दुर्व्यसनी नियन्त्रण
कर्णाली प्रदेशमा लागूऔषधको सेवन तथा ओसारपसार बढ्दै गएको पाइएको छ । सुर्खेतसहित कर्णालीका विभिन्न जिल्लाहरूमा लागूऔषधका प्रयोगकर्ता र ओसारपसारमा संलग्नहरू हरेक दिनजसो पक्राउ परिरहेका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको यो अवधिमा लागूऔषध दूव्र्यसनीमा संलग्न ७२ जनालाई पक्राउ गरिएको छ । उनीहरूलाई कारबाहीका लागि कानुनी प्रक्रिया अघि बढाइएको छ । कर्णालीमा लागूऔषध सेवन र कारोबार गर्नेहरूको संख्या बर्सेनि बढ्दै गएको प्रहरीको तथ्याङ्क छ । लागूऔषध मुद्दामा पक्राउ परेका धेरैजसो किशोर अवस्थाका छन् । पछिल्ला वर्षहरूमा कलिलै उमेरमा लागूऔषधको लतमा पर्नेहरूको संख्या ठूलो छ ।
प्रदेश प्रहरी कार्यालयले गएका साढे दुई वर्षमा तीन सय ७२ जना लागूऔषधमा संलग्नहरू पक्राउ परेको छ । आर्थिक वर्ष २०७७/०७८ मा प्रदेशभर लागूऔषधसम्बन्धीका ७० वटा मुद्दा दर्ता भएका थिए । उक्त आर्थिक वर्षमा सो अभियोगमा एक सय ३६ जना पक्राउ परेका थिए । पछिल्लो आर्थिक वर्ष २०७८/०७९ मा ९५ वटा मुद्दा दर्ता भए । उक्त वर्ष एक सय ७२ जना पक्राउ परेका थिए । चालु आर्थिक वर्षको हालसम्म ७२ जना पक्राउ परेकोमा ४१ वटा मुद्दा दर्ता भइसकेका छन् । लागूऔषध सेवन तथा कारोबार बढ्दै जानु चिन्ताको विषय हो । यसको नियन्त्रणका लागि सरोकारवालाहरूको प्राथमिकतामा नपरेकाले लागूऔषधको जालो झन् झन् बढेको देखिन्छ । जसले गर्दा यसको प्रयोग र कारोबार नियन्त्रणमा आउन नसकेको हो । प्रहरीले पनि कर्णाली प्रदेशमा लागूऔषध नियन्त्रणमा चुनौती रहेको बताउने गरेको छ । कर्णालीमा चालु आर्थिक वर्षका झन्डै साढे पाँच महिनामा एक सय १३ ग्राम ब्राउन सुगर, तीन ग्राम चरेश र चार सय ६ ग्राम गाँजा बरामद गरिएको छ । यही अवधिमा ४४ वटा लागूऔषधका ट्याब्लेटहरू बरामद गरेको प्रहरीको तथ्याङ्क छ । प्रहरीका अनुसार हालसम्मको विवरण हेर्दा सुर्खेतमा सबैभन्दा बढी सेवनकर्ता र ओसारपसारमा संलग्नहरू पक्राउ परेका छन् । लागूऔषध पनि अन्य जिल्लाको तुलनामा सुर्खेतमा नै बढी बरामद हुने गरेको छ ।
पक्राउ पर्नेहरू र मुद्दाको संख्या हेर्दा लागूऔषधको दुव्र्यसनी बढ्दै गएको देखिन्छ । तर यसको रोकथाम र नियन्त्रणका लागि पर्याप्त काम हुन सकेको छैन । प्रहरीले पक्राउ गर्ने र मुद्दा चलाउनेबाहेक अन्य कुनै काम भएका छैनन् । जनचेतनामूलक कार्यक्रम हुन सकेका छैनन् । लागूऔषध सेवन तथा कारोबार संलग्नलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने तथा जनचेतनामूलक कार्यक्रमहरू पनि सँगसँगै गर्न सकेमो यसलाई नियन्त्रण गर्न सहयोग पुग्ने देखिन्छ ।
प्रकाशित मितिः १५ पुष २०७९, शुक्रबार ०५:०३
सम्पादकीय ।