विद्यालयहरू कसरी फेल हुन्छन् ?

विद्यालय नागरिकहरूले शिक्षा हासिल गर्नका लागि वा नागरिकहरूलाई शिक्षित बनाउनका लागि स्थापना गरिएका सरकारी तथा निजी शैक्षिक संस्था हुन् । निजी विद्यालयहरू गुणस्तरिय शिक्षा दिनका लागि स्थापना गरिएका हुन् भन्ने मान्यता छ । र, पनि व्यापारिक उद्देश्यले स्थापना भएको यथार्थ लुकाउन सकिदैन । सरकारी विद्यालय अव्यवस्थित र अपहेलित भएकै कारणले निजी विद्यालयहरूको हाईहाई भइरहेको छ । सरकारी विद्यालयहरूमा निती, नियमहरू कागजमा राम्ररी कोरिय पनि कार्यान्वनको पक्षमा चुक्दा निजी विद्यालयहरूको तुलनामा सरकारी विद्यालयहरूलाई टर्च बालेर खोज्नुपर्ने स्थिति सिर्जना भएको छ ।

सरकारी विद्यालयहरू सबै नराम्रा छन् भन्ने पनि होइन । सयमा दुईचार वटा विद्यालयबाहेक अन्य विद्यालयहरूको अवस्थालाई मुल्याङ्कन गर्ने हो भने स्थिति दयनिय छ । अब हामी कल्पना गरौँ । तिनै विद्यालयबाट निस्केका विद्यार्थीले यो देशको कुन विभाग वा क्षेत्रमा योगदान देलान् ? यिनै विद्यालयबाट निस्केका विद्यार्थी यो देशको कुनै न कुनै क्षेत्रमा काम गर्ने छन्, उनीहरूले गरेको वा बनाएको काम कस्तो होला ? यो सोचमग्न प्रश्न हो, सोचौँ । हामी कता जादैछौँ, फुर्सद मिलाएर सोचौँ ।

यसो त निजी विद्यालयमा पढाइ राम्रो नै हुन्छ भन्ने पनि होइन । आम बुझाई निजी विद्यालयहरूमा पढाइ राम्रो हुन्छ भन्ने प¥यो । त्यसपछि निजी विद्यालय प्रतिको आकर्षण र मोह बढ्दै गयो । निजी विद्यालयमा पढेकाहरूको पढाइमा परिवर्तन महसुस हुन थाल्यो । अङ्ग्रेजी भाषामा धेरै विषयहरू पढाई हुने हुँदा निजी विद्यालयमा पढ्नेहरूको अङ्ग्रेजी राम्रो भयो । अङ्ग्रेजी राम्रो हुन बित्तिकै हामीले ट्यालेन्टको ट्याग लगाइदिऊ । अङ्ग्रेजी अन्तराष्ट्रिय साझा भाषा भएका कारणले यति महŒव बढेको हुनसक्छ । तर, एउटा ठूलो भ्रमबाट हामी बाहिर आउन जरुरी छ । त्यो के भने जसरी निजी विद्यालय पढेकाहरूको अङ्ग्रेजी राम्रो हुन्छ । त्यसरी नै सरकारी विद्यालयमा नेपालीमा धेरै विषयहरू पढाइ हुने हुँदा सरकारी विद्यालयमा विद्यार्थीहरू नेपाली भाषामा राम्रो हुन्छन् । सरकारी विद्यालयमा पढेकाहरूको आत्मविश्वास किन कमजोर हुनजान्छ भने उनीहरू अङ्ग्रेजी जान्नु ठूलो कुरा सम्झन्छन् । उता निजी विद्यालयमा पढ्नेहरूलाई नेपाली विषयले टाउको दुखाएको हुन्छ । हाम्रो मनोविज्ञान यसरी काम गर्दाेरहेछ । हामी आफ्नो समस्यालाई मात्र ध्यान दिइरहेका हुन्छौँ । आफ्नो साईडबाट एकतर्फी हेरिरहेका हुन्छौँ । र, धारणा बनाउँछौँ । जसरी सिक्सलाई अर्काे साइडबाट हेर्दा नाइन् देखिन्छ । त्यसरी नै हरेक विषयलाई एकतर्फी मात्र हेरेर धारणा निर्माण गर्दा मुल कुरा आउँदैन । मुल कुरा समस्या निजी विद्यालयमा पढे पनि छ । सरकारी विद्यालयमा पढेपनि छ । अझ अहिले त सरकारी विद्यालयमा अङ्ग्रेजी भाषामा पनि पढ्न मिल्छ । अब यदि सरकारी विद्यालयमा पढाइ राम्रो भएन भने शिक्षण विधी फेल भयो सोच्नुपर्छ ।

