शिक्षकः पेसा होइन, जिम्मेवारी
केही समय अगाडिको कुरा हो । एकजना नर्सरीमा पढ्ने बहिनी ए, बी, सी, डी भन्दै पढिरहेकी थिइन् । मैले नजिकै गएर उनको कपिमा हेरेँ । सँगसँगै ए, बी, सी, डी पनि भनेँ । उनी खुसी भइन् । म पनि खुसी भएँ । उनका औलाहरूले जथाभावी संकेत गरिरहेका थिए । मैले ‘ए’ यहाँ छ, हेर त भनेर ‘ए’ लेखिएको अक्षरमा संकेत गरेँ । उनले होइन, ‘ए’ यो हो भनेर ‘डी’ लाई देखाइन् । मैले उनी जस्तै बनेर सम्झाउने कोशिस गरेँ । र, भनेँ, ‘हेर त पहिले ‘ए’ फर एप्पल आउँछ कि नाई, हो त्यही भएर यो अक्षर पहिले छ । यो ‘ए’ हो भने, उनले भनिन् ‘होइन ।’ ‘यो हो’ भनेर ‘डी’लाई देखाउन थालिन् । र, हाम्रो म्यामले यही भन्नु भएको छ भन्न थालिन् ।
मैले हरेक तरिकाबाट उनलाई ‘डी’ लाई ‘डी’ र ‘ए’ लाई ‘ए’ हो भनेर सिकाउने कोशिस गरेँ तर सकिनँ । उनले उल्टै मलाई रिसाउँदै भोलि हाम्रो म्यामसँग भन्दिन्छु, भनिन् । म बोल्नै सकिनँ । स्तब्ध भएँ । र, मलाई लाग्यो । शिक्षक नै भर्खर ‘क’, ‘ख’, र ‘ए’, ‘बी’, ‘सी’, ‘डी’ सिक्न सुरु गर्दै गरेका नानीबाबुहरूका लागि कति महŒवपूर्ण हुने रहेछन् । उनीहरू अरुले भनेको कदापी मान्ने छैनन्, सुन्ने छैनन् ।
उनीहरूलाई के सिकाउने ?
भर्खर विद्यालय जान सुरु गरेका बालबालिका हरेक पक्षबाट वृद्धि, विकासको चरणमा हुन्छन् । उनीहरूलाई सही कुरा सिकाउने उत्तम् समय वा उमेर यही हो । उनीहरू यो उमेरमा केही पनि सिक्दैनन् । हरेक कुरा र क्रियाकलापको अनुभव बटुल्दै जान्छन् । रोचक कुरा के छ भने सानो उमेरमा सिकाएका कुरा उनीहरूले नै थाहा नपाउने गरि अवचेतन मनमा गएर बस्छन् । जसको कारणले उक्त कुरा वा विचारबाट उनीहरू जान वा अन्जानमै विभिन्न काम र कुराहरू प्रति आकर्षित हुँदै जान्छन् । त्यसपछि उनीहरूको व्यवहार, नियत, चरित्र वा जे नाम दिनुस्, यसरी बन्न सुरु हुन्छ ।
कक्षा एकदेखि दश कक्षासम्म उनीहरूको पढाई, व्यवहार र स्वभावको राम्ररी अध्ययन तथा मुल्याङ्कन गर्न सकिन्छ । उनीहरू धेरै परिवर्तन भइसकेका हुन्छन् । पढाउने शिक्षकहरूलाईसम्म अचम्म लाग्छ । कति छिटो यसमा यस्तो परिवर्तन आयो । कसरी यति ट्यालेन्ट मान्छे कमजोर भयो ? कसरी यति कमजोर मान्छे ट्यालेन्ट भयो ? कति छिटो स्वभाव बदलियो ? यिनी कुराहरू शिक्षकलाई अनौठा लाग्छन् ।
तर, सत्य के हो भने हरेक दिन विद्यालयमा उपस्थित भएर शिक्षकले गरेका क्रियाकलाप र भनेका विचारले उनीहरूमा छाप छोडेको हुन्छ । उनीहरूको बानीमा परिवर्तन ल्याएको हुन्छ । यस विषयमा शिक्षक अन्जान हुन्छन् । शिक्षक मेरो काम त पढाउने मात्र हो, सम्झन्छ । पछिपछि दिन राम्ररी कटाउन जान्दछ । उनीहरूलाई भुलाउने तरिका अपनाउँछ । बिचरा, निर्दाेष विद्यार्थीहरूलाई के थाहा हुन्छ र ? उनीहरू जे भने पनि खुरुखुरु गर्न तयार हुन्छन् । मानिहाल्छन् ।
जिम्मेवारीः
शिक्षक कुनै पेसा नभइ, जिम्मेवारी हो । एउटा विद्यार्थी अधिकांश समय विद्यालयमा बिताउँछ । विद्यालयमा हुने हरेक क्रियाकलापले विद्यार्थीको जीवनमा प्रत्यक्ष असर पार्दछ । अझ मुख्यगरी शिक्षकले भनेका कुरा र गरेका क्रियाकलापले त झनै धेरै भूमिका खेल्दछन् । यसर्थ शिक्षकको काम पढाउने मात्र हो त ? विद्यार्थीले नजान्दा रिसाउने मात्र हो त ? शिक्षकलाई राम्रो नलागेको कार्य गर्दा पिट्ने हो त ? विद्यार्थीले प्रश्न गर्दा धेरै जान्ने नबन भन्ने हो त ?
