जनप्रतिनिधिको उत्तरदायित्व

कर्णाली प्रदेशसभाका नवनिर्वाचित सदस्यहरूको कार्यकाल औपचारिक रूपमा सुरु भएको छ । उनीहरूले सोमवार पद तथा गोपनीयताको शपथ लिएका छन् । ज्येष्ठ सदस्य विनोदकुमार शाहले अन्य सदस्यहरूलाई शपथ गराएका हुन् । त्यसअघि शाहलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका थिए । नयाँ सदस्यहरूको संसद् प्रवेश उत्साहजनक देखिन्थ्यो । प्रदेशसभामा यसपटक अधिकांश नयाँ सदस्यको प्रवेश भएको छ । अघिल्लो कार्यकालमा सदस्य भइसकेका चार जना दोहोरिदा अन्य सबै नयाँ छन् । संसदीय राजनीतिको यात्रा स्वभाविक रूपमा उत्साहजनक हुने नै भयो । सुरुवातमा देखिएको उत्साह उनीहरूको भूमिका र जिम्मेवारीमा कति झल्किन्छ त्यो भने आगामी दिनमा देखिने नै छ । जनप्रतिनिधिको रूपमा प्रदेशसभाका सदस्यहरूको भूमिका क्रियाशील र रचनात्मक हुने अपेक्षा आम रूपमा गरिन्छ ।

धेरै सांसदहरूको संसदीय फाँटमा यो नै पहिलो अनुभव हो । त्यसैले अनुभव बटुल्नुका साथसाथै आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्नुपर्ने दायित्व सबै सदस्यहरूको काँधमा छ । आफूले प्रतिनिधित्व गर्ने क्षेत्र, भुगोल, समुदाय र वर्गका विषय र मुद्दाहरूलाई उठाउने, सरकारलाई नागरिकप्रति उत्तरदायि बनाउने र आवश्यकता अनुसारका कानुन निर्माणमा प्रभावकारी भूमिका निर्वाह गर्ने दायित्व बोकेर ४० जना सदस्य प्रदेशसभामा प्रवेश गरेका छन् । यो सुरुवाती उत्साह अधिकांशको अनुहार र अभिव्यक्तिमै देखिन्छ । नेकपा (एमाले)बाट समानुपातिक सांसद बनेकी दैलेखकी गोमता बिक लक्षित वर्गका सवालमा संसद्मा आवाज बुलन्द गर्ने बताउँछिन् । उनी जनताको हितमा काम गर्ने उत्साहका साथ संसद्मा छिरेकी छन् । उनले आफूले सिक्दै जनताको हितका सवालमा काम गर्ने बताइन् । सांसद विकमा विकास निर्माणको कामसँगै नीति निर्माणमा उल्लेखनीय योगदान गर्ने हुटहुटी छ । प्रदेशवासीको हित हुने जुनसुकै काममा आफू संसद्मा सक्रियतापूर्वक लाग्ने उनी बताउँछिन् । कर्णाली प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक्ली प्रदेशसभा सदस्य सन्तोषी शाहीले पनि आफ्नो दलका राजनीतिक एजेन्डालाई स्थापित गर्नेगरी प्रदेशसभामा सशक्त भूमिका खेल्ने उनले बताइन् । कर्णाली प्रदेशसभामा नेकपा (एकीकृत समाजवादी) पार्टीकी एक्ली सांसद हुन, कल्याणी खड्का । प्रदेशसभामा उनको पनि पहिलो यात्रा हो । समानुपातिक सांसदमा चयन भएकी उनले जनताका आवाज बोकेर आएको बताइन् । उनीहरू त उदाहरण मात्रै हुन्, शपथ ग्रहणमा भेटिएका अधिकांश सांसदहरूमा उस्तै उत्साह देखिन्थ्यो ।

मुलुक संघीय संरचनामा गएसँगै बनेको प्रदेश सरकार र संसदले आफ्नो पहिलो कार्यकाल पूरा गरिसकेका छन् । नयाँ निर्वाचनसँगै दोस्रो कार्यकाल सुरु भएको छ । पहिलो कार्यकाल केही उत्साहजनक र केही निराशाजनक रह्यो । विगतबाट सिकेर अघि बढ्नुपर्ने आवश्यकता देखिन्छ । सुरुवातमा देखिएको उत्साहलाई कायम राख्दै जनपक्षीय काम गर्न नवनिर्वाचित सांसदहरूलाई शुभकामना ।

प्रकाशित मितिः   १३ पुष २०७९, बुधबार ०५:०३