सुर्खेत आइपुग्यो ‘नेपथ्य’

सुर्खेत: नेपालकै पुरानो एवम् चर्चित सांगीतिक समूह नेपथ्य आगामी पुस ६ गते वीरेन्द्रनगरमा हुने आफ्नो दोस्रो सांगीतिक प्रस्तुतीका लागि सोमवार वीरेन्द्रनगर आइपुगेको छ । कैलालीको धनगढीमा भएको सांगीतिक प्रस्तुति सकेर सोमवार दिउँसो वीरेन्द्रनगर आइपुगेको नेपथ्यका अमृत गुरुङ्गलगायतको टिमलाई मानवसेवा आश्रमको टिमले स्वागत गरेको छ ।

स्वागतपछिको परिचयात्मक कार्यक्रममा नेपथ्यका गायक अमृत गुरुङ्गले मानव मन्दिर निर्माणको अभियानमा जोडिन पाउँदा खुसी र गर्व लागेको प्रतिक्रिया दिए । राम्रो र असल काम गर्नका लागि धेरै र ठूलो काम केही गर्न नपर्ने भन्दै उनले आ–आफ्नो ठाउँबाट गरिने सानोतिनो सहयोग र कामले पनि ठूलो उपलब्धि हुने उल्लेख गरे । सुर्खेतका प्रेमदेव गिरीको मादलको ताल अनि बुलबुले तालको स्मरण आपूmलाई सधैँ रहिरहने भन्दै उनले मानवता प्रवद्र्धनको अभियानमा सरिक हुन कर्णालीवासीलाई आह्वान पनि गरे ।

सहयोगापेक्षी सडक मानवहरूको संरक्षण र सेवा गर्दै आइरहेको मानव सेवा आश्रमले सुर्खेतको खुल्लामञ्चमा मानवताका लागि सांगीतिक प्रस्तुति गर्न लागेको हो । एक हजार रूपैयाँ दरका पाँच हजारभन्दा बढी टिकट बिक्री गर्ने लक्ष्य लिइएको यो कार्यक्रमबाट संकलित रकमबाट आश्रमको भवन तथा अक्षय कोष बनाउने लक्ष्य रहेको छ । आश्रमले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा कमजोर मानवहरूको उद्धार, उपचार, परामर्श, पारिवारिक पुनर्मिलन, संरक्षण र व्यवस्थापन गर्दै आइरहेको छ ।

सांगीतिक प्रस्तुतिका लागि दोस्रो पटक सुर्खेत आएको नेपथ्य समूहको कार्यक्रम भव्यतापूर्वक सफल बनाउन विभिन्न क्षेत्रका मानवताप्रेमी व्यक्तिहरू सम्मिलित मूल समिति र उप–समितिहरू निर्माण गरी व्यापक तयारी गरिएको छ । कन्सर्टका लागि आश्रमका अभिभावक टीकाराम चपाईको संयोजकत्वमा मूल समिति गठन गरिएको छ भने विभिन्न विषयगत उपसमितिहरू निर्माण गरिएका छन् । आश्रमका अभिभावक गणेश कार्कीको संयोजकत्वमा मिडिया तथा प्रचार–प्रसार व्यवस्थापन समिति, डा. नवराज केसीको संयोजकत्वमा स्वास्थ्य व्यवस्थापन समिति, सुमन कार्कीको संयोजकत्वमा अतिथि सत्कार समिति बनाइएको छ ।

यसैगरी, महेन्द्रकुमार थापाको संयोजकत्वमा टिकट बिक्री व्यवस्थापन समिति, गणेश वस्नेतको संयोजकत्वमा प्रायोजक समन्वय समिति, संजिता गौतमको संयोजकत्वमा आवास व्यवस्थापन समिति, रामबहादुर बुढाको संयोजकत्वमा सरकारी तथा सार्वजनिक क्षेत्र समन्वय समिति, नबराज बोहोराको सर्वोजकत्वमा स्वयम्सेवक व्यवस्थापन समिति बनाइएको छ । सुर्खेतको वीरेन्द्रनगर १२ स्थित आश्रमको संरक्षणमा ४२ पुरुष २९ महिला चार बच्चा गरी जम्मा ७५ जनाले आश्रय लिएका छन् ।

प्रकाशित मितिः   ५ पुष २०७९, मंगलवार ०५:०२