वीरेन्द्रनगरमा विपन्नको खोजी

चार श्रेणीमा वर्गीकरण गरिँदै, रोजगारीदेखि निःशुल्क स्वास्थ्य बिमाको सुविधा

सुर्खेत: वीरेन्द्रनगर नगरपालिकाले विपन्न तथा बेरोजगार नागरिकको उपयुक्त व्यवस्थापन गर्न त्यस्ता परिवारको पहिचान गर्न लागेको छ । यसका लागि विपन्न परिवार पहिचान कार्यविधि–२०७९ बनाइएको छ । विपन्न तथा बेरोजगार नागरिकहरूको उत्थान र व्यवस्थापन गर्नुपर्ने ठहर गर्दै नगरले कार्यविधि निर्माण गरेर सोहीअनुसार काम अघि बढाइएको हो । लगत संकलनपछि विपन्न तथा बरोजगार परिवारको अवस्था हेरेर विभिन्न श्रेणीमा वर्गीकरण गरिनेछ । कार्यविधिअनुसार विपन्न परिवारले पहिचानका लागि परिचय–पत्र पाउनेछन् । उक्त परिचय–पत्रका आधारमा ती परिवारलाई नगरले आवश्यकता हेरी सेवा–सुविधा उपलब्ध गराउनेछ । नगर प्रमुखको संयोजकत्वमा विपन्न परिवारको यकिन गर्न नगरस्तरीय समिति गठन गर्ने कार्यविधिमा उल्लेख छ । नगर प्रमुख मोहनमाया ढकालले विपन्न परिवारको पहिचान गर्ने र आवश्यकताअनुसार लक्षित व्यक्ति तथा परिवारका लागि कार्यक्रमहरू सञ्चालन गरिने जनाइन् ।

कार्यविधिअनुसार विभिन्न श्रेणीमा वर्गीकरण गरिएका व्यक्ति तथा परिवारलाई नगरले स्वरोजगार तालिमदेखि स्वास्थ्य उपचारमा सहुलियत दिनेछ । यस्तै, विपन्नले राशन कार्डको सुविधा, नगर अस्पतालबाट ५० प्रतिशत सहुलियतमा उपचार, स्वास्थ्य बिमामा तिर्नुपर्ने रकममा ५० देखि एक सय प्रतिशतसम्म अनुदान पाउनेछन् । विपन्न परिवारले नगर अस्पतालबाहेक अन्य अस्पतालबाट पनि सहुलियत दरमा उपचार सेवा पाउने व्यवस्था मिलाउन लागिएको छ । विपन्न परिवारको रोजगारको लागि प्रदेश तथा संघीय सरकारसँग पहल एवम् सहजीकरण गर्ने, वैदेशिक रोजगारमा जान इच्छुक भए समूहगत रूपमा निःशुल्क तालिम प्रदान गर्ने व्यवस्था मिलाउन लागिएको छ । त्यसका लागि सुरुमा विपन्न परिवारको लगत संकलन गरेर पहिचान गर्न लागिएको नगर प्रमुख ढकाल बताउँछिन् । उनका अनुसार हरेक वर्ष कम्तीमा १० जनालाई घुम्ती कोषमा प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययन गराउने, व्यक्तिगत सीप र क्षमता विकास तालिम दिने, नगरपालिकाबाट लिइने सिफारिस निःशुल्क गर्नेजस्ता व्यवस्था मिलाइनेछ ।

नगरपालिकाले विपन्न परिवारलाई उपलब्ध गराउने परिचय–पत्रको मान्यता भने चार वर्षको अवधिसम्मको हुनेछ । चार वर्षपछि परिचय–पत्रको अध्यावधिक गरिनेछ । विपन्न परिवारको छनोटका लागि वडा कार्यालयहरूमार्फत विवरण संकलन हुने जनाइएको छ । नगरपालिकाले नियमित आम्दानीको स्रोत नभएको, आम्दानीले आफू र आफ्नो परिवारमा सन्तुलित भोजन ग्रहण गर्न नपुग्ने अवस्था रहेको, आफ्नो घरबास नभएको वा भएपनि सामान्य र पर्याप्त नभएको परिवारलाई विपन्नको सूचिमा राख्ने तयारी गरेको छ । त्यस्तै, सीप नभएको, शिक्षामा पहुँच नभएको, बेरोजगार, प्रकोप वा उपचारका कारणबाट सम्पति सकिएको व्यक्ति एवम् परिवार र जीविकोपार्जनको कुनै आधार नभएकालाई पनि विपन्नमा राखिनेछ ।

चार श्रेणीमा वर्गीकरण गरिँदै

वीरेन्द्रनगर नगरपालिले विपन्न परिवारलाई चार वटा श्रेणीमा वर्गीकरण गर्दैछ । विपन्नताको अवस्थाका आधारमा विभिन्न श्रेणीमा विभाजित गरी परिचय–पत्रको व्यवस्था गरिने कार्यविधिमा जनाइएको छ । नगरपालिकाले ‘क’ श्रेणीमा निम्न मध्यम वर्गीय विपन्न परिवार, ‘ख’ श्रेणीमा निम्न वर्गीय विपन्न परिवार, ‘ग’ श्रेणीमा विपन्न परिवार र ‘घ’ श्रेणीमा अतिविपन्न परिवार भनेर वर्गीकरण गर्न लागेको छ । नगरपालिका अनुसार निम्न मध्यम वर्गाीय विपन्न परिवारलाई हरियो र सेतो मिश्रीत रङको कार्ड उपलब्ध गराइनेछ । यस्तै, निम्नवर्गीय विपन्न परिवारलाई पहेलो र हरियो रंगको कार्ड दिइनेछ । विपन्न परिवारलाई रातो र पहेलो मिश्रीत रंगको कार्ड हुनेछ भने अति विपन्न परिवारलाई रातो कार्ड उपलब्ध गराउनेछ । श्रेणीअनुसार वडाहरूले विपन्न परिवारको फारम भरेर नगरपालिकामा पठाउने बताइएको छ ।

