लागूऔषधको दुर्व्यसनी भयावह

सुर्खेत: लागूऔषधको सेवन तथा ओसारपसार बढ्दै गएको पाइएको छ । सुर्खेतसहित कर्णालीका विभिन्न जिल्लाहरूमा लागूऔषधका प्रयोगकर्ता र ओसारपसारमा संलग्नहरू हरेक दिनजसो पक्राउ परिरहेका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको यो अवधिमा लागूऔषध दूव्र्यसनीमा संलग्न ७२ जनालाई पक्राउ गरिएको छ । उनीहरूलाई कारबाहीका लागि कानुनी प्रक्रिया अघि बढाइएको छ । कर्णालीमा लागूऔषध सेवन र कारोबार गर्नेहरूको संख्या बर्सेनि बढ्दै गएको प्रहरीको तथ्याङ्क छ । लागूऔषध मुद्दामा पक्राउ परेका धेरैजसो किशोर अवस्थाका छन् । पछिल्ला वर्षहरूमा कलिलै उमेरमा लागूऔषधको लतमा पर्नेहरूको संख्या ठूलो छ ।

प्रदेश प्रहरी कार्यालयले गएका साढे दुई वर्षमा तीन सय ७२ जना लागूऔषधमा संलग्नहरू पक्राउ परेको छ । आर्थिक वर्ष २०७७/०७८ मा प्रदेशभर लागूऔषधसम्बन्धीका ७० वटा मुद्दा दर्ता भएका थिए । उक्त आर्थिक वर्षमा सो अभियोगमा एक सय ३६ जना पक्राउ परेका थिए । पछिल्लो आर्थिक वर्ष २०७८/०७९ मा ९५ वटा मुद्दा दर्ता भए । उक्त वर्ष एक सय ७२ जना पक्राउ परेका थिए । चालु आर्थिक वर्षको हालसम्म ७२ जना पक्राउ परेकोमा ४१ वटा मुद्दा दर्ता भइसकेका छन् ।

लागूऔषध सेवन तथा कारोबार बढ्दै जानु चिन्ताको विषय बनेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता ‐एसएसपी) माधवप्रसाद श्रेष्ठ बताउँछन् । उनले लागूऔषध सेवन र ओसारपसारको अभियोगमा पक्राउ पर्नेको संख्या हरेक वर्ष बढ्दोक्रममा रहेको बताए । सरोकारवालाहरूको प्राथमिकतामा नपरेकाले लागूऔषधको जालो झन् झन् बढेको जानकारहरू बताउँछन् । जसले गर्दा यसको प्रयोग र कारोबार नियन्त्रणमा आउन नसकेको हो । कर्णाली प्रदेशमा पनि लागूऔषध नियन्त्रणमा चुनौती रहेको प्रहरीले जनाएको छ । कर्णालीमा चालु आर्थिक वर्षका झन्डै साढे पाँच महिनामा एक सय १३ ग्राम ब्राउन सुगर, तीन ग्राम चरेश र चार सय ६ ग्राम गाँजा बरामद गरिएको छ । यही अवधिमा ४४ वटा लागूऔषधका ट्याब्लेटहरू बरामद गरेको प्रहरीको तथ्याङ्क छ । आर्थिक वर्ष २०७७/७८ मा ८४ ग्राम ब्राउन सुगर, ३६ किलो चरेश, ४० किलो गाँजा, पाँच सय ६९ वटा नाइट्रोभेट ट्याब्लेट, एक हजार एक सय ११ ट्रमाडोल र दुई सय ५३ वटा नाइट्राजेपाम बरामद गरिएको थियो ।
यस्तै, गत आर्थिक वर्ष २०७८÷०७९ मा ब्राउन सुगर एक सय १० ग्राम, चरेश एक केजी सात सय ९३ ग्राम, अफिम एक केजी आठ सय ग्राम, गाँजा नौ सय २८ ग्राम र ट्याब्लेट एक हजार आठ सय ७४ वटा बरामद गरिएको प्रहरीको तथ्याङ्क छ । प्रहरीका अनुसार हालसम्मको विवरण हेर्दा सुर्खेतमा सबैभन्दा बढी सेवनकर्ता र ओसारपसारमा संलग्नहरू पक्राउ परेका छन् । सुर्खेतमा आर्थिक वर्ष २०७७/०७८ मा ४९ वटा मुद्दा दर्ता भएका थिए भने ९४ जना पक्राउ परेका थिए । यो संख्या पछिल्ला आर्थिक वर्षहरूमा बढ्दै गएको छ । आर्थिक वर्ष २०७८/०७९ मा ६९ वटा मुद्दा दर्ता भएकोमा एक सय १८ जना पक्राउ परेका थिए । चालु आर्थिक वर्षमा यहाँ लागूऔषधसम्बन्धी ३३ वटा मुद्दा दर्ता भएका छन् भने ५३ जना पक्राउ परेका छन् । लागूऔषध पनि अन्य जिल्लाको तुलनामा सुर्खेतमा नै बढी बरामद हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक पर्शुराम चौधरीले लागूऔषध कारोबार तथा सेवनको अवस्था विकराल रहेको बताए । लागूऔषध कारोबार र सेवनमा १५ देखि २२ वर्ष उमेर समूहका बढी पक्राउ पर्ने गरेको उनी बताउँछन् । उनले भने, ‘पक्राउ पर्नेहरू र मुद्दाको संख्या हेर्दा लागूऔषधको दुव्र्यसनी बढ्दै गएको देखिन्छ ।’ लागूऔषध नियन्त्रणका लागि प्रहरीले विशेष योजना बनाएर काम गरिरहेको उनले बताए । प्रहरीले लागूऔषध सेवन तथा कारोबार संलग्नलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने तथा जनचेतनामूलक कार्यक्रमहरू पनि गर्ने गरेको छ ।

लागूऔषध सेवन र ओसारपसारमा किशोर तथा युवाहरूको संलग्नता बढी देखिने गरेको छ । केही वर्षयता लागूऔषध प्रयोग गर्ने किशोरीहरूको संख्या पनि बढेको छ । प्रयोग तथा ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले त्यस्ता व्यक्तिहरूलाई पक्राउ गर्दै आएको छ । नेपाल-भारत सीमा नाकाबाट ल्याइएको लागूऔषध सुर्खेतसहित कर्णालीका अन्य जिल्लासम्म ओसारपसार हुने गरेको छ । बाँकेस्थिति रूपैडिया नाका कर्णालीका लागि लागूऔषध ओसारपसारको ‘ट्रान्जिट पोइन्ट’ मानिन्छ । लागूऔषधको दुव्र्यसनी नियन्त्रण तथा ओसारपसार रोक्न प्रहरीले पछिल्लो समय सक्रियतासमेत बढाएको छ । जसले गर्दा दैनिकजसो प्रयोगकर्ता र ओसारपसारमा संलग्नहरू पक्राउ परिरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मितिः   १४ पुष २०७९, बिहीबार ०५:०५