विद्यालय प्रशासनः

एउटा विद्यालयको मेरुदण्ड विद्यालय प्रशासन हो । विद्यालयका आचारसंहिता, निति नियम, कार्यक्रम, योजना, नाफा घाटा तथा विविध विषय यसै अन्तर्गत पर्दछन् । विद्यालय कुन मोडलबाट अगाडी बढ्छ ? विद्यालयको अल्पकालिन र दिर्घकालिन लक्ष्य र सोच के छ ? कसरी हरेक दिन विद्यालयमा हुने क्रियाकलाप तथा ग्रोथको मुल्याङ्कन गरिन्छ ? शिक्षकहरू विचको सम्बन्ध राम्रो बनाउन विद्यालय प्रशासनको भूमिका के छ ? विद्यालय प्रशासनले शिक्षकहरूमा उत्प्रेणा जगाउने खालका कुनै निति नियम बनाएको छ वा छैन ? विद्यालय प्र्रशासनले समयको मागलाई बुझेर निति नियममा परिवर्तन ल्याएको छ वा छैन ? जस्ता धेरै विषयमा विद्यालय प्रशासन सजग हुनुपर्छ ।

विद्यालयलाई सफल वा असफल बनाउन विद्यालय प्रशासनको सबैभन्दा ठूलो भूमिका रहन्छ । यदि विद्यालयको प्रशासन कमजोर हुन्छ भने विद्यालय बर्बाद हुन धेरै समय लाग्दैन । शिक्षकहरू अल्छि हुने, तलबका लागि समय कटाउने जस्ता हर्कत देखिन थाल्छन् । विद्यार्थीहरूमा पनि अनुशासनको पालना हुँदैन । जसकारण विद्यालय विद्यालय जस्तो रहँदैन । देखिँदैन ।

विद्यालय व्यवस्थापनः

सरकारी विद्यालयहरूमा विद्यालय व्यवस्थापन समिती हुन्छ । जसले स्कूल तथा विद्यार्थीका हक हित र विद्यालयलाई नमुना बनाउनका लागि कार्य गर्दछ । व्यवस्थापन समिती विद्यालयलाई चलायमान र गतिशील बनाउन लागिरहनु पर्दछ । बेलाबेला विद्यालयको मुल्याङ्कन, नयाँ कार्यक्रम, राम्रा शिक्षकहरूको आगमन र विद्यार्थीका समस्याहरूलाई सम्बोधन गर्ने जस्ता काम निरन्तर रूपमा गरिहनु पर्दछ ।

निजी विद्यालयमा व्यवस्थापन समिती नभइ विद्यालय संचालकहरूले नै सम्पूर्ण क्रियाकलाप र कार्यक्रमहरूको निगरानी राख्नुपर्ने हुन्छ । यसो गर्दा विद्यालयका क्रियाकलाप तथा कार्यक्रम प्रभावकारी हुन्छन् । तर, सञ्चालकले धेरै नै खटिनुपर्ने हुन्छ । यसरी विद्यालयको निगरानी राख्न सकेँ । सरकारी तथा निजी विद्यालयहरू प्रभावकारी र गुणस्तरिय शिक्षाका साथ अगाडि बढ्दछन् । यदि समयको माग अनुसारको शिक्षा, सीप र ज्ञान यिनी शैक्षिक संस्थाहरूले व्यवस्थापन गर्न सकेनन् भने विद्यार्थी असफल हुन्छन् नै सँगै विद्यालय पनि असफल हुन्छन् ।