निम्न मध्यम वर्गीय विपन्न परिवारको हकमा मासिक आम्दानी १० देखि १५ हजारसम्म नियमित भएको र परिवार संख्या तीन देखि पाँच जना भएको हुनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । आफ्नो घरधुरी नम्बरी वा ऐलानीमा भइ सामान्य प्रकारको घर भएको हुनुपर्ने, ज्ञान सीप भएको तर रोजगार नभएको, खर्चिलो औषधी नियमित सेवन गर्नुपर्ने सदस्य भएको परिवारलाई यो श्रेणीमा राखिनेछ । निम्न वर्गीय विपन्न परिवारको हकमा परिवारको मासिक आम्दानी १२ हजारसम्म भएको र एकदेखि पाँच जनाको परिवार भएको हुनुपर्नेछ । पर्याप्त खान–लाउन नपुग्ने परिवार, बालबच्चालाई शिक्षा दिन नसेकेको, आफ्नो बसोबास भएपनि सामान्य अवस्थामा भएकालाई निम्न वर्गीय विपन्न परिवार भनेर तोकिएको छ । नगरले मासिक आठ हजारसम्म आम्दानी हुने परिवारलाई विपन्न परिवार भनेको छ । जुन परिवारमा दुई छाक पेटभरी खान र न्यूनतम् क्यालोरी पूरा गर्न नसक्ने अवस्था रहेको, उद्यमका लागि सीप नभएको वा परिवारमा एक जनाले पनि १२ कक्षा उतीर्ण नगरेकोलाई विपन्न परिवारको सूचिमा राखिनेछ । यि तीन वटै श्रेणीअनुसार केही पनि नभएको परिवारलाई अति विपन्न परिवार भनिएको छ । आफ्नो आर्थिक अवस्था कमजोर भएको, न्यूनतम् क्यालोरी पूरा हुने गरी खान नपुग्ने, नियमित स्थायी आम्दानीको स्रोत नभएको, आफ्नो आम्दानीले पर्याप्त खान, लाउन, बस्न तथा शिक्षा र स्वास्थ्य उपचार गराउन नपुग्ने परिवारलाई अति विपन्न परिवारको सूचिमा राखिने नगरपालिकाले जनाएको छ ।

निःशुल्क स्वास्थ्य बिमा

नगरले अतिविपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमासमेत गर्ने भएको छ । अतिविपन्न परिवारलाई स्वास्थ्यको पहुँचमा पु¥याउन निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न लागिएको हो । त्यस्ता परिवारहरूको पहिचान भइसकेपछि त्यसलगत्तै स्वास्थ्य बिमा गरिनेछ । निःशुल्क स्वास्थ्य बिमा कार्यक्रमका लागि यही पुस महिनाभित्रै प्रक्रिया अघि बढाउने तयारीमा नगरपालिका छ । विपन्न परिवारको बिमाका लागि लाग्ने शुल्क नगरपालिकाले तिर्नेछ । त्यस्ता बिमितले सरकारले तोकेका अस्पतालमा एक लाखसम्मको खर्च लाग्ने उपचार सेवा निःशुल्क पाउनेछन् । ‘अतिविपन्न परिवारलाई स्वास्थ्यमा सहज पहुँच होस् भन्ने उद्देश्यले गौरवको योजनाको रूपमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न लागेका छौँ,’ नगर प्रमुख ढकालले भनिन्, ‘यो कार्यक्रम यही महिनाबाटै सुरु गर्दैछौँ ।’

नगरले अतिविपन्न परिवारको स्वास्थ्य बिमाका लागि परिवारहरूको पहिचानका लागि कार्यविधि नै बनाएर वडाहरूमा पठाइसकेको छ । नगरले अतिविपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रमका लागि चालु आर्थिक वर्षमा १० लाख बजेटको व्यवस्था गरेको छ । प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले यसै वर्षबाट सुरु गर्न उक्त कार्यक्रमका लागि बजेट विनियोजन भएको जनाए । अतिविपन्न परिवारको पहिचान भइसकेपछि निःशुल्क बिमा कार्यक्रम लागू हुनेछ । नगरपालिकामा एक हजारदेखि १२ सयसम्मको हारहारीमा अतिविपन्न परिवार रहेको आकलन गरिएको छ । सुरुवाती चरणमा अतिविपन्नलाई तत्कालै निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने र विस्तारै सबै विपन्न परिवारलाई उक्त सेवा उपलब्ध गराउने तयारी गरिएको छ ।

प्रकाशित मितिः   १६ पुष २०७९, शनिबार ०५:०५