अतिक्रमण हटाऊ
वीरेन्द्रनगरलाई व्यवस्थित गर्ने योजना निकै अघिदेखिको हो । जसअनुसार अतिक्रमित सडक क्षेत्रका भौतिक संरचना हटाउन सुरु गरिएको छ । सडक तथा फुटपाथ क्षेत्रको व्यवस्थापन गरी नगरलाई सुरक्षित एवम् व्यवस्थित बनाउने अवधारणा अघि सारिएको छ । नगरपालिकाले उपत्यकाको मुख्य प्रवेशद्वार सुब्बाकुनादेखि बाङ्गेसिमलसम्म आसपासका सडक क्षेत्रमा पर्ने अनाधिकृत संरचना हटाउन सार्वजनिक सूचना गर्दै आएको छ । सार्वजनिकस्थल सडक, पार्क, सरकारी भवन संरक्षित क्षेत्रमा गैरकानुनी रूपमा बनाइएका संरचना हटाउने कार्यमा नगरपालिका अघि बढेको छ । नगरपालिका सार्वजनिक जग्गाको संरक्षण गर्दै योजनाबद्ध विकास र व्यवस्थित सहरको अवधारणाअनुसार अघि बढेको छ । उक्त अभियानमा भने पाइलैपिच्छे चुनौती देखिएका छन् ।
वीरेन्द्रनगर नगरपालिकाले गत भदौ २१ गतेदेखि सार्वजनिक क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचना हटाउन थालेको हो । सार्वजनिक सूचना जारी गरेर संरचना हटाउन अनुरोध गरिए पनि बजार क्षेत्रकै कैयन् ठाउँमा अवरोध कायमै छ । अहिले मुख्य बजार क्षेत्र (मंगलगढी चोकदेखि गणेश चोकसम्म) को सडक विस्तारको काम अघि बढाइएको छ । निर्माण ठेक्का सम्झौता भएको लामो समय भइसक्दा पनि अझै सो ठाउँमा सबै सडक क्षेत्र खाली भइसकेको छैन । जसले गर्दा सडक विस्तारको काम प्रभावित बनिरहेको छ । अवरोध हटाउन ढिलाइ हुँदा सडक स्तरोन्नतीको काम सुस्त छ । उपत्यकाभित्रका मुख्य सडक क्षेत्रमा पर्ने संरचना हटाउनसमेत स्थानीयले अटेरी गर्दै आएका हुन् । नगरपालिका र वडाहरूले यसअघि पटक–पटक सार्वजनिक सूचना जारी गर्दा पनि धेरै स्थानमा सडक क्षेत्र खाली नभएको हो । अतिक्रमण गरी बनाइएका घरटहरालगायतका अवैध भौतिक संरचना हटाउन नगरलाई हम्मेहम्मे परेको छ । नगरपालिकाले सडक विस्तार तथा स्तरोन्नतीका कामलाई प्राथमिकतामा राखेर अहिले सोहीअनुसार अवरोधहरू हटाउन लागेको जनाएको छ । नगरको व्यवस्थित विकासको योजनामा भने थुप्रै बाधा आइरहेका छन् ।
वीरेन्द्रनगर पछिल्ला वर्षहरूमा अव्यवस्थित सहरीकरणको मारमा छ । प्रदेश राजधानी भएसँगै यहाँ जथाभाबी बस्ती विकास भइरहेको छन् । सोही सवाललाई सम्बोधन गर्न नगरले भर्खरै भू–उपयोग नीतिसमेत निर्माण गरी लागू गरेको छ । सडक अतिक्रमण क्षेत्र यथासक्य हटाउन पहल थालेको नगरपालिकाले हाल खाली गर्नुपर्ने क्षेत्रको साइड छुट्याउने, क्षेत्राधिकारको क्षेत्र र नक्साहरू यकिन गर्ने काम गरिरहेको छ । सार्वजनिक जग्गाहरू अतिक्रमण भएको क्षेत्र पहिचान गर्नेलगायतका अवस्थाको स्थितिबारे अध्ययन थालिएको छ । सडक व्यवस्थित गर्ने गर्ने कार्यमा सबैको सहयोग हुन जरुरी छ । सार्वजनिक क्षेत्रको अतिक्रमण हटाएर नगरलाई थप व्यवस्थित र गुरुयोजनाअनुसार विकास गर्न नगरपालिका पनि थप गम्भिर हुन जरुरी छ ।
प्रकाशित मितिः १० पुष २०७९, आईतवार ०५:०३
सम्पादकीय ।