विद्यालय समायोजन

पछिल्लो समय सामुदायिक विद्यालय समायोजनले तीव्रता पाएको छ । शैक्षिक गुणस्तर सुधारका लागि सामुदायिक विद्यालयहरू समायोजन गरिएका छन् । स्थानीय तहहरूले भौतिक पूर्वाधारको अवस्था तथा जनशक्ति र विद्यार्थी अनुपात हेरेर सामुदायिक विद्यालयहरू गाभेका हुन् । सुर्खेत जिल्लाका नौ वटै पालिकामा केही वर्षयता धमाधम विद्यालय मर्ज गर्न थालिएको हो । सरकारले कम विद्यार्थी भएका विद्यालय समायोजन गर्ने प्रयास थालेको वर्षाैं बितेपनि संघीयता कार्यान्वयनमा आएसँगै यसले गति लिएको हो । माध्यमिक तहसम्मको शिक्षा हेर्ने क्षेत्राधिकार स्थानीय तहलाई दिइएको छ । पालिकाहरूले शैक्षिक व्यवस्थापनको अधिकार पाएसँगै गुणस्तर सुधारका लागि विद्यालय समायोजनलगायतका गतिविधिहरू भइरहेका छन् । पछिल्ला वर्षहरूमा विद्यालय समायोजन अभियानलाई स्थानीय सरकारहरूले तीव्रता दिएका छन् ।

सुर्खेतको सिम्ता गाउँपालिकाले १७ वटा सामुदायिक विद्यालय गाभेर आठ वटा कायम गरेको छ । विद्यार्थी–शिक्षकको अनुपात नमिलेका विद्यालयहरू समायोजन गरिएको पालिकाले जनाएको छ । सिम्ता गाउँपालिकामा सञ्चालित सामुदायिक विद्यालयहरूमा एक जना शिक्षक बराबर ४५ जना विद्यार्थी हुनुपर्ने प्रावधान बनाइएको छ । अहिले पनि शिक्षक र विद्यार्थीको अनुपात नमिलेका थुप्रै विद्यालय सञ्चालनमा छन् । गाउँपालिका क्षेत्रभित्रका दुर्गम ठाउँका विद्यालयलाई भने एक वर्षभित्र विद्यार्थी संख्या बढाउने मौका दिएको छ । यो वर्ष थप चार वटा विद्यालय मर्ज गर्ने तयारी पालिकाको छ । गुर्भाकोट नगरपालिकाले पनि यो वर्ष विद्यालय समायोजन गर्ने योजना बनाएको छ । तीन वर्षअघि पालिकाले केही विद्यालयहरू मर्ज गरेको थियो । नियमित अनुगमन गर्ने र आवश्यकता अनुसार शिक्षा विधिमा टेकेर समायोजनको प्रक्रिया अघि बढाइएको हो । लेकवेशी नगरपालिकाले स्थानीयस्तरमा शिक्षा कार्यविधि बनाएर विद्यालय समायोजन गर्ने योजना बनाएको छ । वीरेन्द्रनगर नगरपालिकाले यो वर्ष चार वटा विद्यालय समायोजन गर्ने योजना बनाएको छ ।

विद्यार्थीहरूको संख्या थोरै तथा शिक्षक दरबन्दी कम भएका र दुरीका हिसाबले टाढा रहेका विद्यालय एकै ठाउँमा गाभिएको हो । विद्यार्थी संख्या कम भएपछि विद्यालय समायोजन गरिएको छ । लामो समयदेखि चल्दै आएको भएपनि विद्यार्थी र शिक्षक अनुपात नमिलेका सामुदायिक विद्यालयहरूलाई कार्यविधि बनाएर मर्जको प्रक्रिया अगाडि बढाएको छ । शिक्षक–विद्यार्थी अनुपात, शिक्षक दरबन्दी र एक विद्यालयदेखि अर्कोसम्मको दूरीलाई आधार मानी विद्यालयहरू समायोजनको अभियान चलिरहेको छ । यसले जनशक्तिको व्यवस्थापनलाई पनि सहज बनाएको छ भने शैक्षिक गुणस्तर सुधारमा समेत सधाउ पुग्ने देखिन्छ । त्यसैले आवश्यकता अनुसार विद्यालयहरू समायोजनलाई पालिकाहरूले कार्यान्वयन गरिरहेका छन् ।

प्रकाशित मितिः   १८ पुष २०७९, सोमबार ०५:०३