जनचेतनाको कमी

बालविवाह ठूलो समस्या हो । तर यसको निराकरण हुन सकेको छैन । एकातिर बालविवाह समस्याको रूपमा छ भने सँगसँगै २० वर्षभन्दा कम उमेरमा गर्भपतन गराउने किशोरीहरूको संख्या भयावह देखिएको छ । कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको तथ्याङ्कअनुसार गर्भपतन गराउने किशोरीहरूको संख्यामा तुलनात्मक रूपमा वृद्धि भएको छ । कर्णालीमा २० वर्षमुनी उमेरका २१ प्रतिशतले असुरक्षित गर्भपतन गराउने गरेको पाइएको छ । गत वर्ष नेपाल सरकारले सूचिकृत गरेको स्वास्थ्य संस्था र सूचिकृत स्वास्थ्यकर्मीसँग कर्णालीमा चार हजार आठ सय ६० जनाले सुरक्षित रूपमा गर्भपतन गराएका थिए । प्रदेशभर अझै पनि ५७ प्रतिशत महिलाले असुरक्षित रूपमा गर्भपतन गराउने गरेको पाइएको निर्देशनालयले जनाएको छ । यो तथ्याङ्कले बालविवाह र असुरक्षित गर्भपतनको भयावह अवस्था देखाउँछ ।

कम उमेरमै विवाह गर्नु स्वास्थ्यका दृष्टिले गलत छ । त्यसैले कानुनले पनि यसलाई वर्जित गरेको छ । कम्तिमा २० वर्ष पुग्नुपर्ने उमेरहद निर्धारण गरिएको छ । तर नेपाली समाजमा आज पनि ठूलो संख्यामा बालविवाह भइरहेका छन् । बालविवाह न्यूनिकरणका प्रयासहरू पनि नभएका होइनन् । तर त्यस्ता प्रयासहरूले केही मात्रामा सकारात्मक प्रभाव देखिएपनि पूर्ण रूपमा प्रभावकारीता स्थापित गर्न सकेका छैनन् । जसले गर्दा बालविवाहको संख्या घटेको छैन । बालविवाह र उमेर नपुग्दै गर्भवती हुने र असुरक्षित पतन गर्नेको संख्या पनि बढ्दो छ । यसले धेरै युवतिहरूको स्वास्थ्य नै जोखिममा परेको विज्ञहरू बताउँछन् । उमेर नपुग्दै विवाह गर्नु र परिवार नियोजनका साधनको बारेमा पूर्ण जानकारी नहुँदा असुरक्षित गर्भपतन गराउनेको अधिक देखिने गरेको छ । जनचेनताको अभावले नै असुरक्षित गर्भपतनको दर बढेको छ । तथ्यांकअनुसार नेपालमा १९ प्रतिशत जन्म अनिच्छित गर्भधारणबाट हुने गरेको छ भने अहिले पनि २५ प्रतिशतलाई सुरक्षित गर्भपतन सेवाबारे जानकारी नै छैन । असुरक्षित गर्भपतनका कारण मातृ मृत्युदर पनि बढेको छ ।

कर्णालीमा बालविवाहको प्रचलनका कारण पनि किशोरी उमेरमै आमा बन्नेहरूको संख्या ठूलो छ । असुरक्षित रूपमा गरिने गर्भपतनबाट जोगिन महिलाहरूमा जनचेतना वृद्धिका लागि जोड दिइनुपर्ने देखिन्छ । सही सूचना प्रवाह नै असुरक्षित गर्भपतनको न्यूनीकरणको उत्तम उपाय हुनसक्दछ । बालविवाहलाई अन्त्य गर्न सकियो भने उमेर अपुगी असुरक्षित रूपमा गर्भपतन गराउने संख्यामा पनि कमी आउनेछ । यसका लागि शिक्षा र जनचेतना अपरिहार्य छ । अर्कोतर्फ किशोर तथा किशोरीहरूमा परिवार नियोजनका साधनहरूका बारेमा समेत जानकारी गराउन सकेको खण्डमा २० वर्षभन्दा कम उमेरका महिलाहरूले गर्भपतन गराउने दर घटाउनको लागि सघाउ पुग्नेछ ।

प्रकाशित मितिः   १४ पुष २०७९, बिहीबार ०५:०३