अब सत्यलाई प्रकाश पारौँ । विद्यार्थीभन्दा शिक्षक जान्ने हुन्छ । अनुभवी हुन्छ । अध्ययनशील हुन्छ । आत्मविश्वासी हुन्छ । तर, के शिक्षक–विद्यार्थी हुन तयार हुन्छ ? ऊ हरेक दिन नयाँ कुराहरू सिक्न र सिकाउन अग्रसर हुन्छ ? ऊ उमेरसँग जोडिएको अनुभवले म जान्ने हुँ भन्ने घमण्ड त गरिरहेको छैन ? यदि यसो हो भने हामी गलत शिक्षकबाट अनावश्यक सुचना लिइरहेका छौँ । जुन व्यक्ति सबै जान्दछ, ऊ शिक्षक हुनै सक्दैन । जुन व्यक्ति निरन्तर सिकेर सिकाउनमा विश्वास गर्दछ । ऊ एक असल शिक्षक हुनसक्छ ।
विद्यार्थीहरू सूचना तथा ज्ञान लिने सम्बन्धमा सबैभन्दा बढी विश्वास शिक्षकको मान्दछन् भने शिक्षकहरूले उक्त विश्वासलाई टुट्न दिनु हुँदैन । शिक्षक खरो रूपमा शिक्षण सिकाइका नयाँ–नयाँ विधि तथा प्रयोगहरूको अवलम्बन गरी अगाडि बढ्नुपर्छ । पुरानै शिक्षण विधि र उही घोकाउने उपाय अपनाए एउटा शिक्षक कहिल्यै विद्यार्थीको नजरमा असल शिक्षकभित्र नपर्न सक्छ । किनभने विद्यार्थीहरू पनि नयाँ–नयाँ फरक–फरक कुराहरू सिक्नको लागि जहिल्यै उत्सुक हुन्छन् । उनीहरू हरेक कुरालाई प्रयोग गरी हेर्न चाहान्छन् । उनीहरू नयाँनयाँ विषयहरूको बारेमा जान्न चाहान्छन् । खोज तथा अन्वेषण गर्न चाहान्छन् । हाम्रो मानव मस्तिष्क नै यसरी डिजाईन गरिएको छ कि हामीलाई नयाँ कुरा र काम गर्दा मजा आउँछ । ऊर्जा सञ्चारित हुन्छ ।
शिक्षक कुनै पनि होस् । विद्यार्थी भन्दा सिर्जनशिल र सिक्नमा उत्सुक हुनैपर्छ । अनि मात्र विद्यार्थी उक्त शिक्षकबाट सिक्नको लागि उत्साहित हुन्छन् । नत्र भने सेलेबस पढाएर शिक्षक हुँ भन्ने घमण्ड गर्ने हो भने आठ कक्षाको विद्यार्थीले सात कक्षाको विद्यार्थीलाई पढाउन सक्छ । उसलाई घोकेर आउने निर्देशन दिन सक्छ ।
अन्त्यमाः
प्रायजसो: बाबा, आमाले ‘तँ यति ठूलो वा ठूली भइसकिस् । अझै समझदार, स्वविवेकको प्रयोग गर्ने भएको छैनस्’ भनेको सुनिन्छ । उमेर केही वर्ष धकेलिदैमा र हाइट अलि उठ्दैमा कोही ठूलो भइसक्यो कदापी सोच्नु हुँदैन । मान्छे उसले लिने जिम्मेवारी र अङ्गालेका विचारबाट ठूलो र महान हुन्छ । त्यसैले कक्षा कोठामा पढाउँदै गर्दा शिक्षकले विद्यार्थीमा सही, स्वच्छ, पवित्र र दिगो विचार तथा भावनाका बारेमा समयमै भन्ने र कुनै कार्यमा संलग्न गराई जिम्मेवारी वहन गर्न सिकाउनुपर्छ । र, घरमा बाबा, आमाले छोराछोरीलाई आफ्नो पारिवारिक संघर्षको कथा र तिमीहरू सत्कर्म गर्दै जाऊ । हामी सधैँ तिमीहरूको साथमा छौँ भन्न कहिल्यै छोड्नु हुँदैन । यसो गर्न सके उनीहरू समयमै सजग र सचेत हुन्छन् ।
प्रकाशित मितिः ३ पुष २०७९, आईतवार ०५:०४
आदर्शविक्रम सिंह ।