सडक विस्तार योजना सुस्त

सुर्खेत: वीरेन्द्रनगरको मुख्य बजारको सडक विस्तार योजनाको काम सुस्त देखिएको छ । लामाो समय भइसक्दा पनि मंगलगढी चोकदेखि गणेश चोकसम्मको सडक फराकिलो बनाउने कामले गति नलिएको हो । यो सडक स्तरोन्नतिका लागि ठेक्का सम्झौता भएको झन्डै १५ महिना भयो । अहिलेसम्म सडक विस्तार क्षेत्रमा पर्ने कतिपय ठाउँमा ‘साइड क्लियर’ समेत गरिएको छैन । १८ महिनामा निर्माण सम्पन्न गर्नेगरी २०७८ भदौ १७ मा सडक विस्तारको ठेक्का सम्झौता गरिएको थियो । सडक विस्तारका लागि अब निर्माण व्यवसायीसँग करिब तीन महिनाको समयमात्रै बाँकी छ । कामको प्रगति भने निकै न्यून छ ।

सडक विस्तार क्षेत्र समयमै खाली नभएको, खानेपानी र विद्युतका संरचना सार्न ढिलाइ गरिँदा कामले गति लिन नसकेको निर्माण कम्पनीले दाबी गर्दै आएको छ । पूर्वाधार विकास निर्देशनालयले खड्का निर्माण सेवा बाँकेलाई सडक विस्तारको जिम्मा दिएको छ । सम्झौताअनुसार निर्माण कम्पनीले २०८० जेठ मसान्तसम्म काम सम्पन्न गर्नुपर्ने हुन्छ । साढे १३ करोड बजेटमा सडक स्तरोन्नति गर्नेगरी ठेक्का सम्झौता भएको छ । निर्माण सम्झौता भएको लामो समयसम्म विद्युत लाइन र खानेपानीका संरचनाको व्यवस्थापन नगरिँदा काममा बाधा पुगेको थियो । अहिले त्यस्ता संरचना हटाइसकिएको छ । पछिल्लो समय निर्माण कम्पनीकै आलटालका कारण काम ढिलासुस्ती भएको सरोकारवालाहरूले बताएका छन् । सडक विस्तारको मुुख्य काम नै सुरु नभएको पूर्वाधार विकास निर्देशनालयका इन्जिनियर सूर्य शाहीले बताए । उनका अनुसार स्तरोन्नति गर्नुपर्ने क्षेत्रमा रहेका सबै अवरोधहरू हटाइसकिएको छ । ‘बिजुुली र टेलिफोनका तार तथा खानेपानीका लाइन स्थानान्तरणका काम भइसकेका छन्,’ उनले भने, ‘अब सडक विस्तारको धमाधम हुनुपर्ने हो, काम अघि बढाउन निर्माण कम्पनीले नै आलटाल गरेको देखिन्छ ।’ उनले निर्माण व्यवसायीलाई काम थाल्न आफूहरूले ताकेता गरेको समेत बताए । निर्माण कम्पनीले सडक विस्तारको काम छिट्टै सुरु गर्ने बताएको उनको भनाइ छ ।

मुख्य बजार क्षेत्रमा सडक विस्तारको काम महिनौँदेखि लथालिङ्ग भएपछि वीरेन्द्रनगर नगरपालिकाको आलोचना भइरहेको छ । गएको भदौमा सडक विस्तारका लागि भन्दै नगरपाालिकाले उक्त क्षेत्रमा पर्ने अवरोधहरू हटाउन थालेको थियो । त्यसबेला सडक विस्तार क्षेत्रमा पर्ने विरुवाहरू काटियो । तर, अन्य कतिपय भौतिक संरचनाहरू भने अझैँ हटाउन बाँकी रहेको बताइएको छ । सडक स्तरोन्नतिको नाममा हरियाली मासिएको भन्दै केही स्थानीयले नगरपालिकाको कदमको विरोधसमेत गरे । सडक क्षेत्रका संरचना डोजर लगाएर भत्काउने र त्यसको व्यवस्थापन तथा नयाँ निर्माणमा ढिलासुस्ती गर्दा निकै सास्ती खेप्नु परेको स्थानीयको गुनासो छ । नगरपालिकाको अदूरदर्शी सोचका कारण मुुख्य बजारको सुन्दरतामात्रै मासिएको वीरेन्द्रनगर–६ का स्थानीय एवम् राजनीतिकर्मी मुकुुन्दश्याम गिरी बताउँछन् । उनले नगरपालिका आफ्नो निर्णयमा अडिक रहन नसकेको आरोप लगाए । उनी भन्छन्, ‘भदौ २१ गते विस्तारित क्षेत्रका संरचना हटाउन सूचना जारी गरियो, ३० गते विरुवा मासियो, उतिबेला तत्कालै सडक विस्तार गरिने भनिएको थियो, तर अहिलेसम्म स्तरोन्नतिको काम अघि बढेको छैन ।’ नगरपालिका आफ्नो निर्णयको पालक बन्न नसकेको गिरीको भनाइ छ । प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगरको मुुख्य सडक स्तरोन्नतिको काम अस्तव्यस्त हुँदा आउजाउमा समस्या हुने गरेको छ । स्थानीय सरकार, पूर्वाधार विकास निर्देशनालय र निर्माण व्यवसायीले विकास निर्माणको कामलाई खेलाँचीको रूपमा हेरेको आरोप स्थानीयको छ । वीरेन्द्रनगर–६ का पदमबहादुुर थापाले अर्काको देखासिकी गरेर विकास गर्न खोज्दा पहिलेका वीरेन्द्रनगर झनै अस्तव्यस्त बनेको बताए ।

