कर्णालीमा कांग्रेस पहिलो

सुर्खेत: कर्णाली प्रदेशसभामा नेपाली कांग्रेस पहिलो दल बनेको छ । प्रत्यक्षमा नौ र समानुपातिकमा पाँच गरी १४ सीटसहित कांग्रेस पहिलो दल बनेको हो । समानुपातिकतर्फ कांग्रेसले ३२.७१ प्रतिशत मत प्राप्त गरेको छ ।

२०७४ मा प्रत्यक्षतर्फ एक सीट मात्रै जितेको कांग्रेस समानुपातिकका थप पाँचसहित तेस्रो दल बनेको थियो । पाँच वर्षपछि भने आठ सीट बढाएर पहिलो स्थानमा पुग्न सफल भएको छ ।

अघिल्लो पटक दोस्रो दल बनेको नेकपा (माओवादी केन्द्र) यसपटक पनि दोस्रो स्थानमै यथावत छ । माओवादीले प्रत्यक्षमा नौ सीट जितेको छ भने समानुपातिकमा चार सीट पाएको छ । दुवैतर्फ गरी उसका १३ सांसद छन् । २०७४ मा पनि माओवादीले प्रत्यक्षतर्फ नौ र समानुपातिकतर्फ चार गरी १३ सांसद जितेको थियो ।

नेकपा (एमाले) भने पहिलोबाट तेस्रो स्थानमा झरेको छ । प्रत्यक्षमा पाँच सीट र समानुपातिकतर्फ पनि पाँच सीट जितेको एमाले १० जना सांसदसहित तेस्रो दल बनेको हो । २०७४ मा प्रत्यक्षतर्फ १४ र समानुपातिकतर्फ ६ गरी २० सांसद थिए । तर त्यतिबेला एमालेले सरकारको नेतृत्व गर्ने अवसर भने पाएन ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) ले १÷१ सीट प्राप्त गरेका छन् । प्रत्यक्षतर्फ कुनै सीट जित्न नसकेका दुवै दलले समानुपातिकमा एक–एक सिट पाएका हुन् ।

थ्रेसहोल्ड कटाए पनि नेपाल मजदुर किसान पार्टीले भने समानुपातिक सीट पाउन सकेन । प्रदेशसभामा थ्रेसहोल्ड कटाउन १.५ प्रतिशत प्राप्त मत गर्नुपर्ने हुन्छ । नेपाल मजदुर किसान पार्टीले १.५९ प्रतिशत मत प्राप्त गरेको थियो ।

४० सदस्यीय प्रदेशसभामा प्रत्यक्षबाट २४ र समानुपातिकबाट १६ सदस्य चुनिन्छन् । सरकार बनाउन भने न्यूनतम् २१ सांसद आवश्यक पर्दछ । निर्वाचनको नतिजा आएसँगै दलहरू सरकार गठनको कसरतमा लागेका छन् ।

यसैबीच निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फ पनि अन्तिम मतपरिणामअनुसार सीट बाँडफाँड गरेको छ । आयोगले बुधवार दलहरूले पाएको सीट संख्या बाँडफाँड गरेको हो । जसअनुसार नेकपा एमालेले प्रतिनिधिसभातर्फ ३४ र प्रदेशसभातर्फ ७० सीट जितेको छ ।

त्यस्तै कांग्रेसले प्रतिनिधिसभातर्फ ३२ र प्रदेशसभातर्फ ६४ सीट जितेको छ भने माओवादीले प्रतिनिधिसभातर्फ १४ र प्रदेशसभातर्फ २९ सीट जितेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभातर्फ १३ सीट जितेको छ भने राप्रपाले प्रतिनिधिसभातर्फ सात र प्रदेशसभातर्फ १७ सीट जितेको छ ।

जनता समाजवादी पार्टीले प्रतिनिधिसभातर्फ पाँच सीट र प्रदेशसभातर्फ नौ सीट जितेको छ । जनमत पार्टीले पनि प्रतिनिधिसभातर्फ पाँच सिट र प्रदेशसभातर्फ नौ सीट जितेको छ । राष्ट्रिय दल बन्नबाट चुकेको नेकपा एकीकृत समाजवादीले प्रदेशसभातर्फ नौ सीट जितेको छ ।

त्यसैगरी नेमकिपाले प्रदेशसभातर्फ दुई सिट, लोसपाले प्रदेशसभातर्फ तीन सीट, नेपाल संघीय समाजवादीले प्रदेशसभातर्फ एक सीट, नागरिक उन्मुक्ति पार्टीले प्रदेशसभातर्फ पाँच सीट र राष्ट्रिय जनमोर्चा र हाम्रो नेपाल पार्टीले प्रदेशसभातर्फ एक–एक सीट जितेको छ ।

प्रकाशित मितिः   २२ मंसिर २०७९, बिहीबार ०५:०२