निरक्षरताको अन्त्य

कर्णाली प्रदेशमा अझै पनि निरक्षरको संख्या ठूलो रहेको पाइएको छ । यहाँका ३४ प्रतिशत नागरिक अहिले पनि लेखपढ गर्न जान्दैनन् । कर्णालीको हालको साक्षरता दर ६६ प्रतिशत मात्रै छ । सरकारी तथ्याङ्क अनुसार कर्णालीमा अझै चार लाख हाराहारी नागरिक निरक्षर छन् । यति ठूलो संख्या निरक्षर रहेको प्रदेशमा साक्षरता अभियान भने सेलाएका छन् । साक्षरता दर बढाउन थालिएका अभियान अलपत्र परेका छन् । निरक्षरता हटाउन थालिएका कार्यक्रमहरू थप योजना र बजेटको अभावमा अधुरै भएका हुन् । प्रदेशका कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा साक्षरता अभियानले गति लिन सकेको छैन । यी पाँच जिल्ला पूर्णसाक्षर हुुन बाँकी छन् । प्रदेशका ७९ मध्ये झन्डै आधा पालिका साक्षर घोषणा हुन सकेका छैनन् । विभिन्न जिल्लाका गरी ३० भन्दा बढी पालिकामा अहिले पनि साक्षरता अभियान अलपत्र भएका छन् ।

सरकारले देशव्यापी साक्षर अभियान थालेको करिब झन्डै डेढ दशक भएको छ । संघीय सरकारले आर्थिक वर्ष २०६५÷०६६ मा दुई वर्षभित्र देशबाट निरक्षरता उन्मूलन गर्ने योजनासहित अभियान सुरु गरेको थियो । कर्णाली सरकारले पनि प्रदेशलाई साक्षर बनाउन आर्थिक वर्ष २०७५/०७६ देखि विभिन्न कार्यक्रम थालेको थियो । प्रदेश योजना आयोगले आर्थिक वर्ष २०८०÷०८१ सम्म कर्णालीको साक्षरतादर ९५ प्रतिशत पु¥याउने लक्ष्य लिएको छ । हालसम्मको अवस्था हेर्दा उक्त लक्ष्य भेट्न मुस्किल हुने निश्चित प्रायः छ । पछिल्ला वर्षहरूमा भने संघीय र प्रदेश सरकारले साक्षरता अभियान स्थानीय सरकारको भरमा छोडिदिएका छन् । स्थानीय तहलेसमेत चासो नदिँदा साक्षर अभियान सुस्त बनेका हुन् । संघीयतापछि आधारभूत तहसम्मको शिक्षाको सम्पूर्ण जिम्मेवारी स्थानीय तहलाई छ । त्यस्तै, साक्षरतादर बढाउन अनौपचारिक शिक्षाका क्षेत्रमा पनि पालिकाहरूले आफ्नै कार्यक्रम बनाएर कार्यान्वयन गर्न सक्छन् । भौतिक पूर्वाधार निर्माणका क्षेत्रमा मात्रै बढी जोड दिँदै आएका पालिकाको प्राथमिकतामा शिक्षा अझै पर्न सकेको छैन । साक्षरता अभियानका लागि संघीय सरकारले उपलब्ध गराएको बजेटसमेत कार्यान्वयन नभइ फिर्ता जाने गरेकोे छ । बजेट र ठोस योजनाको अभावमा अभियानले गति लिन सकेको छैन ।

साक्षरतादरमा सुधार ल्याउन प्रभावकारी मानिएका सामुुदायिक सिकाइ केन्द्रहरू पनि व्यवस्थित रूपमा सञचालन हुन सकेका छैनन् । सिकाइ केन्द्रमा जनशक्तिलगायतका पूर्वाधारको चरम अभाव छ । प्रदेशका हिमाली जिल्लाहरूमा सामुदायिक सिकाइ केन्द्र सञ्चालनमा नै छैनन् । सञ्चालन भएका जिल्लामा पनि केन्द्रको अवस्था विजोग छ । निरक्षरता अन्त्य गर्न साक्षर कार्यक्रम, साक्षर अभियान र निरन्तर सिकाइका गतिविधिमा सरोकारवालाहरूको ध्यान दिन जरुरी छ ।

प्रकाशित मितिः   ५ पुष २०७९, मंगलवार ०५:०३