्माण गरिनुपर्नेमा जोड दिएका थिए ।

नेकपा ‐माओवादी केन्द्र) कर्णाली प्रदेशसभा संसदीय दलका नेता राजकुमार शर्माले कर्णालीको गरिबी प्रतिपक्ष रहेको भन्दै यसका विरुद्ध सबै लाग्नुपर्ने बताए । उनले भने, ‘कर्णालीको प्रतिपक्ष, दुश्मन वा सत्रु जे भनौँ त्यो गरिबी नै हो, गरिबीका विरुद्धमा लड्न साझा अवधारणा चाहिएको छ ।’ उनले जनताले आशा र भरोसाका साथ निर्वाचित गराएको बताउँदै जनताप्रति जवाफदेही भएर काम गर्नुपर्ने धारणा राखे । नेता शर्माले नीति, विधि र त्योअनुसारको कार्यशैली अवलम्बन गर्न जरुरी रहेको औंल्याए । कर्णालीलाई सुनको डल्लोको बिम्बका रूपमा प्रयोग गरेका उनले यसलाई गहनाको रूपमा परिवर्तन गर्न दक्ष र सिपालु कालिगढका रूपमा सबै उभिएर अघि बढ्नुपर्ने उल्लेख गरे । बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रदेशसभा सदस्य सन्तोषी शाहीले जनताको सेवा र समग्र विकासका लागि एकढिक्का भएर लाग्नुपर्ने बताइन् । दलीय धारणा राख्दै उनले भनिन्, ‘देशमा परिवर्तनका लागि भएका आन्दोलनहरू सम्झौतामा मात्र टुंगिएका छन्, अस्थिरताले गाँजेको छ, हिन्दुराष्ट्र पुनस्र्थापनाका लागि आग्रह गर्छु ।’ संसद्मा आफ्नो दलका एजेन्डालाई प्राथमिकता दिँदै उनले जनताको सेवा र समग्र विकासका लागि एकजुट हुनसमेत अनुरोध गरिन् ।

नेकपा ‐एकीकृत समाजवादी) की प्रदेशसभा सदस्य कल्याणी खड्काले पनि सुन्दर र नमूना कर्णाली निर्माणका लागि एक हुनुको विकल्प नरहेको बताइन् । ठूलो बलिदान र संघर्षबाट प्राप्त अहिलेको व्यवस्थामाथि प्रश्न उठिरहेको भन्दै खड्काले यसको औचित्य पुष्टि गर्नेगरी आफूहरूको भूमिका संसक्त हुनुपर्ने औंल्याइन् । उनले भनिन्, ‘समयानुकूल नीति बनाउने, संशोधन गर्ने र नमूना कर्णालीको परिकल्पनासहित समग्र विकासमा ध्यान दिनुपर्ने हुन्छ, हामी जनताको हित र समृद्धिको एजेन्डा केन्द्रित हुनुपर्छ ।’ कर्णाली प्रदेशसभाका स्वतन्त्र सदस्य देवेन्द्रबहादुर शाहीले कर्णाली बनाउन सहमति र सहकार्य जरुरी रहेको धारणा व्यक्त गरे । अब भाषण गरेर कर्णाली समृद्ध नहुने भन्दै उनले त्यसका लागि काम गर्नुपर्ने बताए । ‘भाषण गरेर समृद्धि हुँदैन, भाषण त कति भए भए,’ उनले भने, ‘सहमति र सहकार्य गरेर अघि बर्ढाैँ ।’ विकासका योजनामा देखिएका बेथिति हटाउन आवश्यक रहेको बताएका शाहीले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्ने जनाए । कर्णालीले स्रोत र साधन समयमै सदुपयोग गर्न नसक्दा गरिब र अभावमा बिताउनुपर्ने भएको धारणा राखेका प्रदेशसभा सदस्यहरूले सबै मिली यसलाई चिर्नुपर्नेमा जोड दिए । कर्णालीको अवस्था परिवर्तन नभएको गुनासो गर्ने ठाउँ अब नरहेको बताएका उनीहरूले आगामी पाँच वर्ष जिम्मेवारीका साथ काम गर्ने प्रतिबद्धता जनाए । प्रदेशसभाको अर्को बैठक पुस २५ गते सोमवार दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित मितिः   १९ पुष २०७९, मंगलवार ०५:०५