कर्णाली उज्यालो कार्यक्रम अलपत्र

सुर्खेत: कर्णाली सरकारको ‘कर्णाली उज्यालो कार्यक्रम’ कार्यान्वयनमा ढिलाइ भएको छ । कार्यविधि निर्माण नगरिँदा चालु आर्थिक वर्षको कार्यक्रम अलपत्र परेको हो । यो कार्यक्रमका लागि जलस्रोत तथा उर्जा विकास मन्त्रालयले चालु आर्थिक वर्षका लागि दश करोड बजेट विनियोजन गरेको छ । कार्यान्वयनका लागि स्पष्ट कार्यविधि नहुँदा दोस्रो चौमासिकसम्म पनि अन्योल कायमै छ । गत आर्थिक वर्षसम्म मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सञ्चालन हुँदै आएको उक्त कार्यक्रम यो वर्षदेखि जलस्रोत तथा उर्जा विकास मन्त्रालय मातहतमा लगिएको छ । कार्यक्रम मन्त्रालयलाई हस्तान्तरण भएपनि कार्यान्वयन कसरी गर्ने भन्ने अन्योल रहेको मन्त्रालयका अधिकारीहरू बताउँछन् । कार्यविधि बन्न ढिलाइ हँुदा कार्यक्रम कार्यान्वयनका नगएको मन्त्रालयका सूचना अधिकारी प्रेमबहादुर वलीले बताए । यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले छुट्टै कार्यविधि बनाएर कार्य सञ्चालन गरेको थियो । जलस्रोत तथा उर्जा विकास मन्त्रालय मातहत आएपछि सोहीअनुरूपको कार्यविधि निर्माण गर्नुपर्नेमा त्यसो हुन नसकेको हो । ‘यो वर्षको रकम मन्त्रालयमै थन्किएको छ,’ वलीले भने, ‘यतिबेलासम्म रकम जिल्लाहरूमा गएर कार्यक्रम कार्यान्वयन गरिसक्नुुपर्ने हो, कार्यविधि नै नबन्दा काम नै ठप्प भयो ।’

कार्यान्वयनमा जानुपर्ने समयसम्म कार्यविधि नै नबन्दा कार्यक्रमको औचित्यमाथि नै प्रश्न उठन थालेको मन्त्रालयका अधिकारीहरूले बताएका छन् । केही ढिलाइ भएपनि अब भने कार्यविधि निर्माणको काम अन्तिम चरणमा पुगेको मन्त्रालयका सचिव देवराज निरौलाको दाबी छ । उनका अनुसार यसअघि मुख्यमन्त्री कार्यालयले बनाएको कार्यविधि संशोधन र परिमार्जन गरिँदैछ । नयाँ ढङ्गले कार्यविधि बनाएर कार्यक्रमलाई थप व्यवस्थित गर्न खोजिएको निरौलाले बताए । ‘कर्णाली उज्यालो कार्यक्रम’ मात्र नभइ मन्त्रालयका अन्य थुप्रै कार्यक्रमसमेत कार्यान्वयनमा लगिएको छैन । जनशक्ति अभाव हुँदा वार्षिक कार्यक्रम कार्यान्वयनमा समस्या भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मितिः   १८ पुष २०७९, सोमबार ०५:०१