उत्पादनमा कमी
कर्णाली प्रदेशमा धानको उत्पादनमा कमी आएको छ । अघिल्लो वर्षको तुलनामा यसपटक ६ हजार पाँच सय ६० मेट्रिक टन कम धान उत्पादन भएको हो । प्रदेशभर यो वर्ष एक लाख ६८ हजार नौ सय मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष कर्णालीमा एक लाख ७५ हजार चार सय ६० मेट्रिक टन धान उत्पादन भएको थियो । गत वर्षभन्दा यसपालि धान उत्पादन तीन प्रतिशतले घटेको कृषि विकास निर्देशनालयले जनाएको छ । यस वर्ष धान खेतीको क्षेत्रसमेत विस्तार गरिएको थियो । दुई हजार हेक्टर क्षेत्र विस्तार हुँदा पनि विगतभन्दा उत्पादन घटेको निर्देशनालयको तथ्याङ्क छ । धान खेती विस्तार गरिए पनि उत्पादन भने अपेक्षित नभएको बताए ।
गत वर्ष प्रदेशभर ४६ हजार पाँच सय ८७ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । यो वर्ष क्षेत्रफल बढाएर ४८ हजार एक सय ३३ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । सुर्खेतमा १५ हजार दुई सय ४० हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा ७१ हजार दुई सय ९४ मेट्रिक टन धान उत्पादन भएको छ । यो अघिल्लो वर्षको तुलनामा कम हो । मुुगुमा यो वर्ष चार हजार दुुई सय ७७ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । त्यहाँ पाँच हजार चार सय ३४ मेट्रिक टन धान उत्पादन भएको छ । दैलेखमा आठ हजार पाँच सय आठ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा २६ हजार पाँच सय मेट्रिक टन धान उत्पादन भएको छ । अघिल्लो वर्षको तुलनामा यो कम उत्पादन हो । यो वर्ष सल्यानमा सात हजार ६२ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । उक्त जिल्लामा ३० हजार पाँच सय ५६ मेट्रिक टन धान उत्पादन भएको छ । रुकुुम–पश्चिममा तीन हजार ४८ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । त्यहाँ पनि गएको वर्षभन्दा यसपालि धान उत्पादन घटेको छ ।
यसपटकको बेमौसमी वर्षात् नै धान उत्पादन घट्नुुको प्रमुुख कारण मानिएको छ । गएको असोज तेस्रो सातादेखि लगातार एक साता परेको बेमौसमी झरीले भित्र्याउन तयारी अवस्थामा रहेको धान बालीमा ठूलो क्षति गरेको थियो । निरन्तरको भारी वर्षाले पाकेको धान नोक्सान गर्दा उत्पादन घटेको हो । बेमौसमी वर्षाले प्रदेशका सबैजसो जिल्लामा धान उत्पादनमा असर गरेको छ । रोपाइँको समयमा मल उपलब्ध नहुनु, रोगकिराको प्रकोप, प्रतिकूल मौसम र प्राकृतिक विपद्ले बालीमा क्षतिलगायतका कारण उत्पादन बढ्न नसकेको हो ।
प्रकाशित मितिः १९ मंसिर २०७९, सोमबार ०५:०३
सम्पादकीय ।