विचार

आउनुस्, एउटा विद्रोह गर्रौं

जति लेख्यो त्यति सिक्ने उत्सुकता जाग्दो रहेछ । बहुत धेरै पढ्नुपर्ने रहेछ । लेख्नु भनेको आफैलाई अभिव्यक्त गर्ने सबैभन्दा सजिलो माध्यम रहेछ । अंग्रेजी क्यालेण्डरको २०२२ मा मेरो यो बाईसौं लेख हो । यस वर्ष लेखिएका आर्टिकलमा सबैभन्दा धेरै शिक्षा क्षेत्रको विषय समेटेको छु । अन्य विषयमा अलिअलि कोसिस भयो । तर, शिक्षा क्षेत्रमा साच्चिकै मनैबाट दिमागैदेखि जोड लगाएको हुँ । आमाको गर्भमा सिकिने शिक्षादेखि विश्वविद्यालयमा पढाइ हुने पाठ्यक्रमसम्मका कुरा लेखेको छु ।

मैले पढेका सयौँ पुस्तक र हजारौँ आर्टिकलले सिकाएका छन्, सुक्ष्म सुक्ष्म कुरा र कामले मात्र रूपान्तरण तथा परिवर्तन सम्भव हुन सक्छ । ठूलाठूला कुरा गर्न सकिन्छ । तर, काम गर्न पहिलो पाईला नै चाल्नुपर्छ । हिँड्नुपर्छ । निरन्तर । विना थकान । अडिग भएर, अमर हुने उद्देश्यले ।

यो मेरो यात्रा साना साना कुराहरूको खोजको थियो । नेपालको शिक्षा क्षेत्रमा गर्ने ठूलाठूला कुराहरू शिक्षा नीति तथा कार्यक्रमहरूमा उल्लेख गरिएका छन् । मैले मेरा आर्टिकलहरूमा कक्षा कोठाका बेञ्चका कुरा गरेको छु । सँगै बसेको साथी रिसाउने मनोविज्ञानका बारेमा कुरा गरेको छु । शिक्षकका संवेदनशिलतालाई बुझाउने कोसिस गरेको छु । विद्यार्थीको चकचकलाई स्वतन्त्र छोड्न अनुरोध गरेको छु । साच्चिकै मैले एकएक जोडेर ठूलो गफ गरेको छु ।
यो गफ दर्शन बनोस् । यो गफले मार्गनिर्देश गरोस् । केही भ्रमहरूबाट मुक्त गराओस् । मान्छेलाई स्वतन्त्र बाँच्न सहज बनाओस् । कसैको आशा बनोस् । कसैको हौसला बनोस् । कसैको फैसला बनोस् । जे जे बन्न सक्छ, पाठकको मनस्थितिले निर्णय गरोस् ।

म लेख्नको लागि स्वतन्त्र थिएँ । पाठकहरू पढ्नको लागि स्वतन्त्र हुनुहुन्थ्यो । टिप्पणी गर्नको लागि स्वतन्त्र हुनुहुन्थ्यो । सल्लाह, सुझाव दिनुभयो । जसकारणले निरन्तर लेखिरहे । लेखिरहन मनछ । तपाईं पढ्नुहुने पाठक प्रति, आर्टिकल प्रकाशित गर्नुहुने प्रकाशनगृह प्रति र पढेर प्रतिक्रिया दिनुहुने साथीहरू प्रति धेरै धेरै धन्यवाद ।

केही कुरा

शिक्षा मात्र एउटा यस्तो विषय हो । जुन राजनीतिभन्दा पनि जटिल छ । यसको विकास र पद्धतिमा जति बदलाब ल्यायो । प्रयोग ग¥यो । त्यति मानव चेतना, आविष्कार र सभ्यता अगाडि बढ्छ । अब मुख्य कुरा रह्यो, यसको आन्दोलन कसले गर्छ ? यसको नेतृत्व कसले गर्छ ? यसको विद्रोह कसले गर्छ ? यदि हामी कुनै पनि विषयमा विद्रोह गर्दैनौँ भने त्यो ठीक छ भन्ने अर्थ लाग्छ । के नेपालको शिक्षा प्रणाली ठीक छ ? के नेपालको शिक्षण सिकाइ विधि राम्रो छ ? यदि छैन भने खोइ त बोलेको ? खोइ त विद्रोह गरेको ? किन हामी मुकदर्शक ? कोही आउँला र बोलिदेला भन्ने अपेक्षा हो भने त्यो पहिलो पाईला मैले चाल्ने साहस गरेको छु ।

म भन्छु, छैन यो प्रणालीबाट सन्तुष्ट । मलाई रत्तिभर मन पर्दैन, यहाँको शिक्षण विधि । यसकारण म बोल्छु । म लेख्छु । म विद्रोह गर्छु । किनभने मलाई शिक्षाबाट वञ्चित भएर दुःखी भएका नानीबाबु तथा साथीहरूभन्दा शिक्षा पाएर पीडित भएका नानीबाबु तथा साथीहरूको चिन्ता छ । दुःख छ । त्यो बेजेरागारी र विदेशिने पिडाले पोल्छ ।

