शून्यको मूल्यः कर्णालीको कोलाज
सास, साहस र स्नेहको कथा उप–शीर्षक राखेर सृजित ‘शून्यको मूल्य’ कृतिलाई लेखकले सिर्जनात्मक गैरआख्यान भनि दाबी गरेका छन् । जसमा डाक्टरको जीवनका अनुभूति, ज्ञान र घटना मिश्रित छोटा–लामा गरी पाँच वटा कथाहरू छन् । ति कथाहरू पढिसकेपछि एउटा सामाजिक सेवा र डाक्टरी पेसामा संलग्न व्यक्तिको गहिरो चेत, चिन्तन र मानवीय सम्वेदनाले उद्देलित बनायो । विकासको पिँधमा परेको सिमान्तकृत कर्णाली र यहाँका मानिसहरूले भोगेको सङ्लो जीवनको तस्बिर मानसपटलमा एकोहोरो आइरह्यो । यो कृतिका बारेमा केही लेखौँ लाग्यो । के लेख्ने भनेर पनि धेरै बेर सोचेँ । कृतिको समीक्षा गरौँ कि समालोचोना ? प्रश्न थप जटिल बन्यो । समीक्षात्मक टिप्पणी र समालोचनात्मक अध्ययन अझ बढी प्राविधिक हुन्छन् जस्तो लाग्यो र अन्तमा निष्कर्षमा पुगे म पाठकीय टिप्पणी गर्छु । मैले यो कृति पढिसकेपछि एउटा आम पाठकका मन मस्तिष्कमा तयार भएका धारणा पस्किने निर्णय गरेँ । त्यसैले मैले यस आलेखमार्फत जे पस्केको छु त्यो विशुद्ध एउटा पाठकले ‘शून्यको मूल्य’ माथि लागेको पाठकीय अनुभूति र दृष्टिकोणको प्रस्तुति मात्रै हो ।
झट्ट सुन्दा क्लिष्ट जस्तै लाग्ने ‘शून्यको मूल्य’ कृति नामाकरण पछाडि लेखकको गहिरो चिन्तन र चेतना प्रतिबिम्बित हुन्छ । नामकरणको सन्दर्भ लेखकको मौलिक चिन्तनमा आधारित देखिन्छ । संयुक्त राष्ट्रसंघले सम्वत् २०३० सम्म मानव जातिको विकासका लागि निर्धारण गरेका १ देखि १७ ओटा लक्ष्यमा आमा र बच्चाको स्वाथ्य जीवनसँग सम्बन्धित लक्ष्य निर्धारण गरेको नपाएपछि लेखक सुरक्षित मातृत्व र स्वस्थ बालबालिकाविना अन्य लक्ष्य हासिल गर्न असम्भव हुने तर्क अगाडि सार्दछन् । उक्त विषय एक अङ्कभन्दा पनि अगाडि पर्ने र यसको मूल्य नबुझेसम्म समाजमा समृद्धि र विकास नहुने मान्यता अनुरूप लेखकले यस विषयलाई शून्यमा राखेर कृतिमार्फत् शून्यको मूल्य खोज्ने प्रयास गरेका छन् ।
विशेष गरी कर्णालीको सेरोफेरोमा बुनिएको यस कृतिमा कर्णालीको सिँगो समाज प्रतिबिम्बित छ । मानव विकास सूचाङ्कमा पिँधमा परेको कर्णालीका बिरामी बच्चा ति बच्चालाई बोकेर भाग्यवश अस्पतालसम्म पु¥याउने आमाका सास र संघर्षका कथाहरू छन् । साथमा कर्णालीले भोगेका दुख, अभाव र गरिबीको चित्र पनि छ ।
