दलको नेतामा कँडेल र शर्मा

सुर्खेत: नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले कर्णाली प्रदेशसभा संसदीय दलको नेता चयन गरेका छन् । दुवै दलले बुधवार सर्वसम्मत रूपमा दलको नेता छानेका हुन् । एमालेले यामलाल कँडेललाई संसदीय दलको नेता बनाएको छ भने माओवादी केन्द्रले राजकुमार शर्मालाई नेता चुनेको हो । सुर्खेत क्षेत्र नं. २ प्रदेशसभा ‘क’ बाट निर्वाचित कँडेल एमाले स्थायी कमिटी सदस्य एवम् कर्णाली इञ्चार्जसमेत हुन् । त्यस्तै, रुकुम–पश्चिम प्रदेशसभा ‘ख’ बाट निर्वाचित शर्मा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य हुन् । दलको नेता चुनिएसँगै कँडेल र शर्मालाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । नयाँ सत्ता समीकरणअनुसार कर्णालीमा एमाले र माओवादी केन्द्रको गठबन्धन सरकार बन्दैछ । कर्णालीको नेतृत्व अर्थात् मुख्यमन्त्री कुन दलले पाउने भन्ने टुँगो लागिसकेको छैन । दुवै दलका नेताहरू नेतृत्व हत्याउने कसरतमा छन् । सोहीअनुसार प्रदेशबाट केन्द्रमा लविङ्ग थालिएको नेताहरूले बताएका छन् ।

सत्ता समीकरणअनुसार कँडेल र शर्मामध्ये एक जना मुख्यमन्त्री बन्ने भने पक्का भएको छ । यी दुवै नेताले मुख्यमन्त्रीको दाउ हेरिरहेका छन् । केन्द्रमा प्रदेशको भागबण्डा गर्दा कर्णाली एमालेको भागमा परे कँडेल र माओवादी केन्द्रले पाए शर्मा मुख्यमन्त्री बन्नेछन् । ४० सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रका १३ र एमालेका १० गरी २३ जना प्रदेशसभा सदस्य छन् । सरकार गठनका लागि यो संख्या पर्याप्त हो । कर्णालीमा सरकार बनाउन २१ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्रबाट एक÷एक जना सदस्य छन् । हालको एमाले–माओवादी सत्ता समीकरणमा प्रदेशमा पनि राप्रपाको समर्थन रहने बुझिएको छ । संघमा एमाले–माओवादी केन्द्रलगायत सात दल सम्मिलित संयुक्त सरकार निर्माण भइ प्रदेश सरकारहरू गठन गर्ने प्रक्रिया थालिएको छ ।

कर्णाली प्रदेशसभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल भएपनि पछिल्लो सत्ता समीकरणले गर्दा प्रतिपक्षमा बस्नुपर्ने भएको छ । कर्णाली प्रदेशसभामा कांग्रेसका १४ जना प्रदेशसभा सदस्य छन् । कांग्रेसले केही दिन पहिले बहालवाला मुख्यमन्त्री जीवनबहादुर शाहीलाई सर्वसम्मत दलको नेता चयन गरिसकेको छ ।

प्रकाशित मितिः   १४ पुष २०७९, बिहीबार ०५:०१