प्राथमिकतामा सडक

पूर्वाधार विकासको आधारमा रूपमा सडकलाई लिइन्छ । अन्य विकासका लागि पनि सडक अपरिहार्य छ । त्यसैले सरकारले सडक निर्माणमा ठूलो लगानी गर्ने गर्दछ । अघिल्लो कार्यकालमा स्थानीय सरकारले पनि सडक पूर्वाधार निर्माणमा ठूलो लगानी गरे । स्थानीय तहको पहिलो कार्यकालमा वडैपिच्छे सडकका ट्रयाक खोलिए । विगतमा सडक सुविधा नपुगेका धेरै ठाउँ भएकाले पनि यसले प्राथमिकता पायो । कतै नयाँ सडक निर्माण भएभने कतै स्तरोन्नति गरियो । तीनै तहका सरकारले सडकलाई आफ्नो उच्च प्राथमिकतामा राखे । संघीय सरकारले ठूला सडक, प्रादेशिक महङ्खवका सडकलाई प्रदेश सरकार र स्थानीय सडक सञ्जाल विकासमा स्थानीय सरकार सक्रिय रहे । जसले गर्दा गएका पाँच वर्षमा पूर्वाधार विकासतर्फ सडक निर्माणले प्राथमिकता पायो ।

अघिल्लो कार्यकालमा सडक खन्ने कामलाई प्राथमिकता दिएका स्थानीय सरकारले अहिले तीनै सडकको स्तरोन्नतिमा जोड दिएका छन् । चालु आर्थिक वर्षमा पनि अधिकांश पालिकाको पहिलो प्राथमिकता सडक पूर्वाधार नै परेको हो । पालिकावासी सबैको सडकमा भरपर्दो र सहज पहुँच पु¥याउने उद्देश्यले सडक निर्माणलाई तीव्रता दिइएको स्थानीय तहका जनप्रतिनिधिहरू बताउँछन् । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाले यो वर्ष नयाँ सडक निर्माणभन्दा भएका सडक सुधार गर्न धेरै बजेट विनियोजन गरेको छ । सडकको ट्रयाक विस्तार गर्नेभन्दा स्तरोन्नतिका कार्यक्रमहरूलाई जोड दिएको छ । सुर्खेतकै लेकवेशीमा पहिलो कार्यकालमा तीनवटै तहका सरकारको समन्वयमा बाटो निर्माणमा जोड दिइएको थियो । चालुु आर्थिक वर्षमा नगरपालिका आफैले सडक पूर्वाधारका लागि करोडौ बजेट विनियोजन गरेको छ । त्यसका साथै प्रदेश र संघीय सरकारका सडक आयोजनाहरू पनि सञ्चालन भइरहेका छन् । कालीकोटको पचालझरना गाउँपालिकाले पनि यो वर्ष सडक स्तरोन्नतिको कामलाई उच्च प्राथमिकतामा राखेको छ । पालिकाका नौ वटै वडामा सडक पुुगेको छ । त्यसमध्ये तीन वटा वडामा मात्र सडक सञ्चालनमा छन् । दुर्गमका पालिका मात्र नभइ प्रदेश राजधानीकै नगर वीरेन्द्रनगरमा पनि सडक पूर्वाधारलाई प्राथमिकता दिइएको छ । यहाँ पछिल्लो समय मुख्य तथा सहायक सडकहरू स्तरोन्नतिका काम थालिएका हुन् । नगरपालिकाले उपत्यकाका मुख्य सडकहरू फराकिला र सहायक सडकको स्तरोन्नतिमा जोड दिएको छ ।

सडक निर्माणले प्राथमिकता पाउनु सकारात्मक पक्ष हो । यसले विकासका अन्य पूर्वाधार विस्तारमा समेत सघाउ पु¥याउँछ । तर सडक निर्माणका नाममा हचुवाका भरमा योजना बनाउने गरिएको समेत छ । यस्ता विकृति भने रोक्नुपर्दछ । दिगो विकासको अवधारणालाई आत्मसाथ गर्दै पूर्वाधार विकासमा ध्यान दिन सकेमा मात्रै त्यसले प्रतिफल दिनसक्दछ ।

प्रकाशित मितिः   ११ पुष २०७९, सोमबार ०५:०३