सडक अलपत्र नपार

वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा पर्ने सडक विस्तार योजना अघि बढाएको लामै समय भइसकेको छ । ठेक्का सम्झौता भएको पनि झन्डै १५ महिना भयो । तर विस्तारको काम सुस्त देखिएको छ । लामो समय भइसक्दा पनि मंगलगढी चोकदेखि गणेश चोकसम्मको सडक फराकिलो बनाउने कामले गति नलिएको हो । अहिलेसम्म सडक विस्तार क्षेत्रमा पर्ने कतिपय ठाउँमा ‘साइड क्लियर’ समेत गरिएको छैन । १८ महिनामा निर्माण सम्पन्न गर्नेगरी २०७८ भदौ १७ मा सडक विस्तारको ठेक्का सम्झौता गरिएको थियो । सडक विस्तारका लागि अब निर्माण व्यवसायीसँग करिब तीन महिनाको समयमात्रै बाँकी छ । कामको प्रगति भने निकै न्यून छ ।

पूर्वाधार विकास निर्देशनालयले खड्का निर्माण सेवा बाँकेलाई सडक विस्तारको जिम्मा दिएको छ । सम्झौताअनुसार निर्माण कम्पनीले २०८० जेठ मसान्तसम्म काम सम्पन्न गर्नुपर्ने हुन्छ । साढे १३ करोड बजेटमा सडक स्तरोन्नति गर्नेगरी ठेक्का सम्झौता भएको छ । निर्माण सम्झौता भएको लामो समयसम्म विद्युत लाइन र खानेपानीका संरचनाको व्यवस्थापन नगरिँदा काममा बाधा पुगेको थियो । अहिले त्यस्ता अधिकांश संरचना हटाइसकिएको छ । पछिल्लो समय निर्माण कम्पनीकै आलटालका कारण काम ढिलासुस्ती भएको सरोकारवालाहरूले बताएका छन् । सडक विस्तार क्षेत्र समयमै खाली नभएको, खानेपानी र विद्युतका संरचना सार्न ढिलाइ गरिँदा कामले गति लिन नसकेको निर्माण कम्पनीले दाबी गर्दै आएको छ । तर स्तरोन्नति गर्नुपर्ने क्षेत्रमा रहेका सबै अवरोधहरू हटाइसकिएको छ । बिजुुली र टेलिफोनका तार तथा खानेपानीका लाइन स्थानान्तरणका काम भइसकेका छन् । सडक विस्तारको काम धमाधम हुनुपर्ने हो । तर त्यसो हुन सकेको छैन ।

मुख्य बजार क्षेत्रमा सडक विस्तारको काम महिनौँदेखि लथालिङ्ग भएपछि वीरेन्द्रनगर नगरपालिकाको आलोचना भइरहेको छ । गएको भदौमा सडक विस्तारका लागि भन्दै नगरपाालिकाले उक्त क्षेत्रमा पर्ने अवरोधहरू हटाउन थालेको थियो । सडक क्षेत्रका संरचना डोजर लगाएर भत्काउने र त्यसको व्यवस्थापन तथा नयाँ निर्माणमा ढिलासुस्ती गर्दा निकै सास्ती खेप्नु परेको स्थानीयको गुनासो छ ।

प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगरको मुुख्य सडक स्तरोन्नतिको काम अस्तव्यस्त हुँदा आउजाउमा समस्या हुने गरेको छ । स्थानीय सरकार, पूर्वाधार विकास निर्देशनालय र निर्माण व्यवसायीले विकास निर्माणको कामलाई खेलाँचीको रूपमा हेरेको देखिन्छ । कुनै योजना अघि बढाइसकेपछि त्यसलाई समयमै सम्पन्न गराउनेतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्दछ । ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई समयमै काम गराउने दायित्व पनि उसैको हो । बीचमै अलपत्र परेका योजना कार्यान्वयनमा लापरबाही गरिनु हुँदैन ।

प्रकाशित मितिः   २० मंसिर २०७९, मंगलवार ०५:०३