प्रदेशस्तरीय कृषि सम्मेलन हुँदै

सुर्खेत: कर्णाली प्रदेशमा दिगो उत्थानशील खाद्य प्रणालीका लागि पर्यावरणीय कृषि सम्मेलन आयोजना गरिने भएको छ । संघीय र प्रदेश सरकाको साझेदारीमा वीरेन्द्रनगरमा सम्मेलन गर्न लागिएको हो । सम्मेलन आगामी फागुन १० देखि १२ गतेसम्म सञ्चालन हुनेछ । त्यसका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालय र प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले थालेका छन् । संघीय सरकारसँग मिलेर कर्णालीमा कृषि सम्मेलन गर्न लागेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. लेखराज दाहालले जानकारी दिए । उनका अनुसार सम्मेलनमा आमन्त्रित विदेशी पाहुनाहरूको व्यवस्थापन संघीय सरकारले गर्नेछ । अहिले सम्मेलनको पूर्व तयारीका काममा आफूहरू जुटेको दाहालले बताए ।

प्रदेशस्तरीय सम्मेलनका लागि संघ र प्रदेश सरकारले २०÷२० लाख बजेट विनियोजन गरेका छन् । उक्त कृषि सम्मेलनमा प्राङ्गगारिक कृषिसम्बन्धी अन्तराष्ट्रिय अनुसन्धानको प्रतिवेदन प्रस्तुत गरिनेछ । अन्तर्राष्ट्रियस्तरमा ख्याती कमाएका विज्ञहरूले सम्मेलनामा भाग लिने बताइएको छ । १७ जना अन्तर्राष्ट्रिय अनुसन्धानकर्तासँग सम्मेलनमा सहभागी बन्नेबारे कुरा भइरहेको मन्त्रालयले जनाएको छ । जलवायु परिवर्तनको असर कृषि क्षेत्रमा पर्ने गरेकाले हावापानी सुहाउँदो खेती प्रणाली अवलम्बन गर्न मार्गनिर्देश गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताइएको छ । त्यसका साथै कर्णालीका कृषि क्षेत्रका सम्भावनाको पनि खोजी गरिनेछ । जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको प्रभाव र त्यसको न्यूनीकरणको पहलका लागि सम्मेलनलाई महत्वका साथ हेरिएको छ ।

प्रकाशित मितिः   १४ पुष २०७९, बिहीबार ०५:०२