पालिकाको प्राथमिकता सडक स्तरोन्नति

सुर्खेत: अघिल्लो कार्यकालमा स्थानीय सरकारले सडक पूर्वाधार निर्माणमा ठूलो लगानी गरे । स्थानीय तहको पहिलो कार्यकालमा वडैपिच्छे सडकका ट्रयाक खोलिए । गएका पाँच वर्ष सडक खन्ने कामलाई प्राथमिकता दिएका स्थानीय सरकारले अहिले तीनै सडकको स्तरोन्नतिमा जोड दिएका छन् । चालु आर्थिक वर्षमा पनि अधिकांश पालिकाको पहिलो प्राथमिकता सडक पूर्वाधार नै परेको हो । पालिकावासी सबैको सडकमा भरपर्दो र सहज पहुँच पु¥याउने उद्देश्यले सडक निर्माणलाई तीव्रता दिइएको स्थानीय तहका जनप्रतिनिधिहरू बताउँछन् ।

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाले यो वर्ष नयाँ सडक निर्माणभन्दा भएका सडक सुधार गर्न धेरै बजेट विनियोजन गरेको छ । सडकको ट्रयाक विस्तार गर्नेभन्दा स्तरोन्नतिका कार्यक्रमहरूलाई जोड दिएको नगरप्रमुख लालवीर भण्डारीले बताए । पालिकासँग पर्याप्त बजेट नहुँदा भने काम गर्न असहज भइरहेको उनले जनाए । ‘हामीले सडक स्तरोन्नतिका कार्यक्रमका लागि अन्य क्षेत्रभन्दा बढी बजेट छुट्याएका छौँ, तर त्यो पनि पर्याप्त भने छैन,’ उनले भने, ‘सडक पूर्वाधारको विकासका लागि आर्थिक स्रोतको जोहो गर्न प्रयासहरू थालिएको छ ।’ यो पटक नयाँ सडक कम र पुरानाको स्तरोन्नतिमा बढी जोड दिइएको भण्डारीले बताए । उनका अनुसार पञ्चपुरीका सबैजसो सडक कच्ची छन् । सडक पूर्वाधार गतिलो नहुँदा नगरवासीले बाह्रै महिना सास्ती खेप्नुपरिरहेको छ । विकास ओसार्ने मुख्य माध्यम सडक नै भएकाले पनि पालिकाले यसलाई नै प्राथमिकतामा राखेको जनाएको छ । नागरिकको सहजताका लागि भरपर्दो सडक पूर्वाधार निर्माणमा जोड दिइएको नगरप्रमुख भण्डारीको भनाइ छ ।

पालिकाहरूमा अघिल्लो कार्यकालमा धमाधम खनिएका सडक गुणस्तरीय छैनन् । ती सडकहरूमा तीन महिना पनि मुस्किलले गाडि सञ्चालन हुन्छन् । प्राविधिकहरूको सल्लाहविना नै जथाभावी खनिएका सडक थुप्रै छन् । कच्ची र जोखिमपूर्ण सडकहरूले सास्ती हुन थालेपछि अहिले नागरिकस्तरबाट पनि गुणस्तरीय बाटो निर्माणको माग गर्न थालिएको छ । धमाधम खोलिएका सडकले दुर्घटना हुन थालेपछि सडक स्तरोन्नतिको माग धेरै आउने गरेको जनप्रतिनिधिहरू बताउँछन् । सुर्खेतको लेकवेशी नगरपालिका जिल्लाका अन्य पालिकाको तुलनामा भौतिक पूर्वाधारमा पछाडि छ । यहाँ सबैभन्दा धेरै सडक निर्माण र स्तरोन्नतिको माग हुने गरेको नगरप्रमुख उमेशकुमार पौडेलले बताए ।

लेकवेशीमा पहिलो कार्यकालमा तीनवटै तहका सरकारको समन्वयमा बाटो निर्माणमा जोड दिइएको थियो । चालुु आर्थिक वर्षमा नगरपालिका आफैले सडक पूर्वाधारका लागि करोडौ बजेट विनियोजन गरेको छ । त्यसका साथै प्रदेश र संघीय सरकारका सडक आयोजनाहरू पनि सञ्चालन भइरहेका छन् । ‘सडक सुधार विस्तारमा पालिकाले ठूलो लगानी गर्दैछ,’ नगर प्रमुख पौडेल भन्छन्, ‘खासगरी कच्ची र जीर्ण सडकलाई बाह्रै महिना सञ्चालनमा ल्याउने योजनासहित कामहरू भइरहेका छन् ।’ यो वर्ष सडक स्तरोन्नतिका कार्यक्रमका लागि बजेटसमेत पर्याप्त छुट्याइएको उनले जनाए । सहरी विकास तथा भवन निर्माण कार्यान्वयन इकाई सुर्खेतले लेकवेशीका तीनवटा ठूला सडक स्तरोन्नतिको काम अघि बढाइएको छ । नगरको वडा नं. ४ मा एक करोड ३५ लाखमा सडक कालोपत्रे गरिँदैछ भने वडा नं. १ मा ९५ लाखको लागतमा सडक सुधारका काम भइरहेका छन् । प्रदेशको समपूरक बजेटमा पालिकाका वडा नं. १, ७ र ८ मा दुई करोड ६२ लाख लगानीमा सडक स्तरोन्नति थालिएको छ । यस्तै, वडा नं. ९ मा ४५ लाख लगानीमा सडक सुधारको काम अघि बढेको नगरप्रमुख पौडेलले बताए । नगरका विभिन्न स्थानमा एक करोड ४० लाख बजेटमा नालीसहितका सडकहरू ग्रावेल गर्ने कार्य सुरु गरिएको छ । लेकवेशीमा सञ्चालन भएका धेरै सडक योजना भने बहुवर्षीय हुन् ।

कालीकोटको पचालझरना गाउँपालिकाले पनि यो वर्ष सडक स्तरोन्नतिको कामलाई उच्च प्राथमिकतामा राखेको छ । पालिकाका नौ वटै वडामा सडक पुुगेको छ । त्यसमध्ये तीन वटा वडामा मात्र सडक सञ्चालनमा छन् । अधिकांश सडकहरूमा गाडि गुड्ने अवस्था नरहेको गाउँपालिकाका अध्यक्ष देवराज शाहीले बताए । पालिकाले चालु आर्थिक वर्षमा तीनै सडकको मर्मत सम्भारमा चासो दिएको उनले जनाए । ‘भएका बाटोलाई नै सुधार गरेर यातायात सेवा सहज बनाउन लागिएको छ,’ उनले भने, ‘व्यवस्थित र भरपर्दो सडक नहुँदा दुर्घटनाको जोखिम धेरै छ ।’ विपद् कोषको बजेटबाट समेत सडक मर्मतका कामहरू थालिएको उनी बताउँछन् । दुर्गमका पालिका मात्र नभइ प्रदेश राजधानीकै नगर वीरेन्द्रनगरमा पनि सडक पूर्वाधारलाई प्राथमिकता दिइएको छ । यहाँ पछिल्लो समय मुख्य तथा सहायक सडकहरू स्तरोन्नतिका काम थालिएका हुन् । नगरपालिकाले उपत्यकाका मुख्य सडकहरू फराकिला र सहायक सडकको स्तरोन्नतिमा जोड दिएको छ ।

प्रकाशित मितिः   १० पुष २०७९, आईतवार ०५:०५