महासंघद्वारा १५ बुँदे सुर्खेत घोषणा–पत्र जारी
सुर्खेत: नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभाले १५ बुँदे घोषणा–पत्र जारी गरेको छ । दुईदिने वीरेन्द्रनगरमा सञ्चालन भएको साधारण सभाले महासंघको आगामी कार्यनीति र पेसागत हकहितका सवालमा सुर्खेत घोषणा–पत्र जारी गरेको हो । शुक्रवारदेखि सुरु साधारण सभा घोषणापत्र जारी गर्दै शनिवार सम्पन्न भएको छ । साधारण सभाले महासंघका महासचिव, कोषाध्यक्ष र लेखा समिति संयोजकको प्रतिवेदन पारित गरेको छ । नागरिक अधिकार, प्रेस स्वतन्त्रता र सूचनाको हक सुनिश्चित गर्न माग गर्ने, सम्बन्धित निकायलाई ‘डिजिटल’ माध्यममार्फत प्रेस स्वतन्त्रता हनन्का घटनामा संलग्नमाथि कानुनी कारबाहीका लागि माग गर्ने घोषणा–पत्र उल्लेख छ । त्यस्तै, जारी घोषणा–पत्रमा संविधान अनुसारका सञ्चार कानुनहरू तत्काल निर्माण गर्न र पुराना कानुनहरूमा सुधार ल्याउन माग गरिएको छ । श्रमजीवी पत्रकारका पक्षमा गर्दै आएको दबाबमूलक कार्यक्रम तथा कानुनी उपचारलाई अझ सशक्त बनाउन महासंघ केन्द्रीय समितिलाई निर्देशन गर्ने घोषणा–पत्रमा उल्लेख छ ।
त्यसैगरी, छापा प्रकाशनलाई डिजिटल माध्यममा रूपान्तरण गर्न चाहेमा निरन्तरतासहितको मान्यता प्रदान गर्न सरकारसँग माग गर्ने, श्रमजीजी पत्रकारको निःशुल्क उपचार, दुर्घटना र स्वास्थ्य बिमाका सम्बन्धमा विगतमा नेपाल सरकारले गरेका निर्णयहरूको प्रभावकारी कार्यान्वयनको लागि सरकारसँग माग गर्ने घोषणा–पत्रमा जनाइएको छ । मुलुकको बहुलता र विविधतालाई आत्मसात गर्दै सञ्चार प्रतिष्ठानहरूका विषयवस्तु र संरचनालाई लैंगिक, समावेशी र अपाङ्गतामैत्री एवम् कार्यस्थललाई सुरक्षित बनाउन सबै सञ्चार प्रतिष्ठानहरूलाई आह्वान गर्ने जारी घोषणा–पत्रमा उल्लेख गरिएको छ । सञ्चारकर्मीका लागि पेशागत दक्षता र क्षमता अभिवृद्धि तथा वृत्ति–विकासका लागि सञ्चालन गर्दै आएका कार्यक्रमहरूलाई अभियानकै रूपमा अघि बढाउन निर्देशन गर्ने घोषणा–पत्रमा भनिएको छ । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभाकर्णाली प्रदेशमै पहिलोपटक आयोजना गरिएको थियो । साधारण सभालाई शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । साधारण सभामा महासंघका राष्ट्रिय परिषद् सदस्यसहित ७७ वटै जिल्ला शाखा र वैदेशिक शाखाका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो । झन्डै सात सय जना पत्रकारहरूको सहभागितामा साधारण सभा सम्पन्न भएको महासंघले जनाएको छ ।
प्रकाशित मितिः १० पुष २०७९, आईतवार ०५:०१
साझा बिसौनी ।