सामुदायिक विद्यालय गाभ्दै स्थानीय सरकार

सुर्खेत: शैक्षिक गुणस्तर सुधारका लागि सामुदायिक विद्यालयहरू समायोजन ‐मर्ज) गरिएका छन् । स्थानीय तहहरूले भौतिक पूर्वाधारको अवस्था तथा जनशक्ति र विद्यार्थी अनुपात हेरेर सामुदायिक विद्यालयहरू गाभेका हुन् । सुर्खेतको सिम्ता गाउँपालिकाले १७ वटा सामुदायिक विद्यालय गाभेर आठ वटा कायम गरेको छ । विद्यार्थी–शिक्षकको अनुपात नमिलेका विद्यालयहरू समायोजन गरिएको पालिकाले जनाएको छ । विद्यार्थीहरूको संख्या थोरै तथा शिक्षक दरबन्दी कम भएका र दुरीका हिसाबले टाढा रहेका विद्यालय एकै ठाउँमा गाभिएको हो । विद्यार्थी संख्या कम भएपछि विद्यालय समायोजन गरिएको पालिकाले जनाएको छ । लामो समयदेखि चल्दै आएको भएपनि विद्यार्थी र शिक्षक अनुपात नमिलेका सामुदायिक विद्यालयहरूलाई गाउँपालिकाले शिक्षा कार्यविधि बनाएर मर्जको प्रक्रिया अगाडि बढाएको थियो । गाउँपालिकाका शिक्षा शाखा प्रमुख बुद्धिबहादुर गौतमले सोही कार्यविधिलाई आधार मानेर आर्थिक वर्ष २०७५/०७६ देखि विद्यालय समायोजन थालिएको जनाए ।

विद्यालय समायोजन अभियान अन्तर्गत सिम्ताको वडा नं. ५ मा रहेको भैरव प्राथमिक विद्यालय बजेडाआलीलाई नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बजेडाआलीमा मर्ज गरिएको छ । यस्तै, वडा नं. ४ मा रहेको कोइली प्राथमिक विद्यालयलाई सिद्ध प्राथमिक विद्यालयमा गाभिएकोमा फेरि सिद्ध प्राथमिक विद्यालयलाई पनि भानु माध्यमिक विद्यालयमा समायोजन गरिएको छ । वडा नं. ४ मै रहेको दुर्गा आधारभूत विद्यालय भोटमुग्रालाई बागेश्वरी प्राथमिक विद्यालय सिमलगाउँमा मर्ज गरिएको छ । पालिकाको वडा नं. १ मा रहेको लालीगुराँस प्राथमिक विद्यालयलाई गैरीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय घोरेटामा गाभिएको छ । शिक्षा शाखा प्रमुख गौतमले वडा नं. ८ मा रहेको प्राथमिक विद्यालय कोलडाँडालाई नेरा माध्यमिक विद्यालय खेल्नेचौरमा मर्ज गरिएको जनाए । उनका अनुसार वडा नं. ३ को शिखर प्राथमिक विद्यालय आग्रीगाउँलाई नेपाल राष्ट्रिय प्राथमिक विद्यालय लापुमा गाभिएको छ । वडा नं. १ मा रहेको लालीगुराँस प्राथमिक विद्यालयलाई गान्द्रास्थित भगवती माध्यमिक विद्यालयमा समायोजन गरिएको छ । पालिकाका शिक्षा शाखा प्रमुख गौतम भन्छन्, ‘विद्यार्थीको संख्या हेरेर विद्यालय गाभ्ने अभियान थालेका छौँ, जसअन्तर्गत थुप्रै विद्यालय मर्ज भइसकेका छन् । उनले अझै तीन ÷चार वटा विद्यालय गाभ्नुपर्ने देखिएको बताए ।

