दुवै दलको नजर मुख्यमन्त्रीमा
सुर्खेत: नयाँ समीकरणअनुसार कर्णाली प्रदेशमा नेकपा ‐एमाले) र नेकपा ‐माओवादी केन्द्र) बीच सत्ता साझेदारी हुने भएको छ । एमाले–माओवादीको सरकार बन्ने निश्चितप्रायः भएपनि नेतृत्व कसले गर्ने भन्ने अझै टुँगो लागेको छैन । एमाले र माओवादी नेताहरू सरकारको नेतृत्व आफ्नो दलको भागमा पार्न केन्द्रसँग परामर्शमा छन् । उनीहरूले आ–आफ्नो च्यानलमार्फत केन्द्रीय नेतृत्वलाई दवाव दिइरहेका छन् । सत्ता साझेदार दलबीच सात वटै प्रदेशको भागबन्डा हुन बाँकी छ । कर्णालीमा एमाले र माओवादीमा कसले सरकारको नेतृत्व लिने भन्नेबारे आ–आफ्नै दाबी छन् । मंगलवार साँझसम्म संसदीय दलको नेतासमेत चयन नगरेका यी दुई दलले सरकारको नेतृत्वका लागि केन्द्रको निर्देशन कुरेका छन् । दलको नेता चुन्नेदेखि सरकार गठनसम्म उनीहरू केन्द्रकै भर परिरहेका हुन् ।
केन्द्रले प्याकेजमै टुंग्याउने भएकाले अहिले नै मुख्यमन्त्री कसको भागमा पर्छ भन्ने आकलन गर्न कठिन रहेको नेताहरूले बताएका छन् । यसपालि पहिलो चरणमा कर्णालीको मुख्यमन्त्री एमालेले पाउने सम्भावना बलियो देखिन्छ । अन्य प्रदेशको तुलनामा यो प्रदेशमा माओवादीको प्रभाव बलियो रहेकाले एमालेलाई नेतृत्व लिन त्यति सहज भने छैन । यद्यपि, कर्णाली सरकारको पहिलो कार्यकालमा एमाले र माओवादीबीच प्रदेशको भागबन्डा हुँदा कर्णाली माओवादीको भागमा परेको थियो । अहिले उस्तैखालको समीकरण बनेकाले मुख्यमन्त्री यसपटक एमालेले पाउने अड्कलबाजी सुरु भएका छन् । मुख्यमन्त्री पाउनुपर्ने विषयमा सशक्त दाबी गर्ने एमालेका कर्णाली प्रदेश कमिटी उपसचिव एवम् प्रदेशसभा सदस्य टेकराज पछाईं बताउँछन् । उनले सोहीअनुसार केन्द्रमा पहल भइरहेको जनाए ।
कर्णालीमा आफूहरूले मुख्यमन्त्री पाउनैपर्ने एमालेका अरु सांसदहरूको पनि जिकिर छ । अघिल्लो कार्यकालमा एमालेकै समर्थनमा माओवादीले मुख्यमन्त्री पाएकाले यसपटक सरकारको नेतृत्वका लागि स्वाभाविक रूपमा एमालेको दाबी रहने बताइएको हो । माओवादीले अघिल्लो पटक नेतृत्व गरिसकेकाले अहिले एमालेलाई मुख्यमन्त्री छोड्नुपर्ने एमाले नेताहरूको तर्क छ । यद्यपि, केन्द्रमा नै प्रदेशहरूको नेतृत्वबारे छलफल र निर्णय हुने भएकाले सोहीअनुसार नै अघि बढ्नुको विकल्प भने नरहेको उनीहरू बताउँछन् । एमाले स्थायी कमिटी सदस्यसमेत रहेका प्रदेशसभा सदस्य यामलाल कँडेलले मुख्यमन्त्री कसले लिने भन्ने विषयमा माथि नै छलफल हुने बताए । उनी भन्छन्, ‘यसका लागि प्रदेशस्तरमा छलफल हुँदैन, केन्द्रबाटै टुंग्याउने विषय हो ।’ केन्द्रमै गठबन्धनबीच कुन प्रदेश कसले लिने भनेर छलफल भइरहे पनि दलहरूले आ–आफ्नो दाबी भने गर्दै आएका छन् । दुवै दलहरू अहिले केन्द्रबाट आउने निर्देशन र निर्णयको पखाईमा छन् । केन्द्रीय गठबन्धनले जुन पार्टीले मुख्यमन्त्री लिने भन्ने सहमति गर्छ, त्यसैअनुसार हुने नेताहरूको भनाइ छ । माओवादीले पनि मुख्यमन्त्रीमा आफ्नो दाबी रहेको बताउँदै आएको छ । प्रदेशसभा सदस्य राजकुमार शर्माले मुख्यमन्त्रीमा आफूहरूको सशक्त दाबी रहेको जनाए । सोहीअनुसार नै छलफलहरू अघि बढाउने उनी बताउँछन् । ‘यो विषयमा हामीले प्रयास गर्ने हो, केन्द्रबाट नै टुँगो लाग्ने भएकोले अन्ततः उक्त निर्णयका आधारमा नै अघि बढ्छौँ,’ उनले भने ।
प्रदेशको नेतृत्वबारे भागबन्डा हुन बाँकी रहेपनि सरकारको नेतृत्व बारे छलफल सुरु भइसकेको छ । संवैधानिक व्यवस्थाअनुसार निर्वाचन परिणाम घोषणा भएको २० दिनभित्र प्रदेशसभाको बैठक आह्वान हुनेछ भने ३० दिनभित्र नयाँ सरकार गठन गरिसक्नु पर्नेछ । बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नेछन् । राष्ट्रिय राजनीतिमा फेरबदल आएसँगै त्यसको असर कर्णाली प्रदेशमा पनि परेको छ । संघीय सरकारदेखि प्रदेशसम्मका सत्ता समीकरण बदलिएका छन् । जसले गर्दा नेपाली कांग्रेस अब सरकारभन्दा बाहिर रहनेछ । कर्णाली प्रदेशसभाको पहिलो दल कांग्रेस प्रतिपक्षमा बस्ने भएको छ । माओवादी यसअघिको सत्ता गठबन्धबाट बाहिरिएपछि कांग्रेस प्रतिपक्षमा पुगेको हो । कर्णाली प्रदेशसभाको सबैभन्दा ठूलो दल कांग्रेसका १४ सांसद छन् । कर्णालीमा एमाले र माओवादीको गठबन्धन सरकार बन्नेछ । योसँगै एमालेले नेतृत्व गर्ने कि माओवादीले भन्ने विषय पेचिलो बन्दै गएको छ । ४० सदस्यीय प्रदेशसभामा माओवादीका १३ र एमालेका १० गरी २३ सांसद छन् । जुन सरकार गठनका लागि पर्याप्त संख्या हो । कर्णालीमा सरकार गठनका लागि २१ जना सांसदको समर्थन आवश्यक पर्छ । राष्ट्रिय राजनीतिको समीकरण हेर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि यी दुई दलको सरकारलाई समर्थन गर्ने देखिन्छ । कर्णाली प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना सांसद छन् ।
कर्णाली प्रदेशमा एमाले र माओवादी केन्द्रको सरकार बन्ने भएसँगै अब यी दुई दलबाट को मुख्यमन्त्री बन्ला भन्ने विषयमा चर्चा चुलिएको छ । खास गरी कर्णाली प्रदेशको भावी मुख्यमन्त्रीका लागि एमाले र माओवादीबाट चार जनाको नाम सुनिने गरेको छ । एमालेबाट यामलाल कंडेल र विनोदकुमार शाह तथा माओवादीबाट राजकुमार शर्मा र विन्दमान विष्टमध्ये एक जना मुख्यमन्त्री बन्ने आकलन गरिएको छ । मुख्यमन्त्री बन्नका लागि दलको नेता चुनिनुपर्छ । यी नेताहरू अहिले संसदीय दलको नेता बन्ने दौडधुपमा छन् । दुवै दलमा सर्वसम्मत संसदीय दलको नेता चयनको प्रयास भइरहेको बताइएको छ ।
प्रकाशित मितिः १३ पुष २०७९, बुधबार ०५:०७
मुना हमाल ।