के हामीले सोच्न जरुरी छैन, आजका दिनसम्म नेपालका विभिन्न विद्यालयहरूमा पढेर राम्रो अङ्क ल्याएका विद्यार्थीहरू कहाँ छन् ? औसत अङ्क ल्याउनेहरू कहाँ छन् ? यो शिक्षा प्रणाली र शिक्षण विधिले राम्रो अङ्क ल्याउनेहरू र औसत अङ्क ल्याउनेहरूबिच कुनै फरक नै छोडेको छैन । परिणाम स्पष्ट छ, राम्रो अङ्क ल्याउने विद्यार्थी कि त कुनै बाहिर देशमा गएर काम गरिरहेको छ । कि त नेपालको सरकारी जागिरमा झुन्डिएको छ । अरु औसत विद्यार्थी कि त बेरोजगार कि त कारोबार । यदि नेपालको शिक्षा प्रणालीले यस्तै व्यक्ति बनाउन खोजेको हो भने विद्यालय विश्वविद्यालयमा गएर सर्टिफिकेट लिनमा किन समय बर्बाद गर्नुप¥यो । सिधै यसैको तयारी गर्नका लागि अनुमति दिए भइहाल्यो । विद्यालय, विश्वविद्यालयबाट सर्टिफिकेट लिनु केही वर्षको समय बर्बादी बाहेक केही भएको छैन । विद्यालय र विश्वविद्यालयले केही नयाँ सिकाउने भएको भएँ । आशा गर्न सकिन्थ्यो । सर्टिफिकेट बाड्ने बाहेक अरु केही नगरेको नतिजाले देखाएकै छ ।

शिक्षा मानव चेतनाका लागि, कल्पनाशिलता प्रयोगका लागि र जीवन जिउन सहज बनाउनको लागि हुनु पर्ने हो । तर, यो शिक्षाले त झन विभिन्न मानसिक रोग, डर, त्रास, मुर्खता, सफलता, असलफलता, को राम्रो ? को नराम्रो ? जस्ता कुरा सिकायो । के शिक्षाको उद्देश्य यहीँ हो त ?

पढ्यौँ भने असल भइन्छ । नत्र भने भइँदैन । आज पढ, भोलि भविष्य सुनिश्चित हुन्छ । आज मेहनत गरे । जीवन शानदार हुन्छ । यसरी भनिदै आइयो । एकपटक रोकिएर मनन गरौं । मज्जाले हाँसो उठ्नेछ ।

नेपाली उखान टुक्का सयौँ छन् । जुन पढ्न काम लाग्छन् । भन्न काम लाग्छन् । हामी कति मुर्ख भने एकपटक यिनै उखान टुक्कामा रोकिने धैर्यताको विकास गरेनौँ । हामीलाई जे भनियो, त्यसैलाई हो हो भन्दै आईरहेका छौँ । अब एकपटक रोकिएर होइन कि भनौँ ।

समय यस्तो आएको छ । प्रश्न यो सोध्नु परेको छ, के हामी होसमा छौँ ? यहीँ शिक्षा प्रणाली र शिक्षण सिकाइ विधिले देशलाई चाहिने जनशक्ति तयार गर्न सकिरहेको छैन भने यस्तो शिक्षा के हामीलाई अझै चाहिन्छ ? यदि चाहिदैन भने कोही किन यहाँ बोल्दैन ? सबै चुपचाप किन छन् ? सबै मौनधारण किन गरिरहेका छन् ? कहिलेसम्म यसरी चल्छ ? यतिबेला कुनै डरपोखले भन्नेछ, हेरौँ कहिलेसम्म चल्छ । यहीँ समयमा एउटा जिउँदो, सहासी मान्छे भन्नेछ, म आट गर्छु । म चुप लाग्दिन, म बोल्छु । म विद्रोह गर्छु ।

विद्रोहको मतलब सामाजिक सद्भाव भड्काउने खालका क्रियाकलाप गर्न भनिएको होइन । विद्रोहको मतलब हो, परम्परागत सोच तथा एकाङ्गी मनोविज्ञानको अन्त्यका लागि आवाज उठाउनु । अति भयो अब म सहदिन भन्नु ।
स्वतन्त्रताका लागि विद्रोह गरौँ । प्रेमका लागि विद्रोह गरौँ । आफ्नो रुचि, क्षमता र चाहाना अनुसारको जीवन बाँच्नका लागि विद्रोह गरौँ । विद्रोहका लागि उपयुक्त समय यहीँ हो । उत्तम् कार्य गर्ने शुभ मुहुर्त यहीँ हो । सुरु गरौँ । अहिले नगरे कहिले गर्ने ? हामीले नगरे कसले गर्छ ?

एकपटक यो पुरानो शिक्षा नलिने आट गरौँ । भयो अब रट्न बन्द गरौँ । हामी धेरै जान्ने भईसक्यौं । पढ््न छोडौँ । सोच्न सुरु गरौं । प्रश्न गरौं । प्रतिकार गरौँ । अनि पो केही परिवर्तनको संकेत देखिन्छ । केही प्रयास हुन थाल्छन् । हामी धेरै ईमानदार, अनुशासित र बौद्धिक भएनौँ र ? यिनी सबै छोडौ । आउँनुस्, एकपटक विद्रोह गरौँ । शिक्षामा प्रयोग गरौँ । शैक्षिक क्रान्ति गरौँ ।

प्रकाशित मितिः   १६ पुष २०७९, शनिबार ०५:०४