सडकमा रहेका विभिन्न अवरोध हटाउन समय लागेको र त्यसपछि लगत्तै चाडपर्व तथा निर्वाचनका कारणले काम अपेक्षित गतिमा नभएको नगरप्रमुख मोहनमाया ढकाल बताउँछिन् । उनले सडक विस्तार गर्नुपर्ने क्षेत्र खाली भइसकेकाले अब काम तीव्रताका साथ अघि बढ्ने बताइन् । ‘अबको तीन÷चार दिनमा सडक विस्तारको काम सुरु हुनेछ,’ उनले भनिन्, ‘ठेकेदार कम्पनीलाई टेलिफोनमार्फत तत्कालै काम थाल्न भनिसकिएको छ ।’ ढकालले सडक स्तरोन्नतिका लागि सामान्य अवरोधबाहेक कुुनै ठूलो बाधा नरहेको जनाइन् । मुुख्य बजारक्षेत्रको सडक विस्तारको काम भएकाले नागरिकले बढी चासो राख्नुु स्वाभाविक भएको भन्दै भण्डारीले काम छिट्टो सुरु गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको जनाइन् ।

सडक विस्तार क्षेत्रको अवस्था हेर्दा नगरप्रमुख ढकालले भनेजस्तो स्तरोन्नतिको काम दुई÷चार दिनमै सुरु गर्न भने चुनौती देखिन्छ । अझै पनि सडक छेउछाउँमा रहेका कतिपय भौतिक संरचना हटाउन बाँकी छ । निर्माण क्षेत्रका बासिन्दाले घर अगाडिका पेटी र सेप्टी ट्याङ्कीहरू हटाउन मानिरहेका छैनन् । सानो–सानो विषयमा अवरोध कायमै रहँदा पनि सडक विस्तार योजनामा ढिलाइ भइरहेको निर्देशनालयले जनाएको छ । वीरेन्द्रनगरको मंगलगढीदेखि गणेश चोकसम्म हाल सात मिटर चौडा सडक रहेकोमा त्यसलाई विस्तार गरेर १५ मिटर चौडाइको बनाइँदै छ । विस्तार योजना अन्तर्गत योसहित अन्य केही भित्रि सडकहरूको काम पनि थालिएको छ । जसअन्तर्गत भानुुपार्कदेखि मुख्य बजारसम्म दुुई सय किलोमिटर र पदमपुुरदेखि कालीबक्स गणसम्मको सडक कालोपत्रे गरिएको निर्देशनालयले जनाएको छ । निर्माण कम्पनीले मुख्य बजार क्षेत्रको कामले केही दिनभित्रमा रफ्तार लिने दाबी गरेको छ । निर्माण व्यवसायी टेकबहादुर खड्काले यसै ठेक्का अन्तर्गतका चार वटा भित्रि सडक स्तरोन्नति सम्पन्न भइसकेको र मुख्य बजारको सडक विस्तारले अब गति लिने बताए । ‘सर्वपक्षीय बैठकमा मंसिर अन्तिमतिरबाट काम सुरु गर्ने सहमति भएको थियो,’ उनले भने, ‘सोहीअनुसार २५ गतेभित्र काम अघि बढाउने तयारी गरिएको छ ।’

प्रकाशित मितिः   १९ मंसिर २०७९, सोमबार ०५:०५