भेरीगंगाका ८० परिवारलाई राहत

सुर्खेत: प्राकृतिक विपद्बाट प्रभावित बनेका भेरीगंगा नगरपालिकाका ८० परिवारलाई राहत वितरण गरिएको छ । गत असोज अन्तिम साता परेको अविरल वर्षापछि बाढी र पहिरो जाँदा नगरमा थुप्रै परिवार प्रभावित भएका थिए । उतिबेला घर तथा भौतिक संरचनामा क्षति पुगेका परिवारलाई राहत रकम उपलब्ध गराइएको हो । जिल्ला प्रशासन कार्यालय अन्तर्गतको जिल्ला विपद् व्यवस्थापन समितिले वर्षाका कारण आंशिक र पूर्ण क्षति भएका घरधुरीलाई जनही पाँच हजारका दरले राहत रकम वितरण गरेको छ । राहत रकम हस्तान्तरण गर्दै भेरीगंगा नगरपालिका नगरप्रमुख यज्ञप्रसाद ढकालले विपद् सूचना दिएर नआउने भएकाले यसबाट बच्न समयमै सचेत हुन आग्रह गरे । पालिकाको पहलमा विपद् व्यवस्थापन समितिले राहत उपलब्ध गराएको उनले जनाए । नगरपालिकाले वर्षाका कारण क्षति व्यर्होनुपरेका परिवारलाई यसअघि नै राहत वितरण गरिसकेको छ । नगरले क्षतिको विवरण संकलन गरी राहत दिएको हो । आंशिक, पूर्ण र सामान्य क्षति भएका परिवारलाई पालिकाले राहत वितरण गरिसकेको नगरप्रमुख ढकालले बताए ।

प्रकाशित मितिः   १५ पुष २०७९, शुक्रबार ०५:०१