हिंसाविरुद्ध एकजुट
यतिबेला महिला हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन भइरहेको छ । अभियान अन्तर्गत मंसिर ९ गतेदेखि सरकारी तथा गैरसरकारी निकायबाट विविध कार्यक्रम भइरहेका छन् । अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसका अवसरमा हरेक वर्ष झन्डै दुई साता यसरी नै हिंसा विरुद्धका गतिविधि गरेर अभियानलाई निरन्तरता दिइँदै आएको छ । त्यस्ता कार्यक्रम भने न लक्षित वर्गमा पुग्न सकेका छन् न त अभियानको प्रभावकारिता नै देखिएको छ । तामझामका साथ सहरी क्षेत्रमा मात्रै आयोजना हुने सचेतनामूलक कार्यक्रम औपचारिकतामा सीमित हुँदा अभियानकै औचित्यमाथि प्रश्न उठ्ने गरेको छ । बर्सेनि सञ्चालन हुने हिंसा विरुद्धका अभियानमा ग्रामीण क्षेत्रका महिलाहरू समेटिन नसकेको सरोकारवालाहरू बताउँछन् । हिंसाको कहरमा रहेका महिलाहरू यस्ताखालका कार्यक्रम र अभियानबारे अनभिज्ञ छन् ।
वीरेन्द्रनगरमा अहिले दैनिकजसो महिला हिंसा विरुद्धका कार्यक्रम भइरहेका छन् । यी कार्यक्रमका लागि स्थानीय तह, प्रदेश सरकार, विभिन्न दातृ निकायले ठूलो बजेटसमेत खर्चिने गरेका छन् । महिला हिंसा अन्त्यका लागि सचेतनामूलक गतिविधि गर्न योजना निर्माण र बजेट खर्च गरेर थुप्रै अभियानहरू सञ्चालन गरिए पनि अपेक्षित प्रतिफल देखिएको पाइदैन । कर्णाली प्रदेशमा हरेक वर्ष बढिरहेको महिला हिंसाका उजुरीको ग्राफले यसलाई सहजै पुष्टि गर्छ । ग्रामीण भेकदेखि सहरी क्षेत्रसम्मका महिलाहरू अहिले पनि न्यायको सहज पहुँचमा छैनन् । कानुुनी सचेतनाको अभावले हिंसा सहेर बस्नुुपर्ने बाध्यतामा छन् । अभियानहरूको लाभ पीडित महिलाहरूले लिन सकेका छैनन् ।
महिला हिंसाका अनेक कारण छन् । आयआर्जन र रोजगारीका क्षेत्रहरूमा सहभागिता कम हुँदा घरेलु हिंसामा धेरैजसो महिलाहरू पर्ने गरेको सरोकारवाहरूले बताएका छन् । आर्थिक रूपमा बलियो र आत्मनिर्भर नहुँदा महिलाहरूमाथि त्यही निहुँमा हिंसा हुने गरेको छ । हिंसा अन्त्यका लागि महिलाहरूलाई आयआर्जनका गतिविधिमा जोड्ने र सचेतनामूलक कार्यक्रम लक्षित वर्गसम्म लैजानुपर्ने देखिन्छ । उसो त आत्मनिर्भर भएका र शिक्षित परिवारकै महिलाहरू पनि विभिन्न बहानामा श्रीमान् र परिवारका सदस्यहरूबाट हिंसा खेपिरहेका छन् । सहरी क्षेत्रकै शिक्षित समाजमा पनि महिला हिंसाको थुप्रै घटनाहरू भइरहेका छन् । कानुनको प्रभावकारी कार्यान्वयन नहुनु, पीडित महिलामाथि उल्टै अनेक दवाव र प्रभाव देखाइनुजस्ता कारणले उनीहरूले न्याय पाउन सकेका छैनन् । महिलाहरू लैङ्गिक विभेद, घरेलु हिंसा, बहुविवाह, बलात्कार र विभिन्न सामाजिक अन्धविश्वासको सिकार हुने गरेका छन् । यस्ता विकृति निमूल पार्न महिला हिंसा विरुद्धका अभियानलाई लक्षित वर्गसम्म पु¥याउन सरकारी र गैरसरकारी निकायले जोड दिन आवश्यक छ ।
प्रकाशित मितिः २२ मंसिर २०७९, बिहीबार ०५:०३
सम्पादकीय ।