प्रदेशसभाको अधिवेशन आह्वान

सुर्खेत: कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठक पुस १८ गते बस्ने भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले अधिवेशन आह्वान गरेका हुन् । प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्नेछ । प्रदेशसभा सचिवालयले सूचना जारी गरेर दोस्रो कार्यकालको प्रथम प्रदेशसभा अधिवेशन आह्वान गरिएको जानकारी दिएको हो । निर्वाचन परिणाम सार्वजनिक भएको २० दिनभित्र प्रथम अधिवेशन आह्वान गरिसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । प्रदेशसभा बैठकमा ज्येष्ठ सदस्य विनोदकुमार शाहले सभामुखको भूमिका निर्वाह गर्नेछन् । प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले पहिलो अधिवेशनको सबै तयारी पूरा भएको बताए । उनका अनुसार पहिलो दिन प्रदेश प्रमुखले प्रदेशसभा अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाउने र दलीय धारणा राख्ने कार्यतालिका हुन्छ । त्यसका लागि अधिवेशन अघि सर्वदलीय बैठक बसेर एजेन्डा तय हुनेछ । कर्णाली प्रदेशमा ४० जना प्रदेशसभा सदस्य रहेका छन् । जसमध्ये नेपाली कांग्रेसका १४, नेकपा ‐माओवादी केन्द्र) का १३, नेकपा ‐एमाले)का १०, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा ‐एकीकृत समाजवादी) र स्वतन्त्रबाट एक÷एक जना प्रदेशसभा सदस्य रहेका छन् ।

प्रकाशित मितिः   १५ पुष २०७९, शुक्रबार ०५:०२