सिम्ता गाउँपालिकामा सञ्चालित सामुदायिक विद्यालयहरूमा एक जना शिक्षक बराबर ४५ जना विद्यार्थी हुनुपर्ने प्रावधान बनाइएको छ । अहिले पनि शिक्षक र विद्यार्थीको अनुपात नमिलेका थुप्रै विद्यालय सञ्चालनमा छन् । शिक्षक विद्यार्थी अनुपात, शिक्षक दरबन्दी र एक विद्यालयदेखि अर्कोसम्मको दूरीलाई आधार मानी विद्यालयहरू समायोजनको अभियान चलिरहेको छ । गाउँपालिका क्षेत्रभित्रका दुर्गम ठाउँका विद्यालयलाई भने एक वर्षभित्र विद्यार्थी संख्या बढाउने मौका दिएको छ । यो वर्ष थप चार वटा विद्यालय मर्ज गर्ने तयारी पालिकाको छ ।

गुर्भाकोट नगरपालिकाले पनि यो वर्ष विद्यालय समायोजन गर्ने योजना बनाएको छ । तीन वर्षअघि पालिकाले केही विद्यालयहरू मर्ज गरेको थियो । नियमित अनुगमन गर्ने र आवश्यकता अनुसार शिक्षा विधिमा टेकेर समायोजनको प्रक्रिया अघि बढाइएको शिक्षा शाखा प्रमुख पदमबहादुर विकले जनाए । नगरपालिकाले आवश्यक कार्यविधि बनाएर न्यून विद्यार्थीहरू भएका विद्यालयहरूलाई मर्ज गर्ने योजना बनाएको छ । चालु आर्थिक वर्षमा आठ÷दश वटा विद्यालयलाई विद्यार्थी संख्या र भूगोलका आधारमा समायोजन गर्ने तयारी भइरहेको विकले बताए । यो नगरपालिकामा हाल विभिन्न तहका ७५ वटा सामुदायिक विद्यालय छन् ।

लेकवेशी नगरपालिकाले स्थानीयस्तरमा शिक्षा कार्यविधि बनाएर विद्यालय समायोजन गर्ने योजना बनाएको छ । पालिकाले शिक्षासम्बन्धी ऐन–२०७८ जारी गरिसकेको छ । नगर शिक्षा समितिमा छलफल गरेर विद्यालय मर्जको काम अघि बढाइने शिक्षा शाखा प्रमुख पहलमान अधिकारी बताउँछन् । उनका अनुसार आवश्यकताका आधारमा विद्यालय गाभ्ने तयारी भइरहेको छ ।

वीरेन्द्रनगर नगरपालिकाले यो वर्ष चार वटा विद्यालय समायोजन गर्ने योजना बनाएको छ । नगर शिक्षा शाखा प्रमुख (उपसचिव) धीरेन्द्रप्रसाद शर्माले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि विद्यालयहरू समायोजन गरिँदै आएको बताए । वीरेन्द्रनगर नगरपालिकाको वडा नं. १४ र १५ मा रहेका सामुदायिक विद्यालयहरू समायोजनको माग आएको शर्माले जनाए । नगरपालिकाले ती विद्यालयहरूको अनुगमन गरेर आवश्यकताका आधारमा समायोजनको निर्णय गर्नेछ । जिल्लाका नौ वटै पालिकामा केही वर्षयता धमाधम विद्यालय मर्ज गर्न थालिएको छ । सरकारले कम विद्यार्थी भएका विद्यालय समायोजन गर्ने प्रयास थालेको वर्षाैं बितेपनि संघीयता कार्यान्वयनमा आएसँगै यसले गति लिएको हो । माध्यमिक तहसम्मको शिक्षा हेर्ने क्षेत्राधिकार स्थानीय तहलाई दिइएको छ । पालिकाहरूले शैक्षिक व्यवस्थापनको अधिकार पाएसँगै गुणस्तर सुधारका लागि विद्यालय समायोजनलगायतका गतिविधिहरू भइरहेका छन् । पछिल्ला वर्षहरूमा विद्यालय समायोजन अभियानलाई स्थानीय सरकारहरूले तीव्रता दिएका छन् ।

प्रकाशित मितिः   १५ पुष २०७९, शुक्रबार ०५:०५