३७ करोड बढी कारोबार

सुर्खेत: वीरेन्द्रनगरमा सञ्चालित सुर्खेत बहुउद्देश्यीय सहरकारी संस्थाले वार्षिक ३७ करोडभन्दा बढी कारोबार गरेको छ । शनिवार २१औँ वार्षिक साधारण सभाका अवसरमा संस्थाले वार्षिक गतिविधि तथा कारोबारबारे जानकारी गराएको हो । सहकारीले गएको एक वर्षमा ३७ करोड ५७ लाख २३ हजार चार सय ५१ रूपैयाँ बराबरको कारोबार गरेको छ । संस्थाले ४६ करोड ४४ लाख ५० हजार ९२ रूपैयाँको कारोबार गर्ने लक्ष्य लिइएको थियो । उक्त सहकारीमा दुई हजार तीन सय ४३ जना शेयर सदस्य रहेका छन् भने ६ करोड बढी शेयर पुँजी रहेको साधारण सभामा जानकारी दिइएको छ । संस्थाका कोषाध्यक्ष सुरेशबहादुर गौतमले आर्थिक वर्ष २०७८/०७९ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको ६ करोड ७४ लाख ६५ हजार ६ सय रूपैयाँ शेयर पुँजी रहेको बताएका छन् ।

अघिल्लो आर्थिक वर्षका तुलनामा सहकारीको कारोबार बढेको संस्थाका सचिव मिलन श्रेष्ठले बताए । उनका अनुसार अघिल्लो आर्थिक वर्षमा ६ करोड ५७ लाख ५३ हजार एक सय रूपैयाँ शेयर पुँजि थियो । अहिले १७ लाख १९ हजार आठ सय रूपैयाँ शेयर पुँजी थप भएको छ । संस्थाका अध्यक्ष पूर्णबहादुर नेपालीले सहकारीको मूल्य र मान्यता अनुरूप सही दिशामा सञ्चालन गर्न सेवालाई आधुनिक र व्यवस्थित बनाइएको बताए । उनले सहकारीले शेयर सदस्यहरूलाई उचित मुनाफा प्रदान गर्नेसमेत जनाए । चालु आर्थिक वर्षमा संस्थाले तीन सय शेयर सदस्य थप गरी शेयर पुँजी सात करोड पु¥याउने लक्ष्य लिएको छ । अधिकतम् ५० लाखसम्म कर्जा लगानी गर्ने र शैक्षिक कर्जा १० लाखसम्म दिने योजना रहेको जनाइएको छ । साधारण सभाका अवसरमा एक जना छात्रालाई ६ हजार छात्रवृत्ति प्रदान गरिएको छ । त्यस्तै, २२ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । सोही अवसरमा सहकारीले ७६ पटक रक्तदान गर्ने प्रवाशकुमार शाक्यलाई पनि सम्मान गरेको छ । कर्णाली प्रदेशका मुख्यन्याधिवक्ता धु्रवकुमार श्रेष्ठको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष पूर्णबहादुर नेपालीको अध्यक्षतामा सम्पन्न साधारण सभा सम्पन्न भएको हो ।

प्रकाशित मितिः   २५ मंसिर २०७९, आईतवार ०५:०२