पुस्तकमा ‘बुधेकी फुपूआमा’, ‘बुवालाई चिठी’, ‘भेडिनी कान्छी’, ‘मृत्युपछिको जीवन’, र ‘पुतली आमा’ गरी जम्मा पाँच वटा कर्णाली क्षेत्रका आमाले देखाएका सास, साहास र स्नेहका कथाहरू संग्रहित छन् । कर्णालीको सेरोफेरोमा दुखको पहाड बोकेर बाँचेका बेनामे कथाका शीर्ष पात्रहरूमार्फत् कर्णालीको महिलाको भोगेको जीवनको प्रस्तुति छ । सँगै लेखकले कर्णालीको समाजलाई मानवताको आँखीझ्यालबाट चिहाउँदै आफ्नो कोमल हातले स्पर्श गरेका छन् ।
‘बुधेकी फुपूआमा’ मार्फत् बादी बस्तिकी बुधेकी फुपूले जीवनको लामो कालखण्डमा भोगेको अभाव र दुखको कथा समेटिएको छ । बेनामे जिन्दगी बोकेकी बुधेकी फुपुआमाले पुरुष प्रधान सामाजमा भोगेका भुक्तमान हृदयबिदारक छन् । २०३९ सालमा पहिरोमा दैलेखको अज्ञात गाउँमा गुमाएका आफन्तलाई छोडेर आफ्नो भाइ (बुधेको बावु) लाई काखी च्यापेर सुर्खेत झरेकी बुधेकी आमाले जीवन निर्वाहका लागि संघर्ष गर्दागर्दै काँडैकाँडाले भरिएको जीवन भोग्छिन् । औषधी उपचारविना रगत छाद्दै जीवनको अन्तिम सास फेर्छिन् । बुधे र बुधे कि दिदीको भविष्य पनि आफन्तले भारततिर लगेसँगै अज्ञात देखिन्छ । यिनै शीर्ष पात्रहरूमार्फत् समग्रमा ग्रामीण बस्तीमा मानिसहरूले भोग्नु परेको बाढी, पहिरो, अन्तरिक बसाई सर्नुपर्ने बाध्यता, जातीय विभेद, कालापहाड जानुपर्ने बाध्यता, र गरिबीका उपकथाहरू बुनिएका छन् । सँगै गरिब र दलित बस्तिका बालबालिकाको विद्यालय शिक्षामा भोगेका दुःख र झेलेका अभावलाई आख्यानीकरण गरिएको छ । एउटा अबोध आमाको बोली नफुटेको बच्चाको उपचारका लागि डाक्टर प्रयोग गरेको चिकित्सकीय ज्ञान ज्यादै रोचक छ । यससँगै डाक्टरले नबोल्ने बच्चालाई भाषा सिकाउने हेतुवादी अवधारणा पेस गरेका छन् ।
त्यसैगरी न्युरोनको विकासक्रमसँगै मानिसको स्वभाव निर्धारण हुने बारे रोमानियाको सन्दर्भलाई उठाउँदै मानिसको विभिन्न स्वभाव निर्धारणमा ऊ बाँचेको समकालीन समाजको संरचना जिम्मेवार हुने तथ्य उल्लेख गरेका छन् । त्यसैगरी विश्वविद्यालयमा अध्ययनको क्रममा डाक्टरका गुरु मिश्र सरले अथ्र्याएको मानव पुँजीमा लगानीको फिर्ता दरको रेखा चित्र अहिले उनलाई समाज बुझ्नका लागि धेरै कामयाबी भएको तथ्य सार्वजनिक गर्छन् । जसको निश्कर्ष छ, विद्यालय र विश्वविद्यालयमा हुने मानिसको विकासभन्दा आमाको गर्भदेखि काखसम्म हुने विकास कयौँ गुणा महŒवपूर्ण हुने उल्लेख गरिएको छ । त्यसैले डाक्टर समाज विकासको सबैभन्दा ठूलो लगानी सुरक्षित मातृत्व र बालकको मानसिक स्वास्थ्यमा हुनुपर्छ भन्ने निश्कर्षमा पुगेका छन् ।