विद्यालयको विज्ञापनः

हरेक विद्यालयहरूले आफ्नो विद्यालयमा नयाँ विद्यार्थीहरूलाई निमन्त्रणा दिने सजिलो र उत्तम माध्यम भनेको विज्ञापन हो । सरकारी तथा निजी विद्यालयहरूले आफूले गरेका क्रियाकलाप र कार्यक्रमहरूको विज्ञापन गर्न सकेनन् भने उनीहरूको संस्था प्रति आकर्षित कोही किन होस् ? झन् यो विज्ञान र प्रविधीको समयमा कोही विद्यालयमा भौतिक रूपमा उपस्थित भएर विद्यालयका बारेमा जान्न उच्छुक हुँदैन । सामाजिक सञ्जाल तथा विद्यालयको आधिकारीक साईटमा राखिएका सामग्रीहरूले नै अभिभावक तथा विद्यार्थीलाई आकर्षित गर्न सकियो भने विद्यार्थीहरू जसरी पनि मन परेको शैक्षिक संस्थामा पढ्नको लागि हतार गर्छन् ।

यो समयमा कसको हातमा मोबाईल फोन छैन ? यस्तो समयमा विद्यालयहरू डिजिटल रूपमा पनि अगाडी बढ्नुपर्छ । नत्र भने न विद्यालयले गति लिन सक्छ न त विद्यार्थीको नै प्रगति हुन्छ । जति सक्यो सरकारी तथा निजी विद्यालयहरूले आफ्नो कार्यक्रम तथा क्रियाकलापहरू आफ्ना आधारिक साईटहरूमा राख्नुपर्छ । एकातर्फ यिनी विद्यालयका दस्तावेज हुन जान्छन् भने अर्काेतर्फ यिनी कुराहरू हेरेर अन्य विद्यालयहरूले पनि आफूलाई सुधार्ने तथा परिष्कृत गर्ने मौका पाउँछन् । अन्ततः हामीले खोजेको गुणस्तरिय र व्यावहारिक शिक्षा नै त हो ।

शिक्षक र विद्यार्थीः

विद्यालयले शिक्षक र विद्यार्थीहरू प्रति गरिने व्यवहार र निर्देशनलाई धेरै भन्दा धेरै ख्याल गर्नुपर्छ । विद्यालयहरूलाई लाग्छ, यिनीहरू हाम्रो विद्यालयमा अध्ययन, अध्यापन गरिरहेका छन् । विद्यालय राम्रो मान्छन् । आफ्नो विद्यालयका बारेमा नराम्रो भन्न त के सोच्नसम्म पनि सक्दैनन् । यो कुरा ठ्याक्कै उल्टो हुन जान्छ । जहाँ पढ्ने विद्यार्थीहरूलाई पनि सोधौँ । उनीहरू आफ्नो विद्यालयका बारेमा सबैभन्दा नराम्रो भनिरहेका हुन्छन् । शिक्षकहरू पनि केही न केही नपुगेको प्रसङ्ग उठान गरिरहेका हुन्छन् ।

त्यसैले विद्यालय समयै सचेत हुनुपर्छ । उनीहरूले विद्यालयमा धेरै समय बिताउने भएकोले विद्यालयका बारेमा उनीहरूलाई नै धेरै कुरा थाहा हुन्छ । उनीहरूले नै बाहिर गएर विद्यालयका बारेमा राम्रा वा नराम्रा कुरा गर्छन् । विद्यालयले यसम विषयमा ध्यान दिनुपर्छ– टाढाका मानिसहरूबाट जो पनि बच्नसक्छ । बच्न गाह्रो नजिकका मान्छेबाट हुन्छ । जो हाम्रो मित्रका रूपमा हुन्छन् ।

प्रकाशित मितिः   ११ पुष २०७९, सोमबार ०५:०४