भोट हालेर फेरि भारत

सुर्ख‍ेत: पछिल्ला केही दिनयता कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट रोजगारीका लागि भारत जानेहरूको लर्को लागेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सकिएसँगै भोट हाल्न गाउँघर फर्किएकाहरू पुनः भारत हिँडेका हुन् । निर्वाचनमार्फत प्रतिनिधि चुन्न गाउँ फर्किएकाहरू भोट हालेर रोजीरोटीका लागि भारत लागेका छन् । चुनावी रौनक सकिएसँगै प्रदेशका दैलेख, सुर्खेत, सल्यान, कालीकोट, जाजरकोट र जुम्लाका युवाहरू धमाधम भारत फर्किएका छन् । चुनावमा निकै चहलपहल भएका गाउँहरू विस्तारै सुनसान हुन थालेका छन् । स्थानीयस्तरमा रोजगारीका अवसर नभएपछि दैनिक सयौँको संख्यामा युवाहरू प्रदेश छोडेर परदेशतिर लागेका हुन् । हिउँदेयाम लागेपछि घरखर्च जोहो गर्न भारत जान बाध्य भएको दैलेखको भगवतीमाइँ गाउँपालिका–१ का श्यामकृष्ण थापाले बताए । उनीसँगै त्यहाँका सात÷आठ जना युवा रोजगारीको खोजिमा भारतका लागि हिँडेका छन् । आइतवार वीरेन्द्रनगर बसपार्कमा भेटिएका थापाले भारत जानु रहर नभइ बाध्यता भएको बताए । ‘भोट हाल्न आएको हो, यतै बसौँ रोजगारीका अवसर छैनन्,’ उनले भने, ‘घरखर्च चलाउन भारत जानुको विकल्प छैन ।’

कर्णालीमा अधिकांश ग्रामीण बस्तीहरू भारतकै रोजगारीका भरमा धानिएका छन् । यहाँबाट बर्सेनि हजारौँ नागरिक ज्यालामजदुरीको कामका लागि भारतका विभिन्न सहरमा पुग्ने गरेका छन् । निर्वाचनमा भोट हाल्न, खेतीपातीको सिजन र ठूला चाड दशैतिहारमा गाउँ फर्किए पनि अधिकांश समय उनीहरू कमाइका लागि भारतमै हुन्छन् । गाउँका युवादेखि वृद्धसम्मका धेरैजसो व्यक्तिहरू रोजगारीको खोजिमा भारत जाने गरेको जुम्लाको तिला गाउँपालिका–१ का स्थानीय विशल बुढाले बताए । उनका अनुसार यसपालि पनि मतदान गरेर भारत फर्किनेहरूको लर्को छ । स्थानीयस्तरमा रोजगारी नपाइने र कृषि पेसाका लागि हिउँदे याममा बढी जाडो हुने भएकाले भारत जानेको संख्या धेरै हुन्छ । कर्णालीबाट मंसिरदेखि फागुनसम्म भारतका विभिन्न स्थानमा ज्यालामजदुरी र व्यापार व्यवसाय गर्न जानेहरू बढी हुन्छन् । रोजगारीका लागि ठूला सहर तथा भारततिर गएका युवा खेतीपातीको सिजनमा भने गाउँ फर्कन्छन् । रोजगारीको खोजिमा खासगरी भारतको हिमाञ्चल, उत्तराञ्चललगायत क्षेत्रमा जाने गरिएको छ । प्रहरीका अनुसार मतदान सम्पन्न भएपश्चात् भारत फर्कनेहरूको सीमा नाकाहरूमा भिड लाग्ने गरेको छ । मंसिर ४ गतेको संसदीय निर्वाचनमा मतदान गर्न भारतबाट थुप्रै कर्णालीबासी गाउँ फर्किएका थिए । उनीहरू फेरि कामको खोजिमा भारत हिँडेका हुन् ।

प्रकाशित मितिः   १९ मंसिर २०७९, सोमबार ०५:०२