बेथितिका चाङ

कर्णाली प्रदेशमा भ्रष्टाचारजन्य गतिविधि बढ्दै गएको पाइएको छ । पछिल्ला तथ्याङ्कहरूले सरकारी तथा सार्वजनिक संस्थाहरूमा अनियमितता र भ्रष्टाचार बढेको देखिएको हो । विशेष गरेर विकास योजनाहरूमा आर्थिक अनियमितता बढी हुने गरेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सुर्खेतस्थि कार्यालयमा सिँचाइ योजना, खानेपानी योजना, सामाजिक सुुरक्षा भत्ता, सरकारी भवन तथा संरचना बनाउँदा हिनामिना भएको लगायतका विकास निर्माण क्षेत्रसँग सम्बन्धित उजुरी धेरै छन् । तीनै तहका सरकारसँग सम्बन्धित उजुरी अख्तियारमा पर्ने गरेका छन् । आयोगमा उजुरीका चाङ्ग छन् । यसले पनि मौलाउँदै गएको अनियमितता र भ्रष्टाचारजन्य गतिविधिलाई पुष्टि गर्दछ ।

चालु आर्थिक वर्षको यो अवधिसम्म २१ वटा मुद्दा विशेष अदालतमा पेस भएका छन् । अनियमितता भएको उजुरीका आधारमा आयोगले छानबिन गरी भ्रष्टाचार भएको ठहर गर्दै ती मुद्दा विशेष अदालतमा पठाएको हो । प्रदेशभर त्यस्ता मुद्दा सबैभन्दा बढी मुगुका छन् । आयोगले चालु आर्थिक वर्षको साढे चार महिनामा उक्त जिल्लाका सात वटा मुद्दा विशेषमा पेस गरेको हो । त्यस्तै, कालीकोट र सुर्खेतका चार÷चार, सल्यानका तीन तथा दैलेख, जुुम्ला र हुुम्लाका एक÷एक वटा मुद्दा विशेष अदालतमा दायर भएका छन् । विशेष अदालतमा दायर भएका मुद्दामध्ये सबैभन्दा ठूलो विगो तीन करोड ४३ लाख ८८ हजार दाबी गरिएको छ । गत वर्षको तुलनामा यो वर्ष पहिलो चौमासिकमै दोब्बर मुद्दा विशेष अदालतमा दायर भएका छन् । गत वर्ष कर्णाली प्रदेशबाट १२ वटा मुद्दा विशेष अदालतमा पुुगेका थिए । यो वर्ष ५० वटा हाराहारी मुद्दा विशेष अदालतमा पुुग्ने आकलन आयोगको छ । चालु वर्षमा प्रारम्भिक उजुुरीको संख्या समेत धेरै छ । यो अवधिमा आयोगको सुर्खेत कार्यालयमा एक हजारभन्दा बढी उजुरी दर्ता भएका छन् । आयोगको सक्रियता र पछिल्लो समय नागरिकहरू सूचनाको सहज पहुँचमा हुँदा उजुरीको संख्यामा वृद्धि भएको जनाइएको छ ।

कर्णालीमा भ्रष्टाचार तथा अनियमितता भएको आशंकामा साउनदेखि मध्य मंसिरसम्म एक हजार ४२ वटा उजुरी परिसकेका छन् । अख्तियारको विवरणअनुसार प्रदेशमा महिनामा सरदर दुुई सय उजुुरी पर्ने गरेको देखिएको छ । एक हजार ४२ मध्ये दुुई सय २५ वटा उजुुरी फछ्र्यौट गरिएको र आठ सय १७ उजुुरी अनुसन्धानको क्रममै रहेको आयोगको सुर्खेत कार्यालयले जनाएको छ । नागरिकमा बढेको सचेतनाका र आयोगप्रतिको विश्वासका कारण उजुरी बढ्दो देखिन्छ । तर यो तथ्याङ्कले अर्को के पनि देखाउँछ भने सार्वजनिक सेवामा बेथिति निकै धेरै छ । यसको नियन्त्रण अपरिहार्य छ ।

प्रकाशित मितिः   २५ मंसिर २०७९, आईतवार ०५:०३