बुधेको फूपुले बुधेलाई हुर्काउन–बढाउन र स्कुल पठाउन गरेका प्रयास, बुधेको आनीबानी, स्वभाव, क्षमता, सिकाइ र चरित्र निर्माण विद्यालयमा भए–गरेका गतिविधिलाई नियाल्दै डाक्टर आमा र बच्चाको स्वास्थ्यका बारेमा दुनियाँमा भएका अनेकन् अध्ययन–अनुसन्धानका निश्कर्षमा घोत्लिनछन् । सिंगल, दिनियल वेको बालकको दिमागको पूर्णविकास गर्ने विधिका बारेमा चर्चा गर्छन् । त्यसैगरी मनोवैज्ञानिक डाक्टर गुदम्यानले गरेको अध्ययनमा आमाको डिप्रेशनको प्रभाव बालबालिका मात्र नभइ समग्र समाज र अर्थतन्त्रमा समेत पर्ने तथ्यमाथि टिप्पणी गर्छन् । सारमा डाक्टर सयुक्त राष्ट संघको मिलेनियम डेबलोमेन्ट गोल्स हासिल गर्न समेत सबै देशले सर्वप्रथम आमा र बच्चाको सुरक्षित स्वास्थ्यमा नै ध्यान दिनु पर्ने निष्कर्ष निकाल्छन् ।
डाक्टर प्राविधिक र पेसागत ज्ञान सीपले निपूर्ण देखिन्छन् । साथै उनको समाज सेवा प्रतिको कर्म पनि उत्तिकै अब्बल देखिन्छ । पढाइ–लेखाइका आधारभूत सामग्री कलम–कापीको अभावमा जेनतेन पढिरहेका ग्रामीण स्कुले बालबालिकालाई शैक्षिक सामाग्रीको सहयोग प्रदान गर्न पाउँदा डाक्टर आनन्द अनुभूत गर्छन् । आजको चरम उपभोत्तावादी सामाज जहाँ मानिस धन सम्पति र भौतिक सुख सयलको जिन्दगीका लागि भागदौड गरिरहेका छन् । तर डाक्टरको जीवन यात्रा फरक लयबाट गुज्रेकोे देखिन्छ । उनी समाज सेवाको कर्मप्रति आकर्षित देखिन्छन् । जुन कर्म धेरैको रोजाइमा पर्दैन ।
यस कृतिको दोस्रो कथामा ‘बुवालाई चिठी’ मार्फत् रक्सीले मातेर गर्भवती श्रीमती कुट्ने दैलेख नौमुलेका भिमकाजिलाई गर्भमा रहेको सन्तानले बुवाका नाममा डाक्टरले लेखिदिएको चिठीको प्रभावले सत्कर्ममा लागेको विवरण छ । श्रीमान्को कुटाइपछि रक्ताम्य भएर अस्पताल आएकी महिलाको पीडाले डाक्टरलाई निकै भावुक बनाउँछ । डाक्टरलाई जुम्ल्याहा बच्चाकी सत्र वर्षिया बालआमाको अवस्थाले बिचलित गराउँछ । यही भावुकताको आँखिझ्यालबाट डाक्टर महिलाहरूले भोगेको पीडा र सुरक्षित आमा र बच्चाको स्वास्थ्यका लागि विज्ञानले निर्माण गरेका मान्यता बीचको विरोधाभासी सम्बन्धलाई नियाल्छन् । यस कथा भित्र अस्पतालमा आमा बन्न आएका महिला लेवर रुममै आमा नबन्दै भगवान्का प्यारा भएका, कति बच्चा गर्भबाट धरतीको उज्यालो हेर्न नपाउँदै परलोक भएकाजस्ता दुःखले भरिएका घटनाहरूको उल्लेख छ । डाक्टर हरेक बिरामी आमा र बच्चाका भावभङ्गीनिलाई नजिकबाट दृष्टिगोचर गर्छन् । उनी बिरामीलाई उपचारसँगै सकेको मानवीय सहयोग गर्छन् । बिरामीको मनोदशा र उनीहरू बाँचेको समाजका बारेमा बुझ्दै बिरामीलाई बुझाउँदै आफूले हासिल गरेको ज्ञानको उच्चतम प्रयोग गरी उपचारमा सरिक हुन्छन् । यस कथामार्फत डाक्टर कर्णालीका आमा र बच्चामा हुर्किरहेको कुपोषणको डरलाग्दो तथ्यलाई समेत सार्वजनिक गर्छन् ।
हुम्लाबाट गम्भीर स्वास्थ्य समस्या भएको बच्चालाई हेलिकप्टरबाट सहरसम्म पु¥याउने दलित दम्पति (भेडिनी कान्छी र उनका श्रीमान्) को साहसको कथा हो ‘भेडिनी कान्छी’ । भेडिनी कान्छी र उनका श्रीमान्ले आफ्नो छोरालाई उपचारका लागि दश वटा भेडा बेच्छन् र हेलिकप्टरबाट सहर ल्याउँछन् । भेडिनी कान्छीको श्रीमान्को आँट र साहस देखेर सम्मान स्वरूप डाक्टरले नामै थाहा नभएको व्यक्तिको नाम हिक्मतबहादुर राख्छन् । अनौठो नाम बोकेर बाँचेकी महिला भेडिनी कान्छीको उक्त नाम रहनु पछाडिको रहस्य उद्घाटन गर्दै उनको हिक्मतबहादुरसँगको प्रेम सम्बन्ध र विवाहका प्रसंग कोट्याएका छन् । यसका साथै डाक्टरका ज्ञान र चेतनाले भ्याएसम्म कर्णालीमा आमा र बच्चाहरूको सुरक्षित स्वास्थ्यका लागि आवश्यक चाल्नु पर्ने कदमको चर्चा पनि सँगै छ । कर्णालीमा राज्यले गरेको लगानीप्रति डाक्टर सन्तुष्ट देखिँदैनन् । डाक्टरहरूको अन्तराष्ट्रिय सम्मेलन ‘अलमा आटा कन्फरेन्स’ले निर्माण गरेको स्वास्थ्यको पिरामिड सिस्टम हाम्रो देशमा लागू गर्न सके दलित दम्पतीले दश भेडा बेचेर छोराको उपचार गर्न सहरसम्म ल्याउनु पर्ने बाध्यता नहुने तर्कसमेत अगाडि राखेका छन् ।
कर्किनी बज्यैले भयाभह मृत्युलाई जितेर बाँचेको जीवनको कथा ‘मृत्युपछिको जीवन’को कथामा समेटिएको छ । जसमा कर्किनी बज्यैको संघर्षपूर्ण जीवन कहानी छ । उनले भोगेको जीवनमार्फत् कर्णालीमा आम महिलाले भोगेका संघर्ष र सामाजिक तथा आर्थिक जीवनका अँध्यारा–उज्याला पक्षहरू उद्घाटित भएका छन् । डाक्टर कर्किनी बज्यैले भोगेका जीवनका अनेकन आयामहरू आफूले अध्ययन गरेका थुप्रै किताबबाट प्राप्त गरेको ज्ञानसँग तुलना गर्छन् । यस अध्यायमा एउटा एन्जाइटीको समस्या झेलिरहेकी तर चिकित्सकीय उपचार पद्धतिले सुल्झाउन नसकेको नानीको मार्मिक कथा पनि उल्लेख छ । धेरै अस्पतालमा उपचार हुन नसकेको पिसाब फेरिरहने उनको समस्यालाई डाक्टरले उनको विगतदेखि वर्तमानसम्मका हरेक घटनाक्रमलाई सुक्ष्म रूपमा केलाएर एन्जाइटी भएको निक्र्यौल गर्छन् । उनलाई मायालु व्यवहार गरेर एन्जाइटी हट्ने सल्लाह आमाबाबुलाई दिन्छन् । पछि उनी निको हुन्छिन् । यसका अतिरिक्त डाक्टरले यस भागमा कर्णालीको ऐतिहासिक विरासत र कर्णालीको सरल जीवन शैलीको पनि सुन्दर चित्रण गरेका छन् ।
कर्किनी बज्यैजस्तै साहासको बिम्ब बोकेकी धो तरप डोल्पाकी ‘पुतली आमा’को कथा पनि कम रोचक छैन । श्रीमान्को उपचारका लागि काठमाडौं पुगेकी पुतली आमा दैनिकी धान्न झोला बेच्छिन् । कथामा अभाव र दुःखको भारि बोकिरहे पनि सधैँ हसिली र खुसी देखिने पुतली आमा आफूजस्तै झोला बेच्नेहरूलाई आत्मनिर्भर हुने उत्प्रेरणाको स्रोत बनेकी छिन् । पुतली आमाको प्रेरणा र आत्मबलका कारण बोली गुमाएकी पागलपन भएकी युवती सामान्य जीवनमा फर्किन्छिन् । बलात्कारको सिकार हुनबाट बचेकी ति युवतिलाई ‘साइकोजेनिक डीसोसेटीभ म्युटिजम’ को समस्याबाट ग्रसित भएर सडकमा नाँगै हिँडेकी हुन्छिन् । तर पुतली आमाका जीवन जिउने साहस र स्नेहका शब्दले नयाँ जीवनको लयमा फर्किन्छिन् ।
शून्यको मूल्यभित्र समेटिएका मोटामोटी प्रमुख घटनाक्रमहरू यिनै हुन् । यसका अतिरिक्त छोटा झल्याक–झुलुक देखिने दर्जनौँ उप–कथाहरू छन् । डाक्टर आफूले देखेका, भोगेका र अनुभूत गरेका घटनालाई आख्यानिकरण गर्छन् । कथासँग सम्बन्धित घटनामाथि तथ्याङ्क र तथ्यमा आधारित आफ्नो मौलिक तर्क पेस गरेर डाक्टर विद्यमान सामाजिक, शासकीय र चिकित्सकीय आभ्यासलाई रूपान्तरण गर्नुपर्ने आवश्यकता देख्छन् ।
विश्वविद्यालय औपचारिक चिकित्सता शिक्षाको अध्ययन पश्चात आफ्नै जन्मभूमिको सेवामा हेलिएका लेखक कर्णालीको समाज र जीवनबाट वास्तविक सिकाइको अनुभूत गर्छन् । लेखकले हासिल गरेको त्यही औपचारिक र अनौपचारिक परिवेशबाट सङ्गालेका अनुभूति, ज्ञान र चेतको संयोजनबाट शून्य समयको मूल्य जन्माएका छन् । कृतिलाई सिर्जनात्मक गैर–आख्यान भनि दाबी गरियता पनि हरेक कथामा आख्यान प्रबल देखिन्छ । कथावस्तुको प्रस्तुतिमा लेखकको कल्पनाशिलता र सिर्जनशिलताको व्यापक प्रयोग गरेका छन् । लेखकले सबै कथाहरूमा एक बाह्य दृष्टिबिन्दु तृतीय पुरुषमार्फत कथानक पस्केका छन् । जसले प्रथम पुरुष वर्णनात्मक शैलीको जस्तो पाठकले कथानकमा वास्तविकताको महसुस गर्न सक्दैनन् । साथै लेखकले स्वयम् आफूले अनुभव गरेका तथ्य र घटनामार्फत् समाज र जीवनलाई पस्किदै गर्दा बाह्य दृष्टिबिन्दुको प्रयोग सान्दर्भिक देखिँदैन । यसप्रति लेखक सचेत हुन सकेको भए घटनाहरू अझ बढी मौलिक र वास्तविक देखिन्थे होला ।
कथानकहरूले पाठकहरूलाई बल्छी लगाएर राख्न सकदैनन् । कथावस्तुमा लेखकका निजी विचार, चिन्तन र तथ्यहरूको जबरजस्त मिश्रणले पठनलाई पट्यारलाग्दो बनाएको छ । हरेक कथामा बहुघटनाहरू छन् । धेरै ठाउँमा कथावस्तुको अन्त खोज्दाखोज्दै सकिएका छन् । कथानकहरू विश्रृंखलाको सिकार भएका छन् । घटनाक्रमको आइरहने बिच्छेदन र क्रमभङ्गगताले पाठकलाई कम आकर्षित गरेका छन् । शिलशिला गुमाएका छरपस्ट थुप्रिएका कथाका घटनाहरूले पाठकीय लय गुमाएका छन् । यस्तो प्रस्तुती हरेक कथामा देख्न सकिन्छ ।
धेरै कथाहरूले परिवेश (समय र स्थान)को प्रस्तुतिलाई वेवास्ता गरेका छन् । लेखक प्राय कथाका घटनाहरूको प्रस्तुतिमा परिवेश प्रति पूर्ण उदासीन देखिन्छन् । बुधेसँगको पहिलो भेट, बुधेकी फुपुको मृत्यु हुँदाको अवस्था, कोल्टी र हुम्लाबाट आएको बिरामी बोकेको हेलिकप्टर आउँदाको अवस्था, बिरामीसँग भेट्दा र छुट्टीदा, इन्जाईटिबाट पीडित नानी भेटिदालगायत थुप्रै घटनाक्रममा परिवेश बिमुख हुँदा कथाहरू निरिह जस्ता देखिन्छन् । परिवेश उल्लेख भएका घटनाक्रममा पनि स्पष्टता देखिदैन, जस्तो बुधे खास कहाँको हो– झुप्रा, इखेनी वा कोलडाडा ? पाठकमा अन्यौलता सिर्जना गरेको छ । घटनाक्रमसँग समय र स्थानको सम्बन्ध स्थापित नहुँदा बस्तुनिष्ट हुन सकेको छैन । समग्रमा कथावस्तुमा परिवेश निमार्णको उपस्थित नहुँदा कथाका सबलताका आधारहरू कमजोर देखिन्छन् । सँगसँगै विभिन्न कथामा प्रमुख पात्रको भूमिकामा रहेका जस्तै भेडिनी कान्छी, पुतली आमा, बुधे, हिक्मतबहादुर लगायतका व्यक्तिहरूको व्यक्तिगत विवरण उल्लेख नहुँदा उनीहरूको आनीबानी स्वभाव र शारीरिक अवस्थाका बारेमा पाठकलाई जानकारी नै हुँदैन । भाषिक मौलिकताका लागि लेखकले जनबोलिको प्रयोग गरेका छन् तर जनबोलिका कतिपय शब्दहरू परिस्कृत गरी प्रयोग गरेको पाइन्छ । जसले गर्दा स्थानीय जनबोलीको मौलिक स्वाद पाउनबाट पाठकहरू बन्चित छन् । तथापि लेखकले प्रयोग गरेका बान्की परेका बाक्य संरचना, आलंकारिक भाषा शैली र गहिरा शब्द छनौटले पाठकीय मेलो सकाउन मद्दत मिल्छ ।
विषयवस्तुको उठान र भाषिक शील्पका हिसाबले लेखक सफल देखिएता पनि घटनाक्रमको प्रस्तुति, पात्र र परिवेशको चर्चा गर्दा धेरै ठाउँमा चुकेका छन् । तरपनि एउटा कोमल मानवीय हृदय लियर कर्णालीको समाज र जीवन स्पर्श गरेका लेखकले उठाएका कर्णालीको भूगोल, एतिहासिक बिरासत, जीवन शैली, मानिसहरूका चिन्तन र संस्कृति र दुःख तथा अभाव कथाका विषयहरू भने मौलिक छन् । यी सबै विषयहरूले पाठकलाई उद्देलित र भावुक बनाउँछन् । लेखकको पेशागत ज्ञान र सृजनाले निर्माण गरेको कर्णालीको चित्र पाठकका मानसिकतामा प्रतिबिम्बित हुन्छ । ति विभिन्न दृश्यबिम्बहरू शून्यको मूल्यमा कोलाज भएर उभिन्छन् ।
प्रकाशित मितिः १६ पुष २०७९, शनिबार ०५:०३
रेशम